एमालेबाट राखेप उपाध्यक्ष बनाइएका टेन्डी सुन तस्करीमा पक्राउ, दुईवटा काँचो सुनको विस्कुट फेला

बिजमाण्डू
२०७१ चैत्र १५ गते ००:०० | Mar 29, 2015
एमालेबाट राखेप उपाध्यक्ष बनाइएका टेन्डी सुन तस्करीमा पक्राउ, दुईवटा काँचो सुनको विस्कुट फेला

Tata
GBIME
Nepal Life

काठमाडौं । विवादित विद्यार्थी नेता तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष टेन्डी शेर्पा सुन तस्करीको आरोपमा पक्राउ परेका छन्।

हिजो राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई प्रहरीले पक्रेको हो। नेपाल बास्केटबल संघका अध्यक्षसमेत रहेका उनलाई नेपाल प्रहरीले राजश्व अनुसन्धान विभागलाई बुझाउँदैछ।

नेकपा एमालेको सिफारिसमा मन्त्रिपरिषदले उनलाई राखेपको उपाध्यक्ष बनाएको थियो। विमानस्थलस्रोतका अनुसार ५५ तोला सुन उनी आफैँले बोकेर ल्याएका थिए।

दुई वटा काँचो सुनको विस्कुट र अरु गहना उनीसँग वरामद भएको छ।  तर प्रहरी स्रोतले भने २५ तोला सुन वरामद भएको जानकारी दिएको छ।

राजनीतिक दलसँग आवद्धता रहेका कारण प्रहरीले औपचारिक रुपमा मुख खोलेको छैन। उनी हङ्कङ हुँदै राति १०:३० मा ड्र्यागन एयरबाट नेपाल ओर्लिएका थिए।

सुन कहाँबाट ल्याइएको हो खुलेको छैन। विदेशबाट आउनेले ५ तोला गहना ल्याउन पाएपनि काँचो सुन ल्याउन पाउँदैन। स्थलमार्गबाट आउने सुन समातिएको भए पनि विमानस्थलबाट आउने सुन कमै समातिएकोमा आलोचना हुँदै आएको थियो।

त्यसैले प्रहरीलाई दवाव पर्दै आएको थियो।  टेन्डी एमालेका अध्यक्ष केपी ओली निकटका मानिन्छन्। टेन्डीलाई राखेपमा युवराज लामाको विरुद्ध परिचालन गर्न एमालेले परिचालन गरेको थियो। लामा एमाओवादीबाट सिफारिस भएर राखेप अध्यक्ष भएका हुन्।

 टेन्डी नेपालको प्रहरीका लागि नयाँ नाम भने होइन। विद्यार्थी राजनीतिदेखि चर्चामा रहने उनलाई पटक पटक प्रहरीले पक्राउ गर्दै छाड्दै आएको छ।