फेवातालदेखि शान्ति स्तुपासम्म केवलकार निर्माणको डीपीआर सम्झौंता, १ अर्ब ३० करोड लागत

बिजमाण्डू
२०७१ चैत्र १७ गते ००:०० | Mar 31, 2015
फेवातालदेखि शान्ति स्तुपासम्म केवलकार निर्माणको डीपीआर सम्झौंता, १ अर्ब ३० करोड लागत

काठमाडौं । पोखराको फेवातालदेखि शान्ति स्तुपासम्म केवलकार निर्माण गर्न विस्तृत सम्भाब्यता अध्ययन(डीपीआर)का लागि सम्झौंता भएको छ ।

भौतिक पूर्वाधार तथा निर्माण यातायात मन्त्रालय र केवुलकार निर्माणको जिम्मेवारी पाएको कम्पनीका तर्फबाट मनकामना दर्शन प्रालिवीच मंगलबार सम्झौंता भएको हो । केवुलकार निर्माणको जिम्मा मनकामना केवुलकार, चितवन कोई र अष्ट्रियाको डोपलमेयरले पाएको छ ।

Tata
GBIME
Nepal Life

केवुलकारको डीपीआर अध्ययन सम्वन्धी सम्झौंतामा भौतिक मन्त्रालयका सहसचिव विष्णुओम वादे र कम्पनीका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले हस्ताक्षर गरे । कम्पनीले दुई महिनाभित्र विस्तृत सम्भाब्यता अध्ययनको प्रतिवेदन मन्त्रालयलाई बुझाउनुपर्नेछ ।

‘सर्वोच्च अदालतले केवुलकार निर्माण प्रक्रिया रोक्ने रिट खारेज गरेपछि वाटो खुलेको थियो । अब यो सम्झौंताले केवुलकार निर्माणलाई थप अघि बढाएको छ,’ संचालक श्रेष्ठले मंगलबार बिजमान्डूसँग भने, ‘हामी दुई महिनाभित्रै अध्ययन प्रतिवेदन बुझाउने प्रयास गर्नेछौ ।’

उनका अनुसार मनकामना केवुलकारपछि पोखराको पर्यटन प्रवद्र्धनको लागि कोशेढुंगा सावित हुनेछ । कम्पनीले पोखराको पर्यटकीय स्थल फेवातालदेखि पुम्दीभुम्दीको अनुदुडाँडा रहेको शान्ति स्तुपासम्म केवुलकार निर्माण गर्नेछ । श्रेष्ठले डीपीआर प्रतिवेदनका आधारमा नेगोसिएसन र कन्सेसन एग्रीमेन्ट हुने जानकारी दिए ।

‘डीपीआर प्रतिवेदनका आधारमा यो दुई सम्झौंता हुनेछ । सम्झौंता भएको दुई वर्षभित्रै केवुलकार निर्माण हुनेछ,’ उनले भने । कम्पनीले सार्वजनिक –निजी साझेदारी र निर्माण, संचालन र हस्तान्तरण अवधारणामा केवुलकार निर्माण गर्न लागेको हो । बुट अवधारणा अनुसार २२ वर्षसम्म कम्पनीले केवुलकार संचालन गरेर हस्तान्तरण गर्नुपर्नेछ ।

 ऐनमा अर्को पाँच वर्षसम्म थप्ने प्रावधान भने रहेको छ । कम्पनीले केवुलकार नजिकै वाटर पार्क र अमेजन पार्क बनाउनेछ ।

 केवुलकार नजिकै होटल लगायतका पूर्वाधार भने हुनेछैन । चितवन कोईले एक वर्ष मुद्वाको अवरोध झेल्नुपरेको थियो । केवुलकारको दुरी १ किलोमिटर ३ सय मिटर हुनेछ । दुई वर्षअघि भएको सम्भाब्यता अध्ययनमा १ अर्ब ३० करोड लाग्ने देखिएको थियो ।

पोखरा आन्तरिक र वाह्य पर्यटकको प्रमुख गन्तब्य भएकोले केवुलकार आर्थिक रुपमा सम्भव हुने उनले बताए । पोखरामा वाह्रै महिना पर्यटकको आगमन राम्रो हुने गर्छ । केवलकारबाट पोखराका तालको रमणीय दृश्य, हिमाल र हरिया फाँटहरुको अवलोकन गर्न पाउनेछन् ।