२८ वर्षपछि नयाँ औद्योगिक क्षेत्र घोषणा हुँदै, बार्षिक बजेटमै उल्लेख गर्ने, ७० करोड खर्च गर्ने

बिजमाण्डू
२०७१ चैत्र १७ गते ००:०० | Mar 31, 2015
२८ वर्षपछि नयाँ औद्योगिक क्षेत्र घोषणा हुँदै, बार्षिक बजेटमै उल्लेख गर्ने, ७० करोड खर्च गर्ने

सविन मिश्र/बिजमाण्डू
काठमाडौं । सरकारले २८ वर्षपछि नयाँ औद्योगिक क्षेत्र घोषणाको तयारी गरेको छ । उद्योग मन्त्रालयले बजेटमा नै व्यवस्था गरेर देशका विभिन्न ६ ठाउँमा नयाँ औद्योगिक क्षेत्र घोषणाको तयारी गरेको हो ।

Tata
GBIME
Nepal Life

कञ्चनपुरको रैजी, सुर्खेत, दाङ, कपिलवस्तु, उदयपुर र कास्कीको लेखनाथमा औद्योगिक क्षेत्र घोषणाको तयारी भइरहेको उद्योगमन्त्री महेश बस्नेतले बिजमाण्डूलाई बताए । तीन स्थानमा आगामी आर्थिक वर्षमा औद्योगिक क्षेत्र बन्नेछन् । आर्थिक वर्ष २०७२/७३ को बजेट मै राखेर औद्योगिक क्षेत्र घोषणा गरिने छ ।

कञ्चनपुरको रैजी, सुर्खेत, दाङ, कपिलवस्तु, उदयपुर र कास्कीको लेखनाथमा औद्योगिक क्षेत्र घोषणाको तयारी भइरहेको उद्योगमन्त्री महेश बस्नेतले बिजमाण्डूलाई बताए । तीन स्थानमा आगामी आर्थिक वर्षमा औद्योगिक क्षेत्र बन्नेछन् ।

सरकारले विभिन्न जिल्लामा भएका सरकारी जग्गाकै प्रयोग गरी ‍औद्योगिक क्षेत्र बनाउन लागेको हो । भइरहेका जग्गा प्रयोग र नपुग्नेलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको मन्त्री बस्नेतले बताए ।

'लामो समयदेखिन नयाँ औद्योगिक क्षेत्रको घोषणा हुन सकेको थिएन,' मन्त्री बस्नेतले भने, 'आवश्यक पूर्वाधारसहित सरकारले नयाँ औद्योगिक क्षेत्र घोषणाको तयारी गरिरहेको छ ।' नयाँ औद्योगिक क्षेत्रको विकासलाई नयाँ बजेटमा प्राथमिकताका साथ राखिएको बस्नेतले जानकारी दिए ।

सरकारले औद्योगिक क्षेत्र प्रस्ताव तथा विस्तारमा ७० करोड रुपैयाँ खर्च गर्ने तयारी समेत गरेको छ । 'लामोसमयदेखि औद्योगिक क्षेत्र घोषणा नहुँदा औद्योगिक विकासले पनि गति लिन सकेन,' बस्नेतले भने, 'नयाँ वर्षमा यसलाई मन्त्रालयले प्राथमिकताका साथ अगाडि बढाउने छ ।'

सरकारले पछिल्लो पटक २०४४ सालमा राजविराज औद्योगिक क्षेत्र घोषणा गरेपछि देशमा नयाँ औद्योगिक क्षेत्र घोषणा हुन सकेको थिए । अहिले काठमाडौंको बालाजु, ललितपुरको पाटन, हेटौंडा, नेपालगञ्ज, धरान, पोखरा, बुटवल, भक्तपुर, सुर्खेत, धनकुटा र राजविराजमा औद्योगिक क्षेत्र छन् । पुराना औद्योगिक क्षेत्रले कूल पाँचहजार ६ सय ८० रोपनी क्षेत्रफल ओगटेका छन् ।

नयाँ औद्योगिक क्षेत्र घोषणा भएपछि देशका विभिन्न ठाउँमा ओद्योगिक विकासले नयाँ गति लिने विश्वास सरकारको छ ।

यस्तै सरकारले देशका विभिन्न ठाउँमा उद्योग मन्त्रालयका नाममा रहेका सरकारी जग्गा जमिन पनि औद्योगिक क्रियाकलापमा नै प्रयोगमा ल्याउने तयारी पनि गरेको छ । 'देशभर सरकारी जग्गा जमिन त्यसै खेर गइरहेका छन्, तिनीहरुलाई प्रयोगमा ल्याउने बारे पनि गृहकार्य भइरहेको छ,' बस्नेतले भने ।

सरकारले अहिले संचालनमा रहेका औद्योगिक क्षेत्रको व्यवस्थापनसँगै नयाँ औद्योगिक क्षेत्रको घोषणा पनस गर्न लागेको हो । त्यसका लागि उद्योग मन्त्रालयले बजेट माग गरिसकेको छ ।

देशका विभिन्न स्थानमा रहेका औद्योगिक क्षेत्रमा पाँचसय वटा भन्दा धेरै उद्योग छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार सबैभन्दा बढी उद्योग काठमाडौंको बालाजु औद्योगिक क्षेत्र र ललितपुरको पाटन औद्योगिक क्षेत्रमा छन् । बालाजुमा एकसय दुई र पाटनमा एकसय एकवटा उद्योग संचालनमा रहेको लिमिटेडले जनाएको छ ।

यस्तै हेटौंडा औद्योगिक क्षेत्रमा ७३ वटा उद्योग सञ्चालनमा छन भने नेपालगञ्जमा २८ वटा, धरानमा २६ वटा, पोखरामा ६५ वटा, बुटवलमा ६३ वटा, भक्तपुरमा २८ वटा, सुर्खेतमा १९ वटा र राजविराजमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा चारवटा उद्योग सञ्चालनमा छन् ।

सरकारले नयाँ औद्योगिक क्षेत्र घोषणा नगर्दा उद्योगी व्यवसायीले भने औद्योगिक वातावरण बन्न नसकेको बताउँदै आएका थिए ।