मेलम्ची, हाम्रा नेता र सिंगापुरको पानी सपना

बिजमाण्डू
२०७१ चैत्र ९ गते ००:०० | Mar 23, 2015
मेलम्ची, हाम्रा नेता र सिंगापुरको पानी सपना

Tata
GBIME
Nepal Life

ओम थापा/बिजमाण्डू
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को पाँचौँ शिखर सम्मेलन २०४७ साल मंसिर ५ देखि ७ गतेसम्म माल्दिभ्सको मालेमा हुँदै थियो। २०४७ को आन्दोलनले बनाएको प्रजातान्त्रिक सरकार र त्यसलाई नेतृत्व गर्ने प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई माले जानुपर्‍यो।

काठमाडौंबाट माले जाने सिधा बाटो थिएन, भट्टराईले पहिला काठमाडौं–सिंगापुर जाने र त्यहाँबाट माले जाने रुट छाने। शिखर सम्मेलनबाट फर्कँदा पनि त्यही रुटबाट फर्किए। जाँदा उनले एक दिन सिंगापुरमा बिताए।

शिखर सम्मेलनबाट फर्किएको केही दिनपछि भट्टराईले काठमाडौंको सार्वजनिक समारोहमा भने- मेलम्चीबाट ल्याएको पानीले काठमाडौंका सडक धुनुपर्छ। भट्टराई 'मेलम्चीको पानीले सडक धुने' अभिव्यक्ति दिएको २६ वर्ष बित्यो, यो अवधिमा देशले एक दर्जन प्रधानमन्त्री पायो तर २६ किलोमिटर परको मेलम्चीबाट काठमाडौंले भने पानी पाउन सकेको छैन।


मेलम्चीको पानी
————————————————————————————————————————————–
 

***
३१ अगस्ट १९६३ मा सिंगापुर बेलायती औपनिवेशबाट मुक्त भयो। त्यसको १६ दिनपछि मलेसियासँग एकीकृत भयो। तर पनि सिंगापुर र मलेसिया लामो समय एक साथ रहन सकेनन्। दुई वर्षपछि ९ अगस्ट १९६५ मा सिंगापुर र मलेसिया छुट्टिए।

सात सय १८ किलोमिटर क्षेत्रफलमा फैलिएको एउटा टापु सिंगापुर मलेसियासँग छुटिएपछि उसका लागि अनेक समस्या थपिए। त्यसमध्ये एउटा ठूलो समस्या थियो, पानी। बेलायती औपनिवेश हुँदैदेखि सिंगापुरले मलेसियाको जोहरवारुबाट सन् १९२७ देखि पाइपलाइनमार्फत पानी ल्याउँदै आएको छ। त्यतिबेला जोहरले पानी जम्मा गर्ने जमिनको भाडा तिर्ने शर्तमा सिंगापुरलाई सित्तैमा पानी दिँदै आएको थियो।
 
***
सिंगापुर र मलेसियाबीच पानीका विषयमा दुई सम्झौता छन्। सन् १९६१ सेप्टेम्बर १ मा भएको एउटा सम्झौताअनुसार सिंगापुरले मलेसियाबाट दैनिक आठ करोड ६० लाख ग्यालन (प्रति ग्यालन साढे चार लिटर) पानी पाउने थियो। जुन सम्झौता २०११ मा सकिएको छ।

त्यस्तै २९ सेप्टेम्बर १९६२ मा भएको अर्को सम्झौताअनुसार सिंगापुरले जोहर नदीबाट दैनिक २५ करोड ग्यालन पानी पाउनेछ। जुन सम्झौता २०६१ मा पूरा हुन्छ।

दुईमध्ये एउटा सम्झौता पूरा हुन थालेपछि सिंगापुरले सन् १९९८ मा मलेसियासँग पानीको सम्झौता पुनरावलोकन गर्न छलफल थाल्यो। छलफलमा मलेसियाले सिंगापुरमा आपूर्ती हुने पानीको मूल्य बढाउने प्रस्ताव गर्‍यो। मलेसियाले साढे चार हजार लिटर पानीका लागि सुरुमा ६० सिंगापुर सेन्ट मूल्य प्रस्ताव गर्‍यो।

छलफल चलिरहेको थियो, फेरि सन् २००२ मा मलेसियाले पानीको मूल्य बढाएर साढे चार हजार लिटरका लागि ६.४ रिंगेटको प्रस्ताव गर्‍यो। मलेसियाले त्यसका लागि हङकङको उदाहरण दियो। चीनबाट हङकङले पनि यही मूल्यमा पानी किन्ने गरेको छ।

सिंगापुरको भनाई थियो, हङकङ ल्याउने पानीका लागि चीनले पूर्वाधार बनाएको हो, मलेसियाबाट ल्याउने पानीका लागि सिंगापुर आफैले पूर्वाधार बनाउनु परिरहेको छ। सिंगापुरले मलेसियाको नयाँ प्रस्ताव खारेज गर्‍यो।
 
***
 
सिंगापुर औपनिवेशविरुद्धको लडाईंमा थियो। लडाईंका क्रममा बेलायती सेनाले मलेसियाबाट आउने पानीको पाइपलाइन बमले उडाइदिए। सिंगापुरसँग जम्मा दुई साताका लागि पानीको स्टक थियो। तर बेलायती औपनिवेशविरुद्ध सिंगापुरको लडाईं कमजोर भएन।

औपनिवेशविरुद्धको लडाई जितेपछि सिंगापुरले स्वशासन सुरु गर्‍यो। त्यसको नेतृत्व लिए लि क्वान युले। समुद्रले घेरिएको सिंगापुरसँग पानी त थियो, तर पिउने पानी थिएन। बमले पाइपलाइन उडाइदिएपछि सिंगापुरमा पानीको हाहाकार थियो। सबै जनता निराश। लिले संकल्प लिए- पानीका लागि एक दिन सिंगापुरलाई आत्मनिर्भर बनाउँछु।


—————————————————————————————————————————————–

जब उनी सत्तामा आए उनको पहिलो प्राथमिकता बन्यो पानी। सिंगापुरको पानीसम्वन्धि राष्ट्रिय एजेन्सी पियुबिका अनुसार लिले भनेका थिए, पानीले सबै नीतिलाई दबाबमा राख्छ, पानीबाट बाँच्नका लागि सबै नीतिले पानी नीतिको अघि घुँडा टेक्नुपर्छ।

उनले भनेका थिए, मैले कहिल्यै विश्वास गर्दिन, यो सधैँभरी असम्भव हुन्छ भनेर, मेरो सोंच छ, कुनै समय, कुनै ठाउँमा प्रविधिले यसलाई सम्भव नजिक पुर्‍याउँछ। नभन्दै सिंगापुरको पानीको इन्जिनियरिङमा लिले इन्जिनियरको समूहसँग काम गर्न थाले। चमत्कार भन्नुपर्छ- आज सिंगापुरमा आकाशबाट खस्ने एउटा थोपा पनि पानी खेर जाँदैन। सिंगापुर पानीमा आत्मनिर्भर हुँदै गएको छ।

अहिले सिंगापुरमा बोत्तलको पानी सबैभन्दा महँगो छ। कारण हो- सडक, स्टेशन जहाँ पनि धाराको पानी पिउन योग्य मानिन्छ। यहाँसम्म होटलका बाथरुको धारामा समेत लेखिएको हुन्छ- ‘यहाँको पानी पिउनयोग्य छ’।

सिंगापुरमा पर्यटकलाई गाइड गर्नेहरु सबैभन्दा पहिले आफ्ना वर्णन पिउने पानीबाट सुरु गर्छन्। उनीहरु भन्छन्, सिंगापुरमा अरु धेरै कुराको ग्यारेण्टी छ, र यी सबैमाभन्दा ठूलो ग्यारेण्टी पिउने पानीमा छ।

उनीहरु भन्छन्, जति बोत्तल बन्द पानी शुद्ध छ, सिंगापुरको सडकमा भेटिने धाराको पानी पनि त्योभन्दा कम छैन्। त्योसँगै उनीहरु सुनाउँछन्- सिंगापुरमा पानी आपूर्तिको कथा।

होटलका बाथरुमा लेखिएको हुन्छ- हामी हरियो मैत्री छौं, सकेसम्म पानीको कम प्रयोग गर्नुहोला। त्यसको अर्थ टुरिस्ट गाइड व्याख्या गर्छन्- तपाईंले बगाएको पानी ढल हुँदै वाटर ट्रिटमेन्ट प्लान्टमा जान्छ। त्यहाँबाट शुद्ध बनेर फेरि पाइपलाइनमा आउँछ। पानी कम बगाउनुभयो भने, पानी शुद्ध पार्न कम मेहनतले पुग्छ, बढी बगाए बढी मेहनत र उर्जा खपत हुन्छ।
 
***
सिंगापुरले ढललाई वाटर ट्रिटमेन्ट प्लान्टसम्म पुर्‍याउनका लागि ४८ किलोमिटर लामो ‘डिप टनेल सिवरेज सिस्टम’ (डिटिएसएस) बनाएको छ। यसलाई उनीहरु वाटर सुपर हाइवे भन्न रुचाउँछन्। सिंगापुरले पहिलो चरणको सुपर हाइवे बनाइसकेको छ। अहिले दोस्रो चरणको काम गरिरहेको छ। जुन सन् २०२२ मा पूरा हुनेछ।
 

सिंगापुरमा वाटर प्लान्ट
—————————————————————————————————————————————-
कुनैबेला मलेसियाबाट पानी नआए काकाकुल हुने सिंगापुर अहिले आफै आत्मनिर्भर बन्दै आएको छ। उसका लागि पानीको सबैभन्दा ठूलो स्रोत हो, सिंगापुरमा वर्षा हुने पानी।

सिंगापुरमा खसेको पानीको दुई तिहाई पानी अहिले ड्रेन, क्यानल, नदी हुँदै पानी संकलन हुने पोखरीमा पुग्छ। त्यसका लागि सिंगापुरले मरिना, पुङगुल र सेरागुनमा पानी संकलन केन्द्र बनाएको छ। आगामी केही वर्षपछि सिंगापुरमा खस्ने पानीको ९० प्रतिशत पानी संकलन गर्ने उद्देश्य सिंगापुरले बनाएको छ।

यसरी जम्मा भएको पानी तथा ढलबाट आउने पानीलाई जम्मा गरेर सिंगापुरले पानी शुद्ध पार्छ। र, त्यसको ब्राण्ड नाम सिंगापुरले 'एनई वाटर' दिएको छ। यो पानी अल्ट्रा भ्वाइलेट डिसइन्फेक्सन प्रविधिबाट शुद्ध पारिन्छ। जुन पिउनका लागि सुरक्षित हुन्छ। सिंगापुरले अहिले यहींबाट ३० प्रतिशत पानीको आपूर्ति गर्छ। यसलाई सन् २०६२ मा ५५ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।

सिंगापुरमा पानीको दोस्रो स्रोत हो- समुन्द्री पानीको शुद्धीकरण। सिंगापुरले एसियाको सबैभन्दा ठूलो समुद्री पानी शुद्धीकरण प्लान्ट लगाएको छ। जुन पानी रिभर असमोसिस प्रविधिबाट शुद्ध गरिन्छ। यहाँबाट अहिले दैनिक तीन करोड ग्यालन पानी उत्पादन हुन्छ। जुन सिंगापुरको पानी खपतको दस प्रतिशत हिस्सा हो।

सिंगापुरले यस्तै दोस्रो पानी प्रशोधन केन्द्र सन् २०१३ बाट सञ्चालनमा ल्याएको छ। जहाँबाट दैनिक सात करोड ग्यालन पानी उत्पादन हुन्छ। यसले सिंगापुरको अहिलेको २५ प्रतिशत माग धान्दै आएको छ।

सिंगापुरमा पानीको आपूर्ति गर्ने पब्लिक युटिलिटी बोर्ड (पियुबी)का अनुसार सिंगापुरमा अहिले पनि मलेसियाबाट पानी आयात हुन्छ। यो स्रोत २०६० मा बन्द हुनेछ। त्यतिबेलासम्म सिंगापुर पानीमा आत्मनिर्भर हुनेछ। बरु अहिले मलेसियाबाट आयात गरेको पानी सिंगापुरले फेरि बोतल बन्द गरेर मलेसियामै बिक्रीका लागि पठाउँछ।

लि क्वान युको सोंचले बितेको ५० वर्षमा पूर्णता पाएको छ। त्यहीं सोंच अन्तर्गत सिंगापुरले अहिले ५६ लाख जनताका लागि प्रतिदिन १५१ लिटरका दरले शुद्ध पानीको आपूर्ति गरेको छ।

त्यही सिंगापुरको पानीको कथा सुनेर आएका कृष्णप्रसाद भट्टराईले सुरु गरेको एउटा मेलम्ची २६ वर्ष बित्दा पनि आधा भएको छैन। यो पानी जस्तै थुप्रै कारणले लि क्वान युलाई सिंगापुरका 'आर्किटेक्ट' बनाएको छ।

सन् १९८० मा प्रधानमन्त्रीको रुपमा नेपालको राजकीय भ्रमण गरेका तिनै आर्किटेक्ट लि क्वान आइतबार बिहान यो धर्तीबाट बिदा भए।

सिंगापुरका पिता, नेपाली नेताका आर्दश लि क्वान युलाई हार्दिक श्रद्धाञ्जली।।।। 

 ली क्वानले कसरी बनाए सिंगापुर ?

सिंगापुर । स्पष्ट दृष्टिकोण र थकानरहीत यात्रा, लि क्वान यूले प्राकृतिक साधन विहीन त्यो सानो टापू सिंगापुरलाई आर्थिक रुपमा विश्वकै सशक्त मुलुकका रुपमा परिवर्तन गर्न सफल भए । उनको त्यो सफल यात्रालाई आर्थिक रुपमा संसारकै जादूका रुपमा लिन सकिन्छ जुन निजी र सार्वजनिक पुँजीवादको मिश्रण थियो ।

ली उनै हुन् जसले सिंगापुरलाई संसारकै समृद्ध, आधुनिक, सशक्त र व्यवहारिक रुपमा भ्रष्टाचार मुक्त राष्ट्र त बनाए नै देशमा विदेशी लगानी पनि भित्र्याए । आर्थिक रुपमा सफल भए पनि उनीमाथि मानवअधिकारको प्रश्न भने उठिनै रह्यो ।
लि क्वान यू १६ सेप्टेम्बर १९२३ मा जन्मेका थिए । उनी चिनियाँ आप्रवासीको तेस्रो वंशका रुपमा सिंगापुरमा जन्मिएका हुन् । यूको वृत्तीविकास बेलायती प्रभाव र हजुरबुबाको मातहतमा भएको थियो ।

लीले स्कूले जीवन सिंगापुरको एउटा अंग्रेजी विद्यालयमा बिताएका थिए । तर जापानले १९४२ मा यो टापू कब्जा गरेपछि उनको पढाइ अवरुद्ध हुन पुग्यो । जापानले १९४२ देखि १९४५ सम्म सिंगापुरमा आफ्नो आधिपत्य जमाएको थियो । उनले यो समयमा जापानको प्रोपागाण्डा डिपार्टमेन्ट (प्रचार विभाग)मा काम गरेर बिताए ।

युद्ध सकिएपछि उनी लन्डन स्कूल अफ इकोनोमिक्समा पुगे त्यसपछि क्याम्ब्रिज । त्यसपछि उनले कानुनको अध्यनन गरे । बेलायतमा रहँदा उनी बिबिसी होम सर्भिसको निकै ठुलो फ्यान थिए ।

आफ्नो विद्यार्थी जीवनमा ली प्रतिबद्ध समाजवादी थिए । सिंगापुर फर्किएपछि भने उनी ट्रेड युनियनसम्बन्धि वकिल भए ।
 
प्रधानमन्त्री
१९५४ मा ली सिंगापुरको पिपल्स एक्सन पार्टी (पिएपी) का पहिलो महासचिव भए त्यसपछि उनी यो पदमा ४० वर्षसम्म आसिन रहे । पिएपीले १९५९ मा सिंगापुरको चुनावमा बहुमत सिट जित्न सफल भयो । त्यसपछि यो राज्य बेलायती शासनबाट मुक्त भयो भने आफ्नै राज्य चल्न थाल्यो ।

लीले १९६३ मा मलेशियासँग देशलाई एकीकरण गराए तर यो छोटो समयका लागि मात्रै टिक्यो । विचार समूहको लडाईं  र जातीय समूहबीचको युद्धले यो एकता लामो समयसम्म टिक्न सकेन र यो एकता फेरि 'स्वतन्त्रता' मा परिणत भयो ।

यो निर्णय लीका लागि निकै महत्वपूर्ण थियो । तर उनले बेलायती साम्राज्यको इतिहास बोकेको मुलुकलाई नयाँ दिशामा अगाडि बढाए । उनले यसलाई 'एउटा पीडाको आन्दोलन' को संज्ञा दिए । मलेशियासँग व्यापारिक र सैन्य सम्बन्ध कायम थियो नै, बेलायत प्रेरित लीले सिंगापुरलाई जोगाएनन् मात्रै त्यो टापूको भाग्य नै बदलिदिए । लीले सिंगापुरमा ठुलो सुधारको कार्यक्रम सुरु गरे । उनले सिंगापुर परिवर्तनको खाका नै तयार गरे ।

कठोर सजाय
राजनीतिक नियन्त्रण कायम गर्न उनले समाजका हरेक पक्षलाई काबूमा नै राखे । उनले संसारकै नियमन भित्र बाँधिएको शहरको रुपमा अगाडि बढाए । उनले केही शहरमा विदेशी मिडिया र पब्लिकेशनलाई रोक लगाइदिए भने केही पत्रकार पक्राउ पनि परे ।

'प्रेस र अभिव्यक्ति स्वतन्त्रता सिंगापुरको राष्ट्रिय स्वार्थ, एकता र समृद्धि भन्दा माथि हुन सक्दैन,' लीले भन्ने गरेका थिए । उनले पत्रिकाहरुले विदेशीको स्वार्थमा काम गर्ने गरेको प्रमाणित नै गरिदिएका थिए ।

लीले जहिले पनि मुलुक विकासका लागि स्वतन्त्रताका केही मुद्दा त्याग्नु पर्ने बताउँदै आएका थिए । गैर वामपन्थवादको विपरीत वामपन्थ भएको भन्दै उनले पश्चिमाहरुले भन्ने गरे अनुसारको खुला अर्थतन्त्र लागु नहुने पनि बताउँदै आएका थिए ।

यद्यपि केही आलोचकहरुले भने संसदमा भएको बलियो पकडले नै उनलाई काममा अगाडि बढ्न सहयोग पुगेको बताउने गरेका छन् । यसले पनि उनलाई मानिसहरुको भावना दबाउन सहयोग पुगेको उनीहरुको तर्क छ । उनी प्रतिबद्ध गैर वामपन्थी थिए । जसले वामपन्थी शैलीको शासन व्यवस्था कायम गर्न पनि अस्वीकार गरे । १९६० देखि १९८० को बीचमा सिंगापुरको प्रतिव्यक्ति आय १५ गुणाले बढेको थियो ।
 
जनसंख्या नियन्त्रण
लीको एउटै उद्देश्य इजरायलको जस्तै बहुराष्ट्रिय कम्पनीहरु भित्र्याउने थियो । उनले चीनसँगको सम्बन्ध विस्तार र मजबुतीको महत्व पनि राम्रैसँग बुझेका थिए । यसलाई उनको चिनियाँ मित्र डेङ जिआओपिङसँगको सम्बन्धले पनि थप सहज तुल्यायो ।

डेङले १९७८ मा सिंगापुर भ्रमण गरेका थिए । उनले आर्थिक नीतिबारे लीलाई केही कुरा बाँडेका थिए जसबाट प्रभावित भइ लीले पनि डेङकै मोडल अपनाए । उनले लो-कष्ट हाउजिङ र औद्योगिकरण सुरुवात गरे ।

लीले सिंगापुरमा तीव्र रुपमा बढिरहेको जनसंख्या नियन्त्रणका लागि पनि कदमहरु चाले । उनले परिवार नियोजनका अभियानहरु नै चलाए । करमा कडाइ गर्न थाले र दुई भन्दा धेरै सन्तान हुनेलाई जरिवाना पनि गर्न थाले । उनले महिलाहरुलाई ढाल विवाह गर्न पनि प्रोत्साहन गरे जसबाट जनसंख्या नियन्त्रणमा सहयोग पुग्ने थियो ।
 
औद्योगिक शक्ति
सन् १९८५ को जनवरीमा उनले आफ्नो मन्त्रिमण्डलमा हेरफेर गरे जसमा युवा र प्राविधिकहरु धेरै थिए । चुनावमा ठुलो बिजय हात पारेर काम गर्दा पनि आर्थिक रुपमा देश अझै सही बाटोमा गइनसकेको उनको ठहर थियो ।

ली १९९० मा सत्ताबाट बाहिरिए । लगातार सातवटा चुनाव जितेर काम गरेपछि उनी बाहिरिएका थिए । उनी संसारमै लामो समयसम्म प्रधानमन्त्रीका रुपमा काम गर्ने व्यक्ति हुन् ।

उनको समयमा सिंगापुर विकासशील राष्ट्रबाट संसारकै शक्तिशाली औद्योगिक राष्ट्र र एसियाकै 'पावर' का रुपमा अगाडि बढ्यो ।

उनी जीवनको अन्तिमसम्म सक्रिय राजनीतिमा रहिरहे । उनले सिंगापुरका विभिन्न भागमा चेतनामुलक अभियानहरु पनि चलाइरहे ।

जीवनको अन्तिम क्षणमा उनले सफल सिंगापुर पाए तर त्यतिनै बेला जीवन भने गुमाइसकेका थिए । बिबिसीबाट