बैंकहरुमा नयाँ सिइओको खोजी सुरु, आवेदन माग्न थालियो, चार बैंक खाली, आधा दर्जन खाली हुँदै

बिजमाण्डू
२०७२ बैशाख ३ गते ००:०० | Apr 16, 2015
काठमाडौं । एक बाणिज्य बैंकले बिहीबार सार्वजनिक सुचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन माग गरेको छ । बैंकले आफ्नो नाम लुकाएर गरेको विज्ञापनमा अनुभवी र इच्छुकले तत्काल प्रमुख कार्यकारी अधिकृतमा आवेदन दिन माग गरेको हो ।
 
बैंक तथा वित्तीय संस्थाहरुले लामो समयदेखि कायम मुकायमबाटै व्यवस्थापन प्रमुखको कामकारवाही चलाएपछि राष्ट्र बैंकले पद रित्त रहेको तीन महिनाभित्र नियुक्त गर्नु पर्ने प्रावधान ल्याएको छ । राष्ट्र बैंकले नीतिगत रुपमै कस्न थालेपछि बैंकहरुले प्रमुख कार्यकारी अधिकृतको खोजी सुरु गरेका हुन् ।
 
लामो समयदेखि चार बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पद खाली छ । केही बैंकमा चाँडै प्रमुख कार्यकारी अधिकृत पद रिक्त हुँदैछ । 
 
लामो समयदेखि सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत छैनन् । सेञ्चुरी कमर्सियल बैंक पनि रिक्त छ । कुमारी बैंक, ग्रान्ड बैंक नेपाल पनि प्रमुख कार्यकारी अधिकृत विहिन छ । डेढ दर्जन विकास बैंक र फाइनान्स कम्पनीमा पनि अहिले प्रमुख कार्यकारी अधिकृत छैनन् । बिमा कम्पनीहरुमा त प्रमुख कार्यकारी अधिकृतको अभाव नै छ ।
 
राष्ट्र बैंकले तीन महिनाभित्र प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिसक्नु पर्ने नीति ल्याएपछि बैंक सञ्चालक समितिहरु यतिबेला प्रमुख कार्यकारी अधिकृत खोज्न धुँइधुँइति लागेका छन् । 
 
‘हामी प्रमुख कार्यकारी अधिकृत खोजिरहेका छौं,’ सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडलेले भने, ‘उपयुक्त समयपछि नियुक्त गर्ने छौं ।’ बैंकरहरुको अधिकांस जमघटमा उपस्थित हुने गरेका दुगडले बैंकरसँग ‘जोक’ पनि गर्छन्– बैंक जोत्ने गोरु (सिइओ) भेटिन्छ कि भनेर आएको ।
 
अहिले अन्य बैंकका सञ्चालकहरु पनि प्रमुख कार्यकारी अधिकृतको खोजीमा छन् । केही बैंकका प्रमुख कार्यकारीहरुले आफ्नो सञ्चालक समितिलाई अर्को सिइओ खोज्न आग्रह पनि गरिसकेका छन् ।
 
एनआइसी एसिया, नबिल, ग्लोबल आइएमइ, एनएमबी, मेगा बैंक पनि नयाँ सिइओको खोजीमा छन् । यि बैंकका प्रमुख कार्यकारीहरुको कार्यकाल सकिन लागेकाले सञ्चालक समिति नयाँ सिइओको खोजीमा छन् । मेगा बैंकले त केही दिन अगाडि डेपुटी सिइओका लागि आवेदन नै माग गरिसकेको छ । डेपुटीलाई पछि सिइओ दिनेगरी आवेदन माग गरिएको हो ।

Tata
GBIME
Nepal Life