वायुसेवा निगमको दोस्रो एयरबसको नाम लुम्बिनी राखियो, बैशाख १७ गते काठमाडौं आइपुग्ने

बिजमाण्डू
२०७१ चैत्र ३० गते ००:०० | Apr 13, 2015
वायुसेवा निगमको दोस्रो एयरबसको नाम लुम्बिनी राखियो, बैशाख १७ गते काठमाडौं आइपुग्ने


काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको दोस्रो एयरबस ‘ए’ ३२०–२०० न्यारो बडी बैशाख १७ भित्रने भएको छ ।

Tata
GBIME
Nepal Life

एयरबसले आगामी  बैशाख १५ गते (अप्रिल २८ तारिख) दोस्रो जहाज हस्तान्तरण गर्नेछ । निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरी शर्माका अनुसार हस्तान्तरण भएको दुई दिनपछि एयरबस नेपाल आइपुग्छ ।
 

लुम्बिनी नाम दिइएको यो एयरबसको अहिले अनुमानित कलसाइन एक्स राखिएको छ । शर्माले भने, ‘हामीले अघिल्लो एयरबसरको डब्लु राखेका थियौ । अहिले एक्स प्रस्ताव गरेका छौँ । त्यसपछि 9N-AKX हुनेछ । तर उडान सञ्चालन अनुमति (एओसी) पाएपछि मात्रै यसको कलसाइन फाइनल हुन्छ ।’
 
एओसी पाएलगत्तै निगमले भारतका थप दुई गन्तव्यमा उडान भर्ने भएको छ । तीनवर्षपछि फागुन १५ यता निगमले नियमित काठमाडौं–दिल्ली उडान गरिरहेको छ । एयरबस आएपछि उसले बैंगलोर र मुम्बईमा उडान थप्नेछ । हाल जेट एयरवेज, एयर इन्डिया, इन्डिगो, स्पाइस जेट र भुटानको ड्रुक एयरले दिल्ली–काडमाडौं उडान भर्दै आएका छन् ।

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा एयरबस ‘ए’ ३२०–२०० र दुईवटा बोइङ–७५७ गरी ४ वटा जहाज हुनेछन् । यी जहाजमार्फत उसले नौँ गन्तव्यमा साप्ताहिक ४५ अन्तर्राष्ट्रिय उडान भर्नेछ । भारतका तीनसहित हङकङ, दोहा, बैंकक, दुबई, चीनको ग्वाङ्झाउ र क्वालालम्पुर उडान सुरु गर्नेछ ।

उनका अनुसार निगमले चारवटा जहाजबाट दिल्ली १०, मुम्बई तीन, बैंगलोर तीन, हङकङ तीन, बैंकक तीन, ग्वाङ्झाउ तीन, दुबई चार, दोहा चार, मलेसिया सातवटा साप्ताहिक उडान गर्ने योजना बनाएको छ।
 
अहिले दुबईमा साताका चारवटा उडान छन् । यसलाई सात पुर्‍याउने लक्ष्य रहेको उनले बताए । अहिले सातामा चारवटा उडान भइरहेको दोहामा पनि सातवटा उडान पुर्‍याउने तयारी निगमको छ ।
 
क्याप्टेनको अभावले तत्काल भनेजति उडान पुर्‍याउनु नसकिने शर्माले बताए । उनले भने, ‘हामीले सबै गन्तव्यमा हप्ताको ४५ उडान गर्ने भनेका हौँ । तर क्याप्टेनको समस्याले तत्काल त्यति उडान भर्न सक्दैनौँ ।

निगमले जहाज खरिदका लागि सञ्चय कोषसँग १० अर्ब रुपैयाँ ऋण लिएको थियो । नयाँ आउने जहाज पनि एकसय ५८ सिट क्षमताको हो । हाल निगमले अन्तर्राष्ट्रिय उडानका लागि एकसय ९० सिटका बोइङ–७५७ प्रयोग गर्दै आएको छ ।