तिलगंगा आँखा प्रतिष्ठानलाई स्ट्याण्डर्ड चार्टड बैंकको ५५ लाख, भक्तपुर र नुवाकोटमा खर्च गरिने

बिजमाण्डू
२०७१ चैत्र १७ गते ००:०० | Mar 31, 2015
तिलगंगा आँखा प्रतिष्ठानलाई स्ट्याण्डर्ड चार्टड बैंकको ५५ लाख, भक्तपुर र नुवाकोटमा खर्च गरिने


काठमाडौं । स्ट्याण्डर्ड चार्टड बैंकले तिलगंगा आँखा अस्पताल सञ्चालन गर्ने तिलगंगा आँखा प्रतिष्ठानलाई ५५ लाख रुपैयाँ हस्तान्त्रण गरेको छ । प्रतिष्ठानको महत्वपूर्ण विस्तारमा सहयोग गर्ने गरी (दश लाख डलर) दश करोड रुपैयाँ प्रदान गर्ने यसअघिको सम्झौता बमोजिम बैंकले ५५ लाख रुपैयाँ उपलब्ध गराएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुसले प्रतिष्ठानका परियोजना व्यवस्थापक नविन राईलाई सहयोग हस्तान्त्रण गरेका हुन् ।
बैंकले प्रदान गर्ने यो सहयोग अन्धोपन हटाउन तथा ग्रामिण र शहरोन्मुख क्षेत्रमा सर्जिकल सेवा उपलब्ध गराउन खर्च गर्ने योजना छ । बैंकले प्रदान गर्ने सहयोग मुख्य गरी दुई जिल्लामा आँखा उपचार सेवा विस्तारमा खर्च हुने बैंकले जारी प्रेस विज्ञप्तिमा छ ।
सहयोगबाट भक्तपुर कम्युनिटी आँखा केन्द्रलाई स्तरोन्नती गरी दोस्रो तहको आँखा केन्द्र तथा नुवाकोटको आँखा केन्द्रमा सर्जिकल सेवा विस्तार गरिने पनि बैंकले जानकारी दिएको छ ।
परियोजनाले ७५०  जना प्राथमिक तहका शिक्षकलाई आँखाको सुरक्षा सम्वन्धि तालिम उपलब्ध गराउने, तीन हजार ८१० वटा चस्मा वितरण गर्ने तथा आवश्यक व्याक्तिलाई अनुदानमा कन्ट्रयाक्ट सर्जरी सेवा दिनेछ ।
सिईओ सिल्भानुसले तिलगंगासँग साझेदारी गर्न पाएकोमा आफूलाई गर्व महसुस भैरहेको बताए । उनले ५५ लाखको सहयोग ‘देख्नु नै विश्वास गर्नु हो’ भन्ने परियोजनाको एउटा हिस्सा भएको  बताए ।
बैंकले यस अघि नै विराटनगर आँखा अस्पतालाका लागि यही परियोजना अन्र्तगत दश लाख डलर सहयोग गरेको थियो ।
स्ट्याण्डर्ड चार्टड समूहले अन्धोपनबाट जोगाउने अन्तराष्ट्रिय एजेन्सि (आईएपिबि)सँग मिलेर ‘सिईङ इज बिलिभिङ’ परियोजना सञ्चालन गरिरहेको छ ।

Tata
GBIME
Nepal Life