आइएमई अटोमोटिभ्सले थाल्यो युएम मोटरसाइकलको विक्री, एक वर्षमा चार हजार मोटरसाइकल बेच्ने

बिजमाण्डू
२०७२ बैशाख २ गते ००:०० | Apr 15, 2015
आइएमई अटोमोटिभ्सले थाल्यो युएम मोटरसाइकलको विक्री, एक वर्षमा चार हजार मोटरसाइकल बेच्ने

Tata
GBIME
Nepal Life

काठमाडौं । आइएमई ग्रुप अन्तर्गतको आइएमई अटोमोटिभ्सले अमेरिकी मोटरसाइकल कम्पनी युएम ब्राण्डको आधिकारिक विक्री सुरु गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गरेर अमेरिकी उत्पादनको आधिकारिक विक्रेताका  रुपमा मोटरसाइकल विक्री सुरु गरेको जानकारी आइएमई अटोमोटिभ्सले दिएको छ ।

कार्यक्रममा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले सन् २००९ बाट अटोमोवाइल विजनेस सुरु गरेको समूहले मोटरसाइकलको विक्री सुरु गरेको भन्दै अब यो क्षेत्रमा पनि उत्कृष्ठ काम गर्ने बताए । अमेरिकी ब्राण्डसँग  काम गर्न पाउँदा आफूलाई निकै खुशी लागेको भन्दै ढकालले नेपालमा मोटरसाइकल पारखीका लागि उत्कृष्ठ बाइक आफूहरुले भित्र्याउने जानकारी दिए ।

यस्तै अमेरिकी कम्पनी युएमईका बिजनेश डेभलपमेन्ट डाइरेक्टर हुआन भिल्लागासले विश्वस्तरीय मोटरसाइकलहरु नेपाल भित्रिएको भन्दै यसले नेपाली ग्राहकको आवश्यकता पुरा गर्ने बताए । नेपालमा आइएमई समूहसँग साझेदारी गर्न पाउँदा आफूहरु सन्तुष्ट भएको उनले बताए ।

यस्तै युनाइटेड मोटर्स इन्डियाका डाइरेक्टर राजीव मिश्राले नेपाल दुई पांग्रे सवारी साधनका लागि ठुलो संभावना बोकेको बजार भएको बताए । उनले यस्तो बजारमा विस्वकै उत्कृष्ठ मोटरसाइकल भित्रिएको दावी पनि गरे ।

यस्तै आइएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटीले नेपाली बजारमा भर्खरै आएको यो मोटरसाइकल ग्राहकले खोजेजस्तै भएको बताए । उनले अहिले कम्पनीले काठमाडौंको गैह्रीधाराबाट सुरु गरेको मोटरसाइकलको व्यापार अब देशका ७६ ठाउँमा विस्तार गर्ने पनि जानकारी दिए ।

यस्तै आइएमई अटोमोटिभ्सले काठमाडौंको नाचघरमा विश्वस्तरीय एक्सक्लुसिभ शोरुम खोल्न लागेको पनि शिवाकोटीले जानकारी दिए । उनका अनुसार अहिले कम्पनीले १७ मोडलरका मोटरसाइकल नेपाली बजारमा ल्याउने बताए । ‘कतिपय मोडल आइसकेका छन्, कति अब आउँदै पनि छन्,’ उनले भने, ‘हामीले छिट्टै सबै मोडलका बाइक ल्याउनेछौं ।‘

शिवाकोटीले कम्पनीले एकसयदेखि तीनसय सिसीसम्मका मोटरसाइकल ल्याउने बताए । मोटरसाइकल र स्कुटर गरेर एकलाख ७२ हजारदेखि तीनलाख ८५ हजार नौसय ९९ रुपैयाँसम्म पर्ने उनले बताए । कम्पनीले अहिले नै तीव्र बजार विस्तार नगर्ने भन्दै शिवाकोटीले एक वर्षको अवधिमा तीनदेखि चारहजार वटा मोटरसाइकल ल्याउने बेच्ने बताए । उनले आफ्टर सेल्स सर्भिस  बलियो बनाउन आफूहले सबै सुविधा दिने पनि बताए ।
कम्पनीले भारतमा बनेका मोटरसाइकले नेपालमा ल्याएर बेच्नेछ ।

 हामी पोटेन्सियल मार्केटमा प्रवेश गर्‍यौं : भिल्लागास

नेपाली बजारमा  तपाईंहरु किन प्रवेश गर्नुभयो ?

नेपाल अटोमोवाइलका लागि संभाव्य बजार हो । नेपाल मात्रै होइन दक्षिण एसिया नै अटोमोवाइलमा धेरै संभावना बोकेको ठाउँ हो । हामीले अध्ययन गरेर नै नेपाल आएका छौं । हामी राम्रो गर्छौं भन्ने विश्वासले नै नेपाल आएका हौं ।



नेपालमा अरु कम्पनीले पनि ब्यापार गरिरहेका छन्, अरु र तपाईंबीच के फरक छ ?

सबै कम्‍पनीहरुले आफ्नो हिसाबले काम गरिरहेका छन् । हामी उपभोक्तालाई मोटरसाइकलमात्रै बेच्ने होइन त्यसपछिका सेवा पनि गुणस्तरीय दिन चाहन्छौं । मोटरसाइकल बेचेर मात्रै हुने होइन, विक्री पछिको सेवा पनि महत्वपूर्ण हुन्छ । त्यसका लागि हामी विश्वस्तरीय सेवा दिन चाहन्छौं ।



तपाईंसँग त्यस्तो के छ जुन चिज अरु ब्राण्डसँग छैन ?

हामी अरु भन्दा फरक हिसाबबाट अगाडि बढ्न चाहन्छौं । हामी उपभोक्तालाई गुणस्तरीय सेवा दिएर अगाडि बढ्नेछौं । हामी सुरक्षित र विश्वस्तरीय सामान मात्रै बनाउछौं । हाम्रा उत्पादनप्रति ग्राहकले कुनै गुनासो गर्नुपर्ने छैन । तपाईंहरुलाई थाहा नै छ हामी स्तरीय सेवाकै लागि प्रतिबद्ध छौं । हामीले स्तरीय सेवाका लागि नै आइएमई समूहसँग सहकार्य गरेका छौं ।