अर्थमन्त्रीको दबाबमा देवेन्द्रप्रताप शाहलाई नेपाल बैंकको सिइओ बनाइयो, संचालकहरु नै असन्तुष्ट

बिजमाण्डू
२०७१ चैत्र १२ गते ००:०० | Mar 26, 2015
अर्थमन्त्रीको दबाबमा देवेन्द्रप्रताप शाहलाई नेपाल बैंकको सिइओ बनाइयो, संचालकहरु नै असन्तुष्ट


सविन मिश्र/बिजमाण्डू

Tata
GBIME
Nepal Life

काठमाडौं । तीन दिनको विवादपछि नेपाल बैंक संचालक समितिले देवेन्द्रप्रताप शाहलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । संचालक समितिमा तीव्र विवादका बीच शाहको नाममा निर्णय भएको हो ।

सरकारले नियुक्त गरेका संचालकहरु शाहलाई नै सिइओ बनाउने अडानमा रहेपछि शाह सिइओ नियुक्त भएका हुन् । अल्पमतमा रहेका सर्वसाधारण सेयरधनीका तर्फबाट गएका संचालकहरु भने शाहलाई कुनै हालतमा सिइओ बनाउन नहुने अडानमा थिए ।

शाह यसअघि बीमा समितिका अध्यक्ष र कृषि विकास बैंकका महाप्रबन्धक भइसकेका व्यक्ति हुन् । उनी अर्थमन्त्री डा रामशरण महत निकटका व्यक्ति हुन् । मन्त्री महतले नै उनलाई सिइओ बनाउन संचालक समितिलाई दबाब दिएको नेपाल बैंक संचालक समिति स्रोतले बतायो । नेपाल बैंक संचालक अध्यक्ष मधुसूदन पोखरेल अर्थमन्त्रालयका सहसचिव हुन् ।

शाहलाई सिइओ नियुक्त गर्न संचालक समिति बैठकमा अर्का संचालक जनार्दन शर्मा आचार्यले विशेष जोड दिएका थिए । आचार्यलाई पनि अर्थमन्त्री महतले नै संचालक समितिको सदस्य बनाएका हुन् । आचार्य राष्ट्रिय वाणिज्य बैंकमा विदेशी व्यवस्थापन टीममा बसेर काम गरेका व्यक्ति हुन् । उनी वाणिज्य बैंकको प्रमुख कार्यकारी पनि भएका थिए ।

नेपाल बैंकको सिइओ छान्न तीन दिनदेखि लगातार संचालक समितिको बैठक बस्दै आएको थियो । मंगलबार र बुधबार बसेको बैठकमा कसलाई सिइओ बनाउने भन्ने विषयमा सहमति नभएपनि विहीबार भने सरकारले नियुक्त गरेको संचालकले पेलेर निर्णय गराएका थिए ।

‘हामीले बैंकिङ क्षेत्रमा सक्रिय रहेका व्यक्तिलाई नै सिइओ बनाउ भनेका थियौं,’ संचालक समितिका एक सदस्यले भने, ‘१२ वर्षदेखि बैंकिङ क्षेत्रमा नै नरहेका व्यक्तिलाई ल्यायएर सिइओ बनाइयो ।’ बैंकलाई सुधार्ने भन्दा पनि १४ वर्ष अगाडिकै अवस्थामा फर्काउने खेल सुरु भएको उनको आरोप छ ।
नेपाल बैंकको सिइओ छान्न बनेको छनौट समितिले शाहसँगै कुमार लम्साल र छबिराज पन्तको नाम सिफारिस गरेको थियो । लम्साल सानिमा तथा किष्ट बैंकको पूर्व सिइओ हुन् भने पन्त एसबिआई बैंकको प्रमुख जोखिम अधिकृत हुन् ।

विहीबारको बैठकमा संचालक समितिका पाँचजना सदस्य मध्ये निश्चल प्रधान अनुपस्थित थिए । नेपाल बैंक संचालक समितिमा अध्यक्ष पोखरेलसँगै सदस्यहरु जनार्दन शर्मा आचार्य, डम्बरबहादुर अधिकारी, सुरेन्द्रबहादुर सिंह र निश्चल प्रधान सदस्य छन् ।

संचालक समिति बैठकमा शाहसँग क्यानडाको पिआर रहेको विषयसमेत उठेको थियो ।

नेपाल बैंकमा सक्रिय कर्मचारी युनियनहरुले भने तीनजना मध्ये युवालाई सिइओ बनाउन दबाब दिएका थिए । उनीहरुले कर्मचारीमा उमेर हद तोकिए जस्तै सिइओ छनौटमा पनि त्यसलाई ध्यान दिन माग गर्दै आएका थिए । शाहको उमेर ६३ वर्ष पुगेको भन्दै ज्येष्ठ व्यक्तिलाई सिइओ नबनाउन उनीहरुको माग थियो ।

शाहलाई विहीबार बेलुकी ६ बजे शपथग्रहण गराउने कार्यक्रम तय भएको छ । शाहले शुक्रबारबाट नै कार्यभार सम्हाल्ने छन् ।

याे पनि पढ्नुस :

वित्तीय क्षेत्र सुधारका १३ बर्ष, कति फेरियो नेपाल बैंक – See more at: http://www.bizmandu.com/content/-9857.html#.VRN5q_AgO1t

वित्तीय क्षेत्र सुधारका १३ बर्ष, कति फेरियो नेपाल बैंक – See more at: http://www.bizmandu.com/content/-11082.html#.VROkvvAgO1s

यो पनि पढ्नुहोस
वित्तीय क्षेत्र सुधारका १३ बर्ष, कति फेरियो नेपाल बैंक