सिचुवान एयरलाइन्सले नेपाल उडान सुरु गर्‍यो, दैनिक १ उडान,दुईतर्फी भाडा करिव ५९ हजार रुपैयाँ

बिजमाण्डू
२०७१ चैत्र १८ गते ००:०० | Apr 1, 2015
काठमाडौं । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले बुधबारदेखि नेपाल उडान सुरु गरेको छ  । बिहान १० बजेर १० मिनेटमा काठमाडौं अवतरण गर्न अनुमति पाएपनि राष्ट्रपति रामवरण यादवको आगमनले झण्डै तीनघण्टा ढिलो अवतरण गरेको थियो ।

सिचुवान स्थानीय समयअनुसार छेङ्दुबाट साढे सातबजे उडेको थियो । करिव एकघण्टा ल्हासा आएर रोकिएको थियो । सिचुवानको लागि नेपालको जनरल सेल्स एजेन्ट (जिएसए) सोसाइटी ट्राभल्सका अध्यक्ष रविचन्द्र सिंहका अनुसार छेङ्दु-ल्हासा-काठमाडौं उडानमा शतप्रतिशत टिकट बिक्री भएको थियो। उनले भने, ‘एकसय ३३ सिट क्षमतको यो जहाजमा पुरै सिट यात्रुले भरिएको थियो । जसले हामी उत्साहित भएका छौँ ।’

Tata
GBIME
Nepal Life

यसैगरी काठमाडौं-ल्हासा-छेङ्दु उडानमा ९४ जना यात्रु लिएर उडेको थयो । उनले भने, ‘कुल सिट क्षमताको ७० प्रतिशत यात्रु काठमाडौंबाट ल्हासा हुँदै छेङ्दु उडेका छन् ।’

हिमाली दृष्यावलोकनको आकर्षण सहित उडान गर्ने एयर चाइनापछि हिमाली रुटमा उडान गर्ने सिचुवान दोस्रो एयरलाइन्स बनेको छ । 'ट्रान्स हिमालयन रुट' मा काठमाडौंबाट ल्हासा जाँदा बायाँपट्टि सगरमाथालाई पारेर यात्रुहरुले मनोरम दृश्य अवलोकन गर्दै उड्न पाउँछन् ।

सिचुवानले दैनिक ए ३१९ सिरिजको एयरबस मार्फत पश्चिम चीनको गेटवे शहर छेङ्दुबाट तिब्बतको राजधानी ल्हासा हुँदै काठमाडौँ उडान गर्ने छ ।

सिचुवानले आफ्नो वेभसाइटमा हाललाई छेङ्दु–काठमाडौँ दुईतर्फी भाडा तीन हजार पाँच सय युयान (करिब ५९ हजार रुपैयाँ) र एकतर्फी भाडा कर बाहेक एक हजार सात सय युयान (करिब २८ हजार पाँचसय रुपैयाँ) तोकेको छ।

उक्त एयरलाइन्सले चैत १३ गते परीक्षण उडान समेत गरेको थियो ।

यो रुटमा सिचुवानले दैनिक एउटा उडान गर्ने गरी मन्त्रालयबाट अनुमति पाएको छ । नेपालमा चीनबाट आउने यात्रुहरुको संख्या बढ्न थालेपछि नेपाल राम्रो उडान गन्तव्य हुने बताउँदै सिचुवानले काठमाडौंलाई नयाँ अन्तर्राष्ट्रिय उडान गन्तव्यको रुपमा रोजेको ट्राभलका अध्यक्ष सिंहले बताए ।

उनले भने, ‘चिनियाँ पर्यटकहरु बढ्दै  छन् । अहिले सिट पाइरहेका छैनन् । सिचुवान उड्न थालेपछि झन् पर्यटक बढ्नेमा विश्वस्त छौँ ।’ उनले छेङ्दु विकाशोन्मुख सहर बन्दै गएकोले पनि सिचुवानले राम्रो बजार पाउने बताए ।