माइक्रो ब्रुअरीको अवधारणामा ठुला बियर उत्पादकको विरोध, सरकारी निकायबीच पनि समन्वय छैन

बिजमाण्डू
२०७१ चैत्र १६ गते ००:०० | Mar 30, 2015
माइक्रो ब्रुअरीको अवधारणामा ठुला बियर उत्पादकको विरोध, सरकारी निकायबीच पनि समन्वय छैन
सविन मिश्र/बिजमाण्डू
काठमाडौं । बियर उत्पादकको विरोधपछि सरकारले ल्याउन लागेको माइको ब्रुअरी अवधारणा त्यसै थन्किएको छ ।  सरकारले दुई पटकसम्म औद्योगिक प्रवर्द्धन बोर्डको बैठकमा माइक्रो ब्रुअरी संचालन गर्न दिने प्रस्ताव लगेपनि निजी कम्पनीको चर्को विरोध र सरकारी निकायबीच नै समन्वय नहुँदा प्रस्ताव त्यसै थन्किएको हो ।

Tata
GBIME
Nepal Life

'हामीले दुई पटक औद्योगिक प्रबर्द्धन बोर्डको बैठकमा यो एजेण्डा प्रवेश गरायौं,' उद्योग मन्त्रालय उच्च स्रोतले भन्यो, 'निजी क्षेत्रका कम्पनी र सरकारी निकायकै समन्वय हुन सकेन ।' स्रोतका अनुसार नेपाल भित्रका ठुला बियर उत्पादकहरुले सरकारी अवधारणाको विरोध गरेका थिए ।

उद्योग विभागले एकसय सट क्षमता भन्दा माथि सिट क्षमताका रेष्टुरेन्टलाई आफैंले बियर उत्पादन गरी आफ्ना ग्राहकलाई मात्रै बेच्न सक्ने गरी बियर उत्पादनको अनुमति दिने तयारी अनुसार माइक्रो ब्रुअरीको अवधारणा अगाडि सारेको थियो ।

बोर्डको बैठकमा नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा युवराज खतिवडाले पनि माइक्रो ब्रुअरी संचालन गर्न दिने विषयमा फरक मत राखेका थिए । उद्योग विभागमा विवाद बढेपछि सरकारले माइक्रो ब्रुअरी संचालन सम्बन्धि मापदण्ड नै तयार हुन सकेको छैन ।

औद्योगिक प्रवर्द्धन बोर्डमा दुई पटकसम्म निर्णय नभएपछि उद्योग मन्त्रालयले थप अध्ययन गरी फाइल अगाडि बढाउन विभागलाई निर्देशन दिएको छ । 'विभागले अध्ययन गरी फाइल अगाडि बढाउने छ,' मन्त्रालय स्रोतले भन्यो, 'हामीले यसको कन्सेप्टबारे सबैलाई बुझाउन नसक्दा पनि केही समस्या देखिएको छ ।'

यसअघि उद्योगमन्त्री महेश बस्नेतले नेपालका ठुला र विदेशी चेन रेष्टुरेन्टलाई आफ्ना ग्राहकलाई मात्रै बेच्न दिने गरी माइक्रो ब्रुअरीको अवधारणा अगाडि बढाएको बताएका थिए ।

उद्योग मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा एक खर्ब ९१ अर्ब रुपैयाँको मदिरा आयात भएको भन्दै त्यसलाई प्रतिस्थापन गर्न पनि माइक्रो ब्रुअरीको अवधारणा अगाडि सार्नुपर्ने बताउँदै आएको छ ।

उद्योग मन्त्रालयले यसअघि नै सहसचिव ऋषिप्रसाद कोइरालाको संयोजकत्वमा माइक्रो ब्रुअरी सम्बन्धि अध्ययन प्रतिवेदन तयार गर्न समिति गठन गरेको थियो । यो समितिले विदेशका अभ्याससमेत अध्ययन गरी माइक्रो ब्रुअरी संचालन गर्न दिन सकिने सुझाव दिएको थियो ।

के हो माइक्रो ब्रुअरी ?
माइक्रो ब्रुअरी अर्थात क्राफ्ट ब्रुअरी जसले थोरै परिमाणमा बियर उत्पादन गर्छ । निश्चित क्षमताका होटल वा रेष्टुरेन्टले आफ्नै स्वामित्वमा बियर उत्पादन गरी आफ्ना ग्राहकलाई मात्रै बेच्ने अनुमति लिन्छन् । यस्ता माइक्रो ब्रुअरीलाई गुणस्तर, स्वाद र उत्पादन गर्ने प्रविधिका आधारमा वर्गिकरण गर्न सकिन्छ ।

संसारमा माइक्रो ब्रुअरीको सुरुवात सन् १९७० को दशकमा बेलायतबाट सुरु भएको मानिन्छ । पछि यो संसारका विभिन्न मुलुकमा फैलिइसकेको छ । संसारकै पहिलो माइक्रो ब्रुअरी मेट्यागले संचालन गरेको मानिन्छ । अहिले अष्ट्रेलिया, अमेरिका, फ्रान्सलगायतका देशले माइक्रो ब्रुअरी संचालन गरिरहेका छन् ।  

यी देशहरुमा संचालित माइक्रो ब्रुअरीले थोरै स्केलमा मदिरा उत्पादन गर्छन् र आफ्ना ग्राहकलाई मात्रै बेच्ने गर्दछन् । यसरी उत्पादन हुने बियर आधारभूत स्वास्थ्यको मापदण्ड पुरा गरेको हुनुपर्नेछ । यी देशहरुले बियर उत्पादनमा प्रयोग गर्ने सामग्रीहरु आम बियर उत्पादकले प्रयोग गरे अनुसारकै हुनुपर्छ ।

कसरी ल्याइँदैछ नेपाल ?
सरकारले नेपालका पनि विभिन्न चेन तथा स्थानीय रेष्टुरेन्टलाई बियर उत्पादन तथा बेचबिखन गर्न दिनेगरी माइक्रो ब्रुअरीको अवधारणा अगाडि सारिएको हो । उद्योग विभागले रेष्टुरेन्टहरुलाई आवश्यक बियर उत्पादन तथा बेचबिखनको अनुमति दिने गरी यसको कार्यविधि तयार गरेको स्रोतले जनाएको छ ।

उद्योग मन्त्रालयका अनुसार नेपालमा उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने उद्देश्यले पनि यो अवधारणा अगाडि सारिएको हो ।

यो पनि पढ्नुहोस् : माइक्रो ब्रुअरीको अवधारणा ल्याउँदै सरकार, रेष्टुरेन्टलाई नै बियर उत्पादन गर्न अनुमती दिंदै