नेपाल उद्योग वाणिज्य महासंघ सर्वसम्मत अध्यक्ष बनाउन पहल, चैत २७ र २८मा साधारणसभा

बिजमाण्डू
२०७१ चैत्र १५ गते ००:०० | Mar 29, 2015
नेपाल उद्योग वाणिज्य महासंघ सर्वसम्मत अध्यक्ष बनाउन पहल, चैत २७ र २८मा साधारणसभा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सबैलाई मान्य हुने सर्वसम्मत अध्यक्ष ल्याउन पहल सुरु भएको छ । महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे पक्राउ परेपछि चरम गुटबन्दी रोकेर महासंघलाई अघि बढाउन सर्वसम्मत अध्यक्ष ल्याउन पहल सुरु भएको हो ।

Tata
GBIME
Nepal Life

महासंघका पूर्व अध्यक्षहरुले संस्था बचाउन सर्वसम्मत अध्यक्ष चयनको पहललाई अघि बढाएको स्रोतले बतायो । पूर्व अध्यक्षहरुको भेला आइतबार(आज) साँझ बसेर महासंघको निर्वाचन छिटो भन्दा छिटो गरेर सर्वसम्मत अध्यक्ष ल्याउने बारे छलफल गर्ने स्रोतले बतायो ।

‘महासंघको विधान अनुसार चल्नुपर्छ । पाण्डे पक्राउ भएपछि पद रिक्त भइसकेको अवस्था छ,’ स्रोतले भन्यो, ‘अध्यक्ष रिक्त हुँदा गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेर कार्यसमितिको बैठक बस्नेछ । त्यही वैठकले कार्यवाहक तोक्ने र निर्वाचनको घोषणा गर्नेछ ।’ स्रोतका अनुसार निर्वाचनको प्रक्रिया जतिसक्दो चाँडो घोषणा हुनेछ ।

‘निर्वाचन प्रक्रियालाई लामो बनाएर भ्याकुम बनाउनु उपयुक्त हुँदैन,’ स्रोतले भन्यो, ‘लम्ब्याएर राखेर संस्थामा खेल्ने धेरै हुन्छन् ।’ पाण्डे पक्राउपछि पुरानो मुद्वालाई ब्यूताएको भन्दै पाण्डे समूह र  पाण्डे विरोधी दुई चिरामा विभाजित छन् । महासंघको ४८औं साधरणसभामा उम्मेदवार बनेका पाण्डे र भाष्करराज राजकर्णिकार समूह प्यानल अहिले चरमउत्कर्षमा छ । पूरानो मुद्वामा पाण्डे पक्राउ परेपछि राजकर्णिकार समूहसँग रहेका पदाधिकारीको मुद्वाको खोजी हुन थालेको स्रोतले बतायो ।

‘महासंघभित्रको इगो यतिधेरै फैलिएको छ यसलाई बेलैमा नरोके सबै उद्योगीलाई  सक्नेछ,’ महासंघका एक पदाधिकारीले भने, ‘त्यसैले मध्यममार्गी विकल्प खोजेका हौ ।’स्रोतका अनुसार पूर्व अध्यक्षहरुले अहिलेको पदाधिकारी र पूर्व अध्यक्षलाई भावी नेतृत्वमा नल्याउने भद्र सहमति गरेका छन् ।

‘अहिलेको नेतृत्वमा अत्यन्तै इम्याच्योर छ । अहिलेका पदाधिकारीले नेतृत्व गर्न सक्दैन,’ स्रोतले भन्यो, ‘सबैलाई मान्य हुने र महासंघको ओजलाई सुहाउँदो व्यक्तिलाई अध्यक्षमा ल्याइनेछ ।’ महासंघका अध्यक्ष पाण्डे ३० वर्ष पुरानो मुद्वामा पक्राउ परेका थिए । महासंघको विधानमा फौजदारी अभियोग प्रमाणित भए अध्यक्ष स्वतः खाली हुने प्रावधान छ । अध्यक्ष पद खाली भएमा वरिष्ठ उपाध्यक्षले कार्यवाहक पाउने र ६ महिनाभित्रै अध्यक्षको निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

साधारणसभा हुने
महासंघको साधारणसभा तोकिएकै समयमा गरिने भएको छ ।  महासंघको ४९औं साधरणसभा चैत २७ र २८ गते काठमाडौंमा हुँदैछ ।

‘प्रक्रियामा अघि बढेकोले साधारणसभा तोकिएकै मितिमा गर्नुपर्ने निष्र्कषमा हामी पुगेका छौ,’ महासंघका एक पदाधिकारीले भने, ‘साधारणसभा सार्दा पनि वाहिर राम्रो सन्देश जाँदैन ।’