डेढ सातापछि सेयर बजार उकालो लाग्यो, नेप्से ६.६४ प्रतिशतले बृद्धि, साढे १६ करोड रुपैयाँको कारोबार

बिजमाण्डू
२०७१ चैत्र १७ गते ००:०० | Mar 31, 2015
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा नोक्शानी व्यवस्थापन नीतिमा संशोधन गर्ने हल्लाले सेयर बजार १० दिनपछि मंगलबार बढेको छ । बजार बृद्धिसँगै कारोबार रकममा पनि सुधार आएको छ । 
 
राष्ट्र बैंकले दुई साताअघि कर्जा लगानीलाई पाँच भागमा वर्गीकरण गर्दै ऋण नउठेको भोली पल्टै पाँच प्रतिशत नोक्शानी व्यवस्थापन गर्नु पर्ने व्यवस्था गरेको थियो । नोक्शानी व्यवस्थापनले बैंकहरुको नाफा उल्लेख्य घट्ने भन्दै सेयर लगानीकर्ता डराएका थिए ।
 
नयाँ गभर्नरले बैंकर तथा व्यवसायीको आग्रहमा पाँच प्रतिशत नोक्शानी व्यवस्थापन गर्नु पर्ने नीतिलाई पुनर्विचार गर्ने हल्लाका कारण सेयर बजारमा सुधार आएको छ ।
 
बजार ६.६४ अंकले बढेर ९४५.७४ अंकमा उक्लिएको हो । दिनभरीमा १२७ कम्पनीका १६ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । दिनभरीमा पाँच लाख ४१ हजार ८६८ कित्ता सेयर किनबेच भएको छ ।
 
सबै सुचकहरु उकालो लागेका छन् । बैंकिङ ५.९७ अंक, होटल ४१.५ अंक, विकास बैंक ११.२१ अंक, जलवद्युत् २८.४९ अंक, फाइनान्स ०.४४ अंक र बिमा १४.३३ अंकले बढेको छ । अन्य सुचक स्थिर रहेको छ ।
 
दिनभरीमा सनराइज बैंकको एक करोड ८३ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । नबिल बैंकको पनि ९० लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । नेपाल लाइफको एक करोड १९ लाख रुपैयाँको साधारण सेयर बिक्री भएको छ ।
 
ओरेन्टल होटल, डिप्रोक्स डेभलपमेन्ट, सुभेच्छा विकास, हामा मर्चेन्टका लगानीकर्ताले कमाएका छन् । गुमाउनेमा सनराइजका संस्थापक सेयरधनी, ओम फाइनान्स, कर्णाली डेभलपमेन्ट, साङ्ग्रिला डेभलपमेन्ट लगायतका सेयरधनी छन् । 

Tata
GBIME
Nepal Life