विपतको समयमा बस्नको लागि आश्रयस्थल बनाउँदै सरकार, चार जिल्लामा सात आश्रयस्थल

बिजमाण्डू
२०७१ चैत्र १८ गते ००:०० | Apr 1, 2015
विपतको समयमा बस्नको लागि आश्रयस्थल बनाउँदै सरकार, चार जिल्लामा सात आश्रयस्थल
काठमाडौं । हिमाली पदयात्राको क्रममा आइपर्ने प्राकृतिक विपतको समयमा बस्नको लागि सरकारले आश्रयस्थल बनाउने भएको छ । गत साल आएको हुदहुद आँधीले हिमाली क्षेत्रको पदयात्रामा निस्केका पदयात्री तथा भरियाको मृत्यु भएपछि यस्तो आश्रयस्थल बनाउन लागिएको हो ।

Tata
GBIME
Nepal Life

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको योजना महाशाखाका सहसचिव तथा प्रवक्ता मोहनकृष्ण सापकोटाका अनुसार प्राकृतिक विपतको बेला आकस्मिक बास बस्न मिलोस भनेर यस्ता स्थलहरु बनाउन लागिएको हो । उनले भने, ‘गत भदौ अन्तिम साता आएको आँधीमा ठाउँठाउँमा आश्रयस्थल बनाइएको भए धेरैको ज्यान जोगाउन सकिन्थ्यो ।’

सापकोटाका अनुसार यसको लागि सम्बन्धित क्षेत्रका जिल्ला विकास समितिलाई मन्त्रालयले पर्यटन विभाग मार्फत रकम निकासा गर्न लागेको छ । म्याग्दी, मनाङ, बाग्लुङ र मुस्ताङ जिविसलाई रकम निकासा गर्न लागिएको सापकोटाले जानकारी दिए ।

यस्तो आश्रयस्थल निर्माणको लागि प्रति आश्रयस्थल मन्त्रालयले २५ देखि ३० लाख रुपैयाँ छुट्याएको छ । सापकोटाले भने, ‘हामीले क्वालिटीको घरहरु बनोस् भनेर जिविसले मागेको हामीले रकम माग भन्दा अलि बढी नै रकम दिन लागेको छ ।’

मुस्ताङको दामोदर कुण्ड नजिकै एउटा, थोराङला पास नजिकै दुईवटा, र टुकुचे नजिकै रहेको हिडेन भ्यालीमा एउटा र मुस्ताङबाट डोल्पा जाने साङ्पा पासमा एउटा गरी मुस्ताङमा पाँचवटा आश्रयस्थल बनाउन लागिएको छ  ।

यसैगरी मनाङको नार र फुलाई समेट्नेगरी काङ्लामा एउटा आश्रयस्थल बनाउन लागिएको छ । म्याग्दीको धौलागिरीको बेसक्याम्प र बाग्लुङको ढोरपाटनमा एकएकवटा आश्रयस्थल बनाउन लागिएको सापकोटाले जानकारी दिए । उनले भने, ‘ट्वाइलेट सहितको आश्रयस्थल बनाइने छ । जहाँ हिमपात, आँधी लगायतको प्राकृतिक विपत्तीको समयमा ओत लाग्न सकिन्छ ।‘ 

यस्तो गृहमा एकैचोटी ५० देखि ६० जनासम्म अटाउन सक्नेछन् । यसको लागि जिविसलाई नै अख्तियारी दिनेगरी प्रक्रिया अघि बढेको सापकोटाले बताए । उनले भने, ‘उनीहरुले २५ लाख रुपैयाँ इस्टिमेट गरेर पठाएका छन् । हामी केही रकम बढाएर दिँदै छौँ ।’ जिविसले चिया पसल सहितको प्रस्ताव गरेको छ  । तर यी ठाउँमा चिया पसल खोल्न मानिसहरु नजाने भन्दै यो  प्रस्ताव मन्त्रालयले अस्विकार गरेको छ । सापकोटाले भने, ‘यस्तो विकट ठाउँमा गएर कल्ले टिहाउस चलाउने? चलाए पनि व्यापार हुनुपर्‍यो नि ! त्यसैले यो प्रस्ताव इन्कार गरेका छौँ ।’

यी आश्रयस्थल यही आर्थिक वर्ष भित्र बनाइसक्ने गरी जिविसलाई रकम निकासा गर्न लागेको सापकोटाले जानकारी दिए ।

गत अक्टोबरमा आएको हुदहुदले ३९ जना पदयात्री तथा पोटरको ज्यान लिएको थियो भने पाँचसय जनाभन्दा बढी प्रभावित भएका थिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना  (एक्याप)को तथ्याङ्क अनुसार यो रुटमा स्वदेशी तथा विदेशी गरेर अहिले वार्षिक एकदेखि सावा एकलाख पदयात्री भ्रमणमा निस्कने गर्छन् ।

यसैबीच एक्यापले अन्नपूर्ण फेरोको पदयात्रामा गएका पर्यटकलाई मौसमी जानकारी दिन मुस्ताङको मुक्तिनाथ र मनाङको माथिल्लो मनाङ गाउँमा ‘चेकपोष्ट’ स्थापना गरेको छ।