‘सुधार जादुको छडि होइन, यो क्रमिक हुन्छ’, लुम्बिनी बैंकका सिईओ सोभनदेव पन्तको अन्तर्वार्ता

बिजमाण्डू
२०७१ चैत्र १४ गते ००:०० | Mar 28, 2015
‘सुधार जादुको छडि होइन, यो क्रमिक हुन्छ’, लुम्बिनी बैंकका सिईओ सोभनदेव पन्तको अन्तर्वार्ता
राष्ट्र बैंकले थप क्षति हुन नदिने मात्र हो । बंगलादेश बैंकको सन्दर्भमा राष्ट्र बैंकले सकारात्मक भूमिका निर्वाह गरेको हो । निक्षेप लिन लाइन लागेको बेला ‘ड्यामेज कन्ट्रोल’ भएको थियो । जहाँसम्म ‘कोर रिफर्म’को कुरा हो, बाणिज्य बैंकहरु सुधार गर्न राष्ट्र बैंकको स्किल पुग्दैन । त्यो उहाँहरुको काम हुँदा पनि होइन

म आउँदा लुम्बिनी बैंकको तीन अर्बको ऋण थियो । त्यसो भए त आज पनि ऋण तीनै अर्ब हुनु पर्ने हो, तर १६/१७ अर्ब पुगेको छ । निक्षेप १८/१९ अर्ब रुपैयाँ छ । मैले पनि सुन्छु बजारमा चार पाँच बर्ष अगाडि खुलेका बैंकहरु कति गुणा ठूला भइसके, तपाई त्यो स्पिडमा किन जानु भएन ? मेरो कुरा के हो भने, दौडनका लागि दौडने ? छोटो समयका लागि दौडने ? कि दीर्घकाल हेरेर दौडने ?

बाणिज्य बैंकहरुको लभांस दर मैले पनि हेरेको छु । विश्वमा कसले कति दिन्छन् मलाई पनि थाहा छ । भारतमा लाभांस दर १० प्रतिशतभन्दा वढी छैन । भन्नुको मतलव मैले त ११ प्रतिशत दिएको छु । नेपालको मूल्य बृद्धि दर आठ प्रतिशत छ । मैले त ‘फेयर रिर्टन’ दिएको छु । कसैले ७० प्रतिशत दिएको छ भने त्यो संस्थाले लिएको समय पनि हेर्नु पर्छ

केन्द्रीय बैंकमा जोसुकै आए पनि मलाई थाहा छैन, सोसलिस्ट आए पनि वा अर्को पक्षको आए पनि त्यो एङगलबाट मैले बुझ्ने प्रयास कहिले पनि गरिन । मैले केलाई बुझ्ने प्रयास गरे भने राष्ट्र बैंकमा हिजो पनि गभर्नर भन्ने पद थियो आज पनि छ । राष्ट्र बैंकको निश्चित केही उद्देश्यहरु छन्
लुम्बिनी बैंकको व्यवस्थापन र त्यसलाई नेतृत्व गर्ने सोभनदेव पन्तको विषयलाई लिएर नेपाल राष्ट्र बैंकमा दुई वटा धार छन्, एउटा भन्छ, पन्त नेपाली बैकिङ्ग उद्योगका ‘आइरनम्यान’ हुन्, अर्को पक्ष भन्छ, तर बैंकमा सुधारको रफ्तार सुस्त छ । बिजमाण्डूका सम्पादक सरोज काफ्ले र सुदर्शन सापकोटाले लुम्बिनी बैंकका सिईओ सोभनदेव पन्तलाई सोधे, तपाईंको दायित्व बैंक सुधार मात्रै हो र, बिजनेश बढाउने होइन् ?

Tata
GBIME
Nepal Life

 


 
कुनैदिन लुम्बिनी बैंक एकदमै खराव अवस्थामा थियो । बिस्तारै सुधार हुँदैगयो । बैंकले लाभांस पनि वाँड्न थालिसकेको छ । नेतृत्व सक्षम भयो भने त टाट पल्टिन लागेको अवस्थाबाट पनि सुधार हुँदो रहेछ नि ?
यो टिम वर्क हो । तपाईसँग राम्रो टिम छ, स्पष्ट मार्गदर्शन, संस्था बनाउँछु भन्ने प्रतिवद्धता भयो भने सफल भइन्छ । त्यसका लागि मूख्य कुरा टिम वर्क र उद्देश्यप्रतिको प्रतिवद्धता चाहिन्छ ।

आँट पनि त चाहियो नि, त्यो बेला बैंकका संस्थापकहरुको सेयर नै जफत गर्नु परेको थियो ?
व्यवस्थापनमा बसेपछि जोखिम उठाउनु पर्छ । आफ्नो दायित्व निभाउनका लागि जोखिम लिन डराउनु हुँदैन । संस्था सानो भएपनि त्यसले पार्ने नकारात्मक असर ठूलो हुन्छ । एउटा बाणिज्य बैंक डुब्दा समग्र वित्तीय क्षेत्र डुब्छ । त्यसबेलाको राष्ट्र बैंकको गभर्नरले मलाई बोलाएर संस्था डुब्न लाग्यो, ‘क’ वर्गको संस्था डुब्दा हामीलाई सम्हाल्नै गाह्रो हुन्छ, तपाई गइदिनुस भन्नु भएको थियो । एउटा सन्दर्भमा राष्ट्रप्रतिको दायित्वका हिसावले यसलाई मैले लिएको हुँ ।

हाम्रो दृष्टिकोण कस्तो छ भने, यो बैंक बैंक डुब्न लाग्यो । बैंक जोगाउन तपाईले सक्नु हुन्छ भन्ने राष्ट्र बैंकले प्रेडिक्ट गर्यो । यहाँ भएको सञ्चालक समितिले पनि तपाईप्रति अत्यन्तै विश्वास गर्यो । ‘हेड हन्ट’ गरेर मात्र सुधार गर्न सकिन्छ भन्ने पनि त हो नि ?
तपाईले भनेको ठिक हो । त्यसबेलासम्म राष्ट्र बैंकले दुई पटक लुम्बिनी बैंकको व्यवस्थापन लिइसकेको थियो । दुई पटक व्यवस्थापन लिँदा पनि संस्थामा सुधार नआएको बरु अझ खस्किएको थियो । उहाँहरुलाई पनि के लाग्यो भने अब फेरि तेस्रो पटक जाँदा राष्ट्र बैंकको भएको इज्जत पनि अझ जाने भयो, राष्ट्र बैंकमाथि नै प्रश्न उठ्ने देखिएको थियो । यस कारणले पनि उहाँहरु सोझै आउन चाहनु भएन । बरु एउटा स्वतन्त्र, प्रोफेसनललाई राखिदियो भने अपजस त राष्ट्र बैंकमा आउँदैन भन्ने एउटा कुसन केन्द्रीय बैंकको हिसाबबाट हुनु स्वभाविक पनि हो । किनभने केन्द्रीय बैंक तीन/तीन चोटी जाँदा पनि संस्था बनेन भन्ने सन्देश जानु राम्रो होइन ।

संस्था विग्रिँदाका दुस्परिणामहरु देखिन थालेको थियो । जेलमा जानेदेखि लिएर विभिन्न खालका नैतिक, फाइनान्सियल, अपराधिक जस्ता कन्सिक्वेन्सेसहरु आइरहेको थियो । त्यसले गर्दा सुधार बाहेकका कुनै उपाय नै थिएन । यसलाई जसरी हुन्छ बचाउनु पर्यो । बचाउनु पर्यो भनेको दुबै पक्षले म इमान्दर छु, प्रतिवद्द छु, जोखिम लिनसक्छु भन्ने बुझाइ भएको हुनसक्छ । त्यसबेला हामीले राष्ट्र बैंकले नलिएको कदम हामीले चाल्यौं ।

जस्तो, सेयर जफत भन्ने कुरा यहीँबाट सुरु भएको हो । अझै पनि बाँकी नै छ । सबै स्टेक होल्डरको विश्वास थियो । यहाँ भित्रको अवस्था पनि नाजुक थियो । यो संस्था चार भागमा वाँडिएको थियो प्रमोटरका कारणले, चार वटा इन्ट्रेस्ट थियो । स्टाफ विभाजित थिए । सबैलाई एउटै उद्देश्यमा ल्याउन सजिलो थिएन । ३१ दिन त संस्था बन्दै भएको थियो । कर्मचारीले बन्द गराएका थिए । सबैलाई वुझाउन सक्यौं । यसका लागि कडा निर्णयहरु लिनु पर्ने अवस्था पनि आएको थियो ।

पुँजीको मुद्दा थियो । बैंकमा पर्याप्त पुँजी थिएन, हाल्ने मान्छे पनि थिएनन् । सुरुमा अलिकति सेयर मैले नै किनिदिएँ । त्यसपछि लगानीकर्ता पनि कन्भिन्स भए । यो आफैले त हालिरहेको छ भने हामीले पनि हाल्नु पर्छ भन्ने भयो । त्यसपछि हकप्रद सेयर विक्री हुन थाल्यो । क्रमिक रुपमा सुधार आयो ।

हामी कस्तो देख्छौं भने, तपाईलाई कुसनका रुपमा केन्द्रीय बैंकले प्रयोग गर्नु एउटा कुरा भयो । तर केन्द्रीय बैंक जहाँ जहाँ सुधारका लागि भनेर आफै गएको छ त्यहाँ त्यहाँ केन्द्रीय बैंकले एकाध वाहेक लक्ष्य पुरा गर्न सकेको छैन । एउटा प्रोफेसनललाई दिनु त उसको वाध्यता रहेछ । विग्रिएको संस्था सुधार्ने क्षमता राष्ट्र बैंकमा रहेनछ ?
त्यो केन्द्रीय बैंकको क्षेत्र पनि होइन । राष्ट्र बैंकले थप क्षति हुन नदिने मात्र हो । बंगलादेश बैंकको सन्दर्भमा राष्ट्र बैंकले सकारात्मक भूमिका निर्वाह गरेको हो । निक्षेप लिन लाइन लागेको बेला ‘ड्यामेज कन्ट्रोल’ राम्रोसँग भएको थियो । नभए अडिने ठाउँ केही थिएन । त्यो स्तरको जनताको विश्वासका लागि राष्ट्र बैंकले लिने स्टेप सकारात्मक नै छ ।

जहाँसम्म ‘कोर रिफर्म’को कुरा हो, बाणिज्य बैंकहरु सुधार गर्न राष्ट्र बैंकको स्किल पुग्दैन । त्यो उहाँहरुको काम हुँदा पनि होइन । राष्ट्र बैंकले लामो समयसम्म बाणिज्य बैंकहरुलाई व्यवस्थापन गर्यो भने ‘कन्फ्क्टि अफ इन्ट्रेस्ट’को कुरा पनि आउँछ । सुधार गर्ने भन्ने कुरा जादुको छडि पनि होइन, यो क्रमिक रुपमा हुने कुरा हो । आन्तरिक रुपमा सुधार गर्ने हो भने यो दीर्घकालिन प्रकृया हो । होइन वाहिर वाहिर देखाउने मात्र हो भने केही जादु गर्न पनि सकिन्छ होला ।

सुधारकै कारण लुम्बिनी बैंकको ऋणको गुणस्तर राम्रो छ । पुँजी कोष अनुपात राम्रो छ । गत बर्ष हामीले ११ प्रतिशत लाभांस दियौं, यो पटक हामी १३/१४ प्रतिशत दिन्छौं । हामीले क्रमिक रुपमा बृद्धि गरिरहेका छौं । आज हामीले लुम्बिनी बैंकले जसरी बैंकिङ गरिरहेको छ, नबिलको दिन सम्झेर, स्ट्यान्डर्ड चार्टडको सम्झेर हुँदैन । मैले सञ्चालकहरुलाई स्पष्ट भन्ने गरेको छु, त्यो सोचाइ नराख्नुहोस् । न आज १९८४ हो, आज त २०१५ हो, तपाईहरु ३० बर्ष पछाडि परिसक्नु भयो । त्यसमध्ये पनि १७/१८ बर्षको उमेरमध्ये ८/९ बर्ष तपाई विरामी नै हुनु भयो । गलत महत्वकांक्षा राख्नु हुँदैन, यो कुरामा उहाँहरु पनि सहमत हुनुहुन्छ । पहिलो कुरा त व्यक्तिगत जोखिमबाट जोगिएको छ । पुँजी जोगियो, लाभांस आउन थालेको छ ।

लुम्बिनी बैंक नेपालीले नेपालमै बसेर सुधार गर्न सक्छन् है भनेर तपाईको धेरैतिरबाट प्रशंसा पनि भयो । अर्को पक्ष छ, बैंक त सुधार भयो तर त्यही हिजोकै ऋण खेलाएर, त्यही सानो पोर्टफोलियोमा रमाएर बसिरहेको छ, त्योभन्दा माथि आउन सकेको छैन भन्ने पनि छन् । यो दुवै पक्ष नेपाल राष्ट्र बैंकमै छ । आलोचना गर्ने समूह विस्तारै विस्तारै राष्ट्र बैंकबाट पाखा लाग्दैछन् ?
यसमा मैले खासै प्रतिक्रिया दिनु पर्ने केही पनि छैन । किनभने म आउँदा लुम्बिनी बैंकको तीन अर्बको ऋण थियो । त्यसो भए त आजपनि ऋण तीनै अर्ब हुनु पर्ने हो नि । आज त १६/१७ अर्ब छ । निक्षेप १८/१९ अर्ब रुपैयाँ छ । मैले पनि सुन्छु बजारमा चार पाँच बर्ष अगाडि खुलेका बैंकहरु कति गुणा ठूला भइसके, तपाईहरु त्यो स्पिडमा किन जानु भएन भन्ने । त्यो सही कोण हो । मैले के देखिरहेको छैन भने दौडनका लागि दौडने हो कि, व्यवस्थापनले छोटो समयका लागि लागि दौडने कि दीर्घकाललाई हेरेर दौडने ? आ–आफ्नो दृष्टिकोणको कुरा हो यो ।

मेरो भनाइ के भने जुन देशको अर्थतन्त्र पाँच प्रतिशतको हाराहारीमा छ, यो बैंकको बृद्धिदर १५ देखि २० प्रतिशतको छ । यो पनि अर्थतन्त्रका लागि कति दिगो हो त ? अनुत्पादक क्षेत्रमा गएर जथाभावी पोर्टफोलियो बढाउनका लागि वोलाउँदै ल्याउँदै दुई चार वटा संस्थाबाट निक्षेप लिए भइहाल्छ । निक्षेप ल्याउन गाह्रो छैन । बैंक ठूलो बनाउनलाई गाह्रो नै छैन । यो बैंक आज ऋण दिएका कारणले गर्दा पाँच बर्षपछि फेरि समस्यामा नजाओस् । डुवेर बाँचेको संस्था छ । कुनै पनि बैंकिङ क्यासिनोको हिसाबले गर्नु हुन्छ जस्तो मलाई लाग्दैन । क्यासिनो बैंकिङ गर्ने कि प्रुडेन्ट बैंकिङ गर्ने ?

मान्छेले हेर्दा व्यालेन्सिटको आकार पनि त हेर्छ नि ?
प्रत्येक संस्थामा पुँजी मूख्य कुरा हो । पुँजी कोष अनुपात, वासेल थ्रि आउने कारणले गर्दा होस्, बढाउनै पर्छ । वासेल थ्रिको उद्देश्य भनेको पुँजी हो । पुँजी बढाएर लैजानै पर्छ । यो बैंकको जो संस्थापक सेयरधनीहरु हुनुहुन्छ, उहाँहरु साना सेयरधनी हुनुहुन्छ । पुँजी थप्नका लागि यहाँ ठूला संस्थापकहरु छैनन् । उहाँहरुमा त्यो क्षमता छैन भने यो संस्थालाई दुई सय किलोमिटरको रफ्तारमा दौडाउँदा के हुन्छ ? तपाईको पोर्टफोलियो जति ठूलो हुन्छ, त्यति नै कर्जा डुब्ने सम्भावना पनि रहन्छ । भोलि गएर लुम्बिनी बैंकले पाँच करोडको ऋण डुब्यो भने पनि थेग्न सक्ला । ठूलो बैंकलाई आज २० करोड डुब्दा पनि फरक पर्दैन ।

पुँजीको, निक्षेपको बलियो भर त मसँग छैन । म त पोहोर सालदेखि लिकमा आएको छु । व्यापार कति विस्तार गर्ने भन्ने पुँजीमा जोडिएको पक्ष हो । पुँजी हाल्न सक्ने नसक्ने भन्ने कुरा यहाँभित्रका प्रवद्र्धकहरुको वित्तीय क्षमतासँग जोडिएको हुन्छ । सिइओको नाताले यो कुरालाई मैले नहेरिकन संस्थालाई दौडाएर मात्र खाल्डामा खसाल्नु त उपयुक्त नहोला कि जस्तो लाग्छ ।

एउटा पक्षले के भन्छ भने लुम्बिनी बैंक ‘स्ट्रेस टेस्टिङ’ गर्दा बलियो देखियो । अर्को समूहले भन्छ पोर्टफोलियो नै सानो भयो लुम्बिनी बैंककोे । तपाई भन्नु हुन्छ, म म्याराथन दौडमा छु, त्यो कारणले गर्दा मलाई अरु कुरासँग सरोकार होइन । मलाई बैंक कति बलियो बनाएँ भन्ने महत्वपूर्ण हुन्छ । अब सर्वसाधारणले कुन तर्कमाथि बढी भर पर्ने ?
यो प्रश्नको जवाफ अत्यन्तै सामान्य छ । यो बैंक कसको हो सबैभन्दा पहिले ? सेयरधनीले अलिकति पैसा हालेर खोले दुई अर्ब रुपैयाँ । १८ अर्ब रुपैयाँ जनताको निक्षेप छ । स्ट्रेस टेस्टिङ भनेको त्यो टेस्ट हो जसले यो बैंक भोली गएर जतिसुकै हावाहुरी आएर पनि ढल्दैन भन्ने हो । यदि निक्षेपकर्ताको बैंक हो भने तपाईको हित केमा छ ? नहल्लिनुमा छ । त्यसो भए यसबाट कसैले पनि केही प्रतिफल नपाउने त ? त्यो इस्युमा पनि हामीले पोहोर ११ प्रतिशत लाभांस दियौं, आउने बर्ष पनि यो भन्दा घट्दैन ।

बाणिज्य बैंकहरुको लभांस दर मैले पनि हेरेको छु । विश्वमा कसले कति दिन्छन् भन्ने मलाई पनि थाहा छ । भारतमा लाभांस दर १० प्रतिशतभन्दा वढी छैन । भन्नुको मतलव मैले त ११ प्रतिशत दिएको छु । नेपालको मूल्य बृद्धि दर आठ प्रतिशत छ । मैले त ‘फेयर रिर्टन’ दिएको छु । कसैले ७० प्रतिशत दिएको छ भने त्यो संस्थाले लिएको समय पनि हेर्नु पर्यो नि ।

यसैमा हामीले देख्ने गरेका छौं, तपाई एक्लै हुनुहुन्छ । प्रुडेन्ट बैंकिङ गरिरहनु भएको छ तर अरु बैंक, जसले १५ प्रतिशत, २० प्रतिशत दिएँ भनको हामीले सुनिरहेका पनि छौं । तपाई म एक्लो हुँदा पनि सत्य छु भनेर भनिरहनु भएको छ ?
ठूलो भिँड हुँदैमा त्यो सत्य नै हुन्छ भन्ने पनि त हुँदैन नि । साँझमा आएर सय जना मान्छेले अहिले विहानको पाँच बजेको छ भन्यो भने त्यो विहानको पाँच त हुँदैन । अहिले जसले जे भने पनि त्यो साँझकै पाँच बजेकै हुन्छ । मलाई लाग्छ नेपाली बैंकिङ भनेको दीगो बैंकिङ हुनुपर्छ । यो दिशामा जानका लागि हामी सबैले प्रुडेन्ट बैंकिङ चाहीँ गर्नै पर्छ ।

लुम्बिनी बैंक सञ्जालको हिसावले पनि थोरै, आधुनिक बैंकिङमा पनि त्यति अगाडि देखिन्न । तपाई पछि आएका बैंकमा धेरै कुरा छन् अहिले, तरक्कि गरेको देख्न सकिन्छ । ३० वटा बैंक छन । ब्रान्डिङका कारण अरु बैंक अगाडि आएको देखिन्छ । तर लुम्बिनी बैंकको नाम त्यति सुन्न छाडिएको छ ?
नाम नसुनिएको भए तपाई किन अन्तर्वार्ता गर्न आउनु हुन्थ्यो र ? हामीसँगैका र हामीभन्दा पछि आएका बैंकहरु हामीभन्दा ठूला भइसकेको कुरा सत्य हो । राष्ट्र बैंकले तोकेको पुँजी भनेको दुई अर्ब हो । २०१७ असार मसान्तसम्म पुँजी दुई अर्ब पुर्याउनु पर्ने निर्देशन थियो । जुन बैंकको सेयरधनीले त्यो पुँजी हाल्न नसकेर हामी मर्जरमा जानु पर्यो । यहाँका सेयरधनी धेरै धनी व्यक्तिहरु होइनन् । उहाँहरुले भन्नुभयो, हकप्रद हाल्न हामीसँग क्षमता छैन । अरु बैंकले आउँदै दुई अर्ब तीन अर्ब पुँजी बोकेर आए । यो त खाल्डोबाट तानिएर आएको बैंक हो । तपाईलाई लाग्दो हो बैंक त केही अघिदेखि नै राम्रो भएको भन्ने । भएको हो तर हामी संकटबाट बाहिर आएको, लिकमा त पोहोरबाट मात्र आएको हो । बाँकी रह्यो ब्रान्डिङको कुरा । हामी विज्ञापनमा छैनौं । हामी कोर बैंकिङ गर्ने हो, प्रुडेन्ट बैंकिङ गर्ने हो ।

दीगो बृद्धि भनेको क्रमिक बृद्धि हो, प्रुडेन्ट ग्रोथ र म्यानेजेवल ग्रोथ हो । बैंक त बढिरहेका छन् तर दुर्घटनाहरु पनि त त्यतिकै भइरहेका छन् । विज्ञापन त एकदमै गरिहेका छन् तर भित्रभित्रै करोडौंको काण्ड भएको समाचार पनि आइरहेको छ ।
एकातिर विज्ञापनको ब्रान्डिङको कुरा अर्कोतिर यो पनि त ब्रान्डिङ भइरहेको छ नि । नकारात्मक ब्रान्डिङ पनि छ । तपाई कुन ब्रान्डिङ रोज्नुहुन्छ ? लुम्बिनी बैंकको सेयरधनीसँग आक्रामक रुपमा जानका लागि सहयोग गर्ने क्षमता कम छ । कमाएको नाफाबाट बढाउँदै लैजाने मात्र हो ।

तपाईले भन्नुभयो मेरा ठूला सेयरधनी छैनन्, प्रमोटर छैनन् । तर अहिले बैंकिङ ठूलो ग्रुपहरुले होल्ड गरेका छन् । एउटाले अर्को ग्रुपसँग मिलेर आफ्नो साइज ठूलो देखाइरहेका छन् ?
त्यो त मलाई थाहा छैन । नियामक वालुवाटारमा बसिरहेको छ । उहाँहरुसँग सम्पूर्ण जानकारी होला । मसँग त्यो जानकारी छैन । म यहाँ बसेर कुरा गर्दा अरुहरुको बारेमा मसँग जानकारी नभइ कुरा गर्नु उपयुक्त होइन ।

तर हामीले नै सुन्छौं नि । फलानो बैंक फलानो समूह वा व्यक्तिको हो भन्ने छ, समूहहरुकै अधारमा बैंक चलिरहेका छन ?
एकदमै ठिक कुरा हो । तीन बर्षअघिसम्म नेपालकै बजारमा कुनै एउटा बैंक थियो, जसको बृद्धि यति धेरै थियो कि अरु कुनैको पनि थिएन । खोलेको केही बर्षमा ५०, ६० भन्दा वढी शाखा थियो । विल्डिङ त्यसको कहाँ थिएन । तर आज त्यसको नाम छ ? बैंकिङ भनेको फेसन विजिनेस होइन । सर्वसाधारणको निक्षेप बोकेर बस्ने विजिनेस हो । जनताको पैसा फिर्ता दिनैपर्छ । कर्जा दिएको पैसा नउठेपनि जनताको पैसा त फिर्ता गर्नैपर्छ ।

नेपालकै इतिहासलाई हेर्ने हो भने आठ अर्ब ऋण लिएर नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई जोगाएको होइन ? त्यो पनि त विर्सिनु भएन नि । एक, दुई वा तीन बर्ष व्यवस्थापन गरेर लैजान सकिएला तर तपाईको कर्जाको गुणस्तर छैन भने त्यो एकदिन समस्यामा पर्छ पर्छ । त्यो दिन आउँछ आउँछ । कर्जा दिएको पैसा नउठेपछि निक्षेपकर्ताको पैसा कसरी तिर्नुहुन्छ ? गर्ने के भने अर्को निक्षेप लिने र एकातिर तिर्ने । त्यो कतिन्जेल चल्छ ? क्यासिनो बैंकिङ गर्ने हो भने त दुई गयो चार थाप्यो चार गयो आठ थाप्यो । बैंकिङ त त्यसरी चल्दैन ।

हामी अब लुम्बिनी बैंकबाट बाहिर जाऔं । अहिले ऋणको वर्गिकरण पाँच वटा गर्दै वाचलिस्टको व्यवस्था गरिएको छ । यसले समस्या पर्छ भनिँदैछ । केमा असर पर्ने रहेछ ?
मैले बुझे अनुसार यो ‘प्रुडेन्सियल’ नियमन हो । यसले के भन्छ भने, तिम्रो ऋण समयमा उठेन भने त्यसलाई तिमीले वाचलिस्टमा राख र जसको प्रोभिजनिङ पाँच प्रतिशत गर । यसमा खराव के छ ? मार्च १३ मा भारतमा यही निर्देशन आएको छ । यही कुरा भारतमा पच्छ, नेपामा किन पच्दैन ? रिजर्भ बैंक अफ इन्डिया(आरविआई)का गभर्नरले त्यो निर्देशन जारी गर्दा तिमी जे हौं त्यही देखाउ भन्नु भएको थियो । नाफा मेन्टन गर्नका लागि यस्तो नियमन चाहिदैन भन्न मिल्छ । यही हो प्रुडेन्ट बैंकिङ ? हरेक कुरा तपाई भारतको यहाँ लागु गर्नुहुन्छ भने इन्डियाको राम्रो कुरा तपाई किन लागु गर्नुहुन्न ? तपाईको ऋण तिर्ने मिति नाघ्यो भने प्रोभिजनिङ गर भन्नु गलत हो ?

त्यसो भए बैंकहरु किन आत्तिएका त ?
मैले अघिनै भनेनी साँझमा आएर कसैले अहिले विहानको पाँच बजेको छ भन्यो भने म मान्छु र ? यो रेगुलेसन प्रुडेन्ट रेगुलेसन हो । कसैले भन्छ, सरकारको राजश्व कम हुन्छ त्यही भएर यसलाई निकाल । वित्तीय स्थायित्वको कुरा जताततै सुनिन्छ । यो निर्देशन स्थायित्वका लागि सहयोगी हो कि असहयोगी हो ?

अर्को तर्क पनि छ नि, हाम्रो माटो सुहाउँदो पनि हुनुपर्छ । बाहिरको अभ्यास मात्र हेरेर हुँदैन भन्ने तपाई जस्तै धेरै बैंकर भेटिन्छन् ?
तर्क त जे पनि गर्न सकिन्छ । हिजो हामी प्रुडेन्सियल रेगुलेसनमा गएनौं भनेर आज जाने कि नजाने त ? तपाई सुध्रिन किन हिच्किचाउनु हुन्छ । तपाई भन्नुस् न यो बर्ष मेरो नाफा कम भयो । कम भयो त भयो । पैसा त कतै गएको छैन, व्यालेन्सिटभित्रै बसेको छ । पैसा लगेर राष्ट्र बैंकमा वुझाउने त होइन । वित्तीय स्थायित्व यदि हाम्रो लक्ष हो भने यो निर्देशन वित्तीय स्थायित्वको पक्षमा आएको निर्देशन हो । माटोको कुरा आउँछ भने यसलाई व्यवहारिक रुपमा कसरी लागू गर्ने भनेर छलफल गर्न सकिन्छ । आजको आजै सबै कुरा नहोला । केही कुरामा ‘फाइन ट्युनिङ’ गर्न सकिएला । केही समयपछि मिलाउन सकिएला, समय दिन सकिएला । माटोमै सुहाउने होइन भन्ने तर्क मिल्दैन । के यो माटो सँधै यसरी नै छाडिदिने ? माटो त सुधार्नु पर्यो नि । व्यवहारिक कठिनाइ छ भने समय दिनुपर्छ ।

केही अघिसम्म हामीकहाँ सोसलिस्ट गभर्नर हुनुहुन्थ्यो । उहाँका कतिपय कदमहरुलाई माइक्रोम्यानेजमेन्टका रुपमा व्याख्या पनि गरियो । अहिले निजी क्षेत्रमैत्री गभर्नर आउनु भएको छ । अहिलेका गभर्नरले वारम्वार म निजी क्षेत्रमैत्री भनिरहनु भएको छ । अब त बैंकर र राष्ट्र बैंकको एउटै आवाज आउने होला ?
मलाई थाहाछैन सोसलिस्टबाट को आए वा अर्को पक्षको आए, त्यो दृष्टिकोणबाट मैले बुझ्ने प्रयास कहिले पनि गरिन । मैले केलाई बुझ्ने प्रयास गरे भने राष्ट्र बैंकमा हिजो पनि गभर्नर भन्ने पद थियो आज पनि छ । राष्ट्र बैंकको निश्चित केही उद्देश्यहरु छन् । मूल्य बृद्धि नियन्त्रण, प्राइस स्ट्याविलिटी, व्यालेन्स अफ पेमेन्ट र वित्तीय स्थायित्व मूख्य उद्देश्य हो । राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नर आउने भनेको यही उद्देश्य पुरा गर्न हो ।

मूल्य बृद्धि नियन्त्रणलाई एक नम्बरमा किन राखेको ? राष्ट्र बैंक भनेको यस्तो एउटा संस्था हो जसप्रति सम्पूर्ण नागरिकको हिस्सा रहन्छ । भोली गएर आफ्नो मूल्यको अवमूल्यन भएर जाँदा तपाईले आज कमाएको पैसाले हिजो जति नै चामल आज किन्न सक्नुहुन्न । मेरो बुझाइमा राष्ट्र बैंकले एक नम्बरको यो उद्देश्यलाई आजसम्म साइड उद्देश्यका रुपमा राखिएकोे छ, मैले यो बुझ्न सकेको छैन ।

भारतमा बजेट आइसकेपछि अर्थमन्त्रालय र त्यहाँको केन्द्रीय बैंकको भूमिका माथि छलफल भयो । छलफल हुँदा केन्द्रीय बैंकले भन्यो, आरबिआइको पहिलो भूमिका भनेको मूल्य बृद्धि नियन्त्रण हो । त्यो सँगसँगै व्याज दर निर्धारण । कुनै पनि देशमा केन्द्रीय बैंकको पहिलो रोल भनेको मूल्य बृद्धि नियन्त्रण नै हो । तर यहाँ हामीले त्यसलाई सुधार्नु पर्दैन ? मूल्य बृद्धि हाम्रो नियन्त्रणमै छैन, भारतबाटै आयात हुन्छ भनेर हुन्छ, त्यो सुधार गर्नु पर्दैन ?

मौद्रिक नीतिको पहिलो उद्देश्य नै पुरा हुँदैन भने त्यसले त सारा देशवासीलाई प्रभाव पारिरहेको छ । तपाईको हरेक खर्चलाई प्रभावित गरिरहेको छ । तपाईको प्रत्येक कमाइलाई प्रभावित गरिरहेको  छ । हामी के भन्छौं भने यो हाम्रो नियन्त्रण भित्र छैन । त्यसो भए त्यो उद्देश्य त्यहाँबाट हटाउँन त । मिडिया पनि त्यस्तै हुन्छ । बैंक समस्यामा गयो त्यो हट न्युज हुन्छ तर मूल्य बृद्धि कहिले हट न्युज भएको छ ? तपाईहरु नै बनाउनु हुन्न ।

मेरो अपेक्षा के छ भने नयाँ गभर्नरले राष्ट्र बैंकको ऐनमा भएको प्रथम उद्देश्यलाई आफ्नो एजेन्डा बनाउनु हुन्छ । जसले गर्दा हामीजस्ता सर्वसाधारणको दाल, चिनी, नुन, चामल, बच्चाको फिमा राहत पुगोस । यो राहत भन्ने शब्द मैले बुझेर प्रयोग गरिरहेको छु ।

अहिले मूल्य बृद्धि आठ प्रतिशतको हाराहारीमा छ भनिएको छ । मूल्य बृद्धि दरभन्दा बचतले पाउने ब्याज कहिले पनि कम हुनुहुँदैन । त्यो भयो भने नेगेटिभ व्याज दर हुन्छ । नेगेटिभ ब्याज दर भयो भने के हुन्छ ? जनता त टाँट पल्टिन्छन् । नौं प्रतिशत मूल्य बृद्धि, बचतको ब्याज दर औषतमा ३.८ प्रतिशत । यसको अर्थ करिव करिव चार प्रतिशत ऋणात्मक ब्याज दर छ । दुई बर्ष तीन बर्ष भयो यस्तो भएको । यो केन्द्रीय बैंकको चासोको विषय होइन ? भारतमा सात आठ प्रतिशत ब्याज छ । रक्सौल छेउछाउका नेपालीले यहाँ किन पैसा राख्ने ?

भारतमा सरकारले कराउँदा कराउँदा आरबिआइले रेट ०.२५ प्रतिशतले घटयो । घटाएपछि हाम्रो ऋण लगानी यति सय अर्बले बढ्छ भन्यो । नेपालमा तीन बर्ष अगाडि ब्यापारीले १४/१५ प्रतिशत ब्याजमा ऋण लिन्थे । अहिले व्यापारीले साढे ६ प्रतिशतमा ऋण लिइरहेका छन् । ब्याज ५० प्रतिशतले घट्दा त यहाँ उद्योगधन्दा त मज्जाले आउनु पर्ने होइन र ? जतात्यतै उद्योग धन्दा खुलेर रोजगारी त प्रशस्तै हुनु पर्ने हो, खै त यहाँ भएको ? यो इस्यु किन एड्रेस भएन । हाम्रो मौद्रिक नीतिले कहाँनेर हाम्रो वास्तविकतालाई छोइरहेको छैन ?

अहिले निजी क्षेत्रमैत्री गभर्नर, पहिलेका गभर्नरका केही नीतिहरुको बैंकरहरुले आलोचना गरेका थिए । अहिलेका गभर्नरले अहिले भएका निर्देशनमध्ये कुनकुनमा समीक्षा गर्नुपर्छ जस्तो लाग्छ ?
मैले फेरि पनि भने, अहिलेसम्मका गभर्नरले उद्देश्य अनुसार गर्न नसकेको मूल्य बृद्धि नियन्त्रणको जुन काम छ त्यो पुरा भएको छैन, त्यही नै पुनर्विचार गर्नुपर्छ ।

बैंकिङ सम्वन्धि नीतिमा ?
बैंकिङ सम्बन्धि नीतिमा त कतिपय देशले बैंकिङ नीति हेर्र्न केन्द्रिय बैंकले अर्को संस्थालाई जिम्मा दिएका छन्, दिइरहेका छन् । केन्द्रीय बैंकले हेर्ने भनेको मूल्य बृद्धि नै हो । बैंकिङ सम्बन्धि जारी भएको निर्देशन त इस्यु नै होइन । हाम्रो अनुभवबाट, छिमेकीको अनुभवबाट र विश्वव्यापी अनुभवबाट प्रुडेन्ट्ली निर्देशन आएको हो भने त्यसमा पुनर्विचार आवश्यक हुँदैन ।