गभर्नर डा. नेपालले भने– मलाई डिक्टेटर नबनाउनुस्, सस्थाहरुमा शुसासन आवश्यक

बिजमाण्डू
२०७१ चैत्र १२ गते ००:०० | Mar 26, 2015
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले केन्द्रीय बैंकलाई तानशाह नबनाउन बैैंक तथा वित्तीय सस्थाका प्रतिधिनिहरुसँग आग्रह गरेका छन् । 
 
निकै नरम स्वभाव र मिलनसार भनेर चिनिएका गभर्नर नेपालले करिब एक दर्जन भन्दा बढी बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र केही सञ्चालक समेत उपस्थित कार्यक्रममा उनले शुसासन कायम गर्न आफू डिक्टेटरका रुपमा प्रस्तुत हुन पनि पछि नपर्ने संकेत गरेका हुन् । 


 
‘मलाई तपाईहरुले डिक्टेटर नबनाउनुस्,’ इन्डिपेन्डन्ट बिजनेश न्युजले विहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा गभर्नर नेपालले भने, ‘सस्था विग्रिन लाग्दा राष्ट्र बैंकले हेरिदेओस भन्ने चाहना राखेको पनि मैले पाँए, हाम्रो संस्थामा समस्या छ त्यो राष्ट्र बैंकले हेरिदिनु पर्छ भन्ने मनस्थिति लिएर आउने भेटेको छु । संस्था तपाईहरुले चलाउने हो, केन्द्रीय बैंकलाई डिक्टेर नवनाउँ ।’
 
सस्था चलाउन आवश्यक ऐन नियम माग्न आग्रह गर्दै उनले सस्थाहरुमा शुसासन कायम गर्नुपर्ने बताए । शुसासन नभए जनताको विश्वास गुम्नेतर्फ पनि उनले सचेत गराए । 
 
नेपाल बैंकर्स संघका अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले बाणिज्य बैंकहरुको मर्म केन्द्रीय बैंकले नबुझेको गुनासो गरे । राष्ट्र बैंकले जारी गर्ने निर्देशन बैंक तथा वित्तीय सस्थाहरुले पालना गर्ने तर निर्देशन जारी गर्दा बैंक तथा वित्तीय सस्थाहरुसँग परामर्श नभएको उनको भनाइ थियो । 
 
एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले यसअघि केन्द्रीय बैंकले टुलको रुपमा ल्याएको व्याजदर कोरिडोर, बेस रेट र स्प्रेडको सीमा प्रभावकारी नभएको बताए । उनले दोषजति बैंकहरुलाई मात्रै दिइएको भन्दै असन्तुष्टि जनाए । 
 
निर्देशनात्मक लगानी गर्ने प्रावधान ठिक नभएको भन्दै उनले यस्ता प्रावधानको आलोचना पनि गरे । ‘निर्देशनात्मक लगानी दण्ड र जरिवाना गर्ने उद्देश्यबाट प्रेरित छ, उनले भने, यसले कुनैदिन दुर्घटना निम्त्याउन सक्छ ।’
 
 के भने गभर्नर नेपालले ?  गभर्नरको भाषणको सम्पादित अंश 
 
म एउटा नियामक निकायमा बसेर आएको हुँ । राष्ट्र बैंकले सायद पहिलो पटक एउटा रेगुलेसनमा बसेर काम गरेको व्यक्ति गभर्नरका रुपमा पाएको छ । रेगुलेसन गर्ने ठाउँमा बसेर आएका हुनाले यसमा कति अप्ठ्याराहरु आउँछन् भनेर मैले अलिकति भए पनि बुझेको छु । 
 
दोस्रो कुरा, म निजी क्षेत्रलाई मन पराउँछु । यसलाई तपाईहरुले कुन रुपमा लिनु हुन्छ, त्यो आफ्नो ठाउँमा छ । निजी क्षेत्रको सहजकर्ताका रुपमा रेगुलेटरले ऐन, नियम र कानुन बनाइदियो भने त्यो अगाडि वढ्छ भन्ने मेरो बुझाइ हो । अब निजी क्षेत्रलाई सेल्फ रेगुलेसनमा लैजानु पर्छ भन्ने पक्षमा म छु । रेगुलेटरले आफ्नो पक्षबाट गरिनै हाल्छ । सेल्फ रेगुलेसनमा पनि हिँड्नु पर्छ भनेर निजी क्षेत्रले पनि बुझ्नु पर्छ । 
 
नेपालको सन्दर्भमा देशमा हुने लगानी सबैभन्दा वढी निजी क्षेत्रकै छ । यत्रो ठूलो लगानी गरेको क्षेत्रलाई वाइपास गर्नै सकिँदैन, गर्नु पनि हुँदैन । तपाईहरु चाहिँदैन भनेर हिँड्न सकिन्न । तपाईहरु चाहिन्छ नै, यो हामीले देखिसक्यौं । 
 
निजी क्षेत्रले अगाडि बढ्न सहजखालको नीतिहरु खोजेको हुन्छ । बैंकिङ क्षेत्रले एउटा सहज मध्यस्थताको भूमिका खेल्नुपर्छ । यो क्षेत्रलाई सहज रुपमा काम गर्ने वातावरण बनाउने भन्ने दायित्व रेगुलेटरको हो । तपाईहरुलाई समस्या पर्दा उद्योग व्यवसायलाई पनि पर्छ । मैले यसरी बुझेको छु ।
 
तपाईहरुलाई कुन रुपमा सहज वातावरण दिँदा उद्योग व्यवसाय गर्नेलाई सहज हुन्छ, जसले गर्दा राम्रोसँग पैसा बजारमा जान्छ र आर्थिक कृयाकलाप बढ्छ । अर्थमन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार हुँदा बजेटमा निजी क्षेत्र नै अर्थतन्त्रको प्रमुख खम्वा हो भनेर मैले नै राख्न लगाएको हुँ, राख्नै पर्छ भनेर । 
 
तपाईहरुलाई मुनाफा चाहिएको छ । तर नाफासँगसँगै संस्थागत सामाजिक दायित्व पनि पुरा गर्नुपर्छ । सरकारले लिएका नीति नियमहरुलाई तपाईहरुले अगाडि बढाउन पनि सहयोग गर्नुपर्छ ।
 
मेरो कार्यकालमा एकदमै सौहार्दपूर्ण वातावरणमा काम गर्छु । तपाईहरुसँग सरसल्लाह गरेर काम गर्छु । राष्ट्रिय स्वार्थ पुरा गर्नुपर्छ । अर्थतन्त्रलाई उँभो लगाउन निजी क्षेत्रको सहकार्य नभइकन हुनसक्दैन । राष्ट्रिय स्थार्थलाई बीचमा राखेर अर्थतन्त्रलाई उँभो लगाउन तपाईहरुको साथ जोकोहीलाई पनि चाहिन्छ । आउँदा दिनहरुमा मैले सहयोग माग्छु । तपाईहरुले सहयोग गर्नुपर्छ ।
 
अन्तर्राष्ट्रिय क्षेत्रमा हामीले जुन खालको प्रतिवद्धताहरु गरेका छौं, त्यसमा हामीले अझै दायरा बढाउने र त्यसमा भएका नीतिहरुलाई आत्मसाथ गर्दै जानु पर्ने हुन्छ । वित्तीय क्षेत्रका लागि नेपाल पनि एउटा राम्रो गन्तव्य हो भन्ने सन्देश दिनै पर्छ । त्यो भएन भने लगानी आउँदैन । 
 
वित्तीय क्षेत्र भनेको अर्थतन्त्रको ब्रेन हो । बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो । त्यही भएर वित्तीय क्षेत्र गलत हिसावले हिँड्न हुँदैन । गुड गभर्ननेस र कर्पोरेट गभर्नेन्स अर्को महत्वपूर्ण कुरा हो । 
बाहिर हुँदासम्म एउटा धारणा थियो तर यहाँ गइसकेपछि म धेरै कुरा बुझ्दै छु । बैंकिङ क्षेत्रका मित्रहरुलाई के भन्न चाहन्छु भने, सुशासन एकदमै महत्वपूर्ण कुरा हो । सुशासन भयो भने जनताको विश्वास बढ्छ । जनताको विश्वास बढ्यो भने तपाईहरुको बचत बढ्छ । बचत वढ्यो भने त्यो पैसा लगानी गर्न सक्नुहुन्छ । यसका लागि सेल्फ रेगुलेसन पनि चाहिन्छ । यो तपाईहरुमा हुनै पर्छ । 
 
केही दिनदेखि मैले सुनिरहेको छु, राष्ट्र बैंकले सबै हेरिदिनु पर्छ । हाम्रो संस्थामा समस्या छ, त्यो राष्ट्र बैंकले हेरिदिनु पर्छ भन्ने मनस्थिति लिएर आउनेहरु मैले भेटेको छु । संस्था तपाईहरुले चलाउने हो । केन्द्रीय बैंकलाई डिक्टेटर नबनाउँ । त्यो माहौल बनिरहेको छ । भोलि तपाईहरुले नै बर्बाद भयो भन्नुहुन्छ । पाँच प्रतिशतको प्रोभिजनिङको कुरा पनि त्यही स्थितिले गर्दा एट्रयाक्सन नभएको हो । प्रेसर आइरहेको छ मलाई पनि । राष्ट्र बैंकले हेरिदिनु पर्यो भनेर । 
 
सरकारले नै बैंकहरु चलाउन थालेपछि के हुन्छ ? सरकारले चलाएको बैंकहरु देख्नु भएको छ । हामी सक्षम छौं भनेर देखाउनका लागि तपाईहरु सेल्फ रेगुलेसनमा बस्नै पर्छ । ऐन नियम कस्तो चाहिन्छ बरु त्यो माग्नुस् न । हामीलाई यस्तो भए अझ सरल हुन्छ भनेर बरु माग्नुस् न । न की राज्यले आएर चलाओस् । यसमा तपाईहरु यसमा गम्भिर हुनुस् ।
 
तपाईहरुले केन्द्रीय बैंकलाई डिक्टेटर बनाउने की सेन्ट्रल बैंकलाई साँच्चै रेगुलेटर र सहजकर्ताको भूमिकामा राख्ने ? त्यो तपाईहरुमा निर्भर रहन्छ । 
 
अनौपचारिक क्षेत्र बढिरहेको छ । त्यो क्षेत्रलाई घटाउँदै लैजान तपाईहरुको सहयोग पनि माग्छु । वित्तीय क्षेत्रलाई फराकिलो पार्दै अत्यन्तै धेरै मान्छेका बीचमा वित्तीय क्षेत्रलाई लैजान पहल गर्छु । 

Tata
GBIME
Nepal Life