सरकारले नै घटायो उखुको न्यूनतम मूल्य, प्रतिक्विन्टल चारसय ६१ रुपैयाँ, किसानको माग पुरा भएन

बिजमाण्डू
२०७१ चैत्र १२ गते ००:०० | Mar 26, 2015
सरकारले नै घटायो उखुको न्यूनतम मूल्य, प्रतिक्विन्टल चारसय ६१ रुपैयाँ, किसानको माग पुरा भएन

काठमाडौं । सरकाले उखुको मूल्य निर्धारण गरेको छ । उद्योग मन्त्रालयले उखुको न्यूनतम समर्थन मूल्य गत वर्षको भन्दा १५ रुपैयाँ कम अर्थात प्रति क्विन्टल चारसय ६१ रुपैयाँ तोकेको छ । गत वर्ष उखुको मूल्य चारसय ७६ रुपैयाँ प्रतिक्विन्टल थियो ।

Tata
GBIME
Nepal Life

चिनी उद्योगी तथा उखु किसानबीच उखुको मूल्यका विषयमा विवाद बढ्न थालेपछि मन्त्रिपरिषदको गत फागुन १४ गतेको बैठकले कृषि मन्त्रालयसँग समन्वय गरी उखुको मूल्य निर्धारण गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको थियो ।

सरकारले चिनी उद्योगीहरुलाई तोकिएको मूल्यमा नै उखु खरीद गर्न आग्रह गरेको छ । चिनी उद्योगीहरुले उखुको मूल्य चारसय ११ रुपैयाँ भन्दा धेरै दिन नसकिने बताउँदै आएका छन् । भारत र ब्राजिलमा चिनीको मूल्य उल्लेख्य घटेको भन्दै उद्योगीहरुले यो वर्ष चारसय ११ रुपैयाँ मात्रै दिन सकिने बताए ।

उखु किसानहरुले भने लागत बढ्दै गएको भन्दै गत वर्षकै बराबर मूल्य पाउनुपर्ने बताउँदै आएका छन् । उखु किसान र उद्योगीबीच विवाद बढ्दै जाँदा कतिपय किसानहरुको बारीमा उखु सुक्न थालिसकेको छ ।

यसैबीच सरकारले उखु उत्पादन र प्रवर्द्धनमा किसानलाई दिँदै आएको खर्च किसानलाई उपलब्ध नगराउने निर्णय पनि गरेको छ ।