तामाकोशीमा १८ अर्ब १३ करोड रुपैयाँको सेयर किन्न आवेदन, एक लाख १७ हजार सञ्चयकर्ता सहभागि

बिजमाण्डू
२०७१ चैत्र १६ गते ००:०० | Mar 30, 2015
तामाकोशीमा १८ अर्ब १३ करोड रुपैयाँको सेयर किन्न आवेदन, एक लाख १७ हजार सञ्चयकर्ता सहभागि

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयरका लागि जम्मा १८ अर्ब १३ करोड रुपैयाँको आवेदन परेको छ । कर्मचारी सञ्चयकोषका बचत कर्ता, ऋण लगानी गर्ने सस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीका लागि छुट्याइएको दुई अर्ब ५५ करोड रुपैयाँको सेयरका लागि यो आवेदन परेको हो ।

Tata
GBIME
Nepal Life

यो आयोजनाको सेयरका लागि चैत १५ गतेसम्म आवेदन खुला गरिएको थियो । सोमबारसम्म केही पहाडी जिल्ला बाहेक अन्य स्थानबाट तथ्यांक संकलन भइसेकेको कारण निकै ठूलो रकम थप नहुने जानकारी विक्री प्रवन्धक नागरिक लगानी कोषका अधिकारीले दिएका छन् ।

‘सोमबार कार्यालय समयसम्म १८ अर्ब १३ करोड २६ लाख रुपैयाँको सेयर माग भएको तथ्यांक संकलन भएको छ’, कोषका मुख्य व्यवस्थापक तथा प्रवक्ता सुशील अर्यालले बिजमाण्डूसँग भने ।

कर्मचारी सञ्चयकोषमा रकम बचत गर्ने थोरै सञ्चयकर्ताले मात्रै सेयर किन्न आवेदन दिएका छन् । कोषमा रकम जम्मा गर्ने चार लाख २९ हजार कर्मचारीले सेयर किन्न आवेदन दिन पाउने भएपनि जम्मा एक लाख १७ हजार ६ सय कर्मचारीले मात्रै आवेदन दिएका छन् । दुर्गम केही पहाडी जिल्लाबाट तथ्यांक संकलन हुन बाँकी रहेकोले यसमा केही सय मात्रै आवेदक बढ्ने जानकारी प्रवक्ता अर्यालले दिएका छन् । सञ्चयकर्ताले जम्मा १६ अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर मागेका छन् ।

त्यस्तै माथिल्लो तामाकोशी कम्पनी र नेपाल विद्युत प्राधिकरणका नौ हजार नौ सय ६३ कर्मचारीले ८३ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किन्न आवेदन दिएका छन् । ४० लाख ६६ हजार पाँच सय ६० कित्ता सेयर निश्कासन गरिएको हो ।

आयोजनामा ऋण लगानी गर्ने नेपाल टेलिकमका चार हजार ६ सय ३९ कर्मचारीले सेयर किन्न आवेदन दिएका छन् । यो सस्थाका कर्मचारीले नौ करोड दुई रुपैयाँ बराबरको सेयर किन्न आवेदन दिएका छन् ।

राष्ट्रिय बीमा सस्थानका एक सय ९२ कर्मचारीले तीन करोड पाँच लाख रुपैयाँ बराबरको सेयर माग्दै आवेदन दिएको कोषका प्रवक्ता अर्यालले जनाएका छन् । सस्थानका कर्मचारीलाई तीन लाख चार हजार नौ सय ९२ कित्ता सेयर छुट्याइएको छ ।

नागरिक लगानी कोषका एक सय १७ कर्मचारीले तीन करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किन्न आवेदन दिएका छन् । यो सस्थाका कर्मचारीका लागि तीन लाख चार हजार नौं सय ९२ कित्ता सेयर छुट्याइएको छ ।

ऋण लगानी अर्को सस्था सञ्चयकोषका चार सय ८० कर्मचारीले १५ करोड ३१ लाख रुपैयाँको सेयर किन्न आवेदन दिएका छन् । १५ लाख २४ लाख नौ सय ६० कित्ता सेयर छुट्याइएको छ ।

आयोजना प्रभावित दोलखाका स्थानीय वासिन्दाका लागि निश्कासन गर्न लागिएको सेयर भने हाल स्थगित गरिएको छ ।