काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको लागि निशुल्क डिम्याट खाता सहितको सेयर सुविधा बचत खातासञ्चालनमा ल्याएको छ ।
यो सेयर सुविधा बचत खाता खोल्ने ग्राहकले निशुल्क रुपमा डिम्याट खाता पनि खोल्न पाउनेछन् । केही रकम बचत गर्ने र सेयरमा लगानी पनि गरेका ग्राहकलाई लक्षित गर्दै बैंकले यो नयाँ योजना सार्वजनिक गरेको हो ।

न्युनतम पाँच सय रुपैयाँमा ग्राहकले खाता खोल्न सक्ने र डिम्याट एकाउन्ट निशुल्क खोल्न पाउने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले बताए । लगानीकर्ताले डिम्याट एकाउन्ट खोलेपछि सस्थाहरुले दिने लाभांस र बोनस बैंकले नै संकलन गरिदिने जानकारी पनि उनले दिए । एनआईसी बैंक डिपी सदस्य पनि हो ।
सेयरधनी खाता खोल्ने ग्राहकले आफ्नो डिम्याट खातामा रहेको सेयर समेत घरमै बसेर हेर्न सक्नेछन् । ग्राहकलाई बैंकले युजर नेम र पासवर्ड उपलब्ध गराउने छ । सेयरधनी खाता भित्रै डिम्याट खाताको विवरण हेर्न सक्ने गरि बैंकले सफ्टवेयर निर्माण गरेको छ । डिम्याट खातामा एक दिन अघिको विवरण राखिने जानकारी पनि बैंकले दिएको छ ।
यो खाता खोल्ने ग्राहकले निशुल्क मोवाइल बैंकिङ, दैनिक मौज्दातमा ४.५ प्रतिसतका दरले व्याज, भिसा डेविट कार्डको शुल्कमा ५० प्रतिसत छुट, एक वर्षका लागि निःशुल्क अलर्ट सुविधा सहितको एसएमएस बैंकिङ्ग, १६ जुलाई २०१५ सम्म खाता खोल्ने ग्राहकहरुलाई एक सय रुपैयाँको रिचार्ज निःशुल्क दिने बैंकले जनाएको छ ।











