एउटा यस्तो सिइओ जसले आफ्नो तलव ९० % ले घटाएर कर्मचारीको बढायो, दुई गुणासम्म तलब बृद्धि

बिजमाण्डू
२०७२ बैशाख ३ गते ००:०० | Apr 16, 2015
एउटा यस्तो सिइओ जसले आफ्नो तलव ९० % ले घटाएर कर्मचारीको बढायो, दुई गुणासम्म तलब बृद्धि
न्युयोर्क । आफ्नो कम्पनीको तल्लो तहका कर्मचारीहरुको तलव सुविधा बृद्धि गर्न एक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले आफ्नो तलवमा भारी कटौती गरेका छन् ।
 
सिइओ ड्यान प्राइसले आफ्नो तलव सुविधामा ९० प्रतिशत कटौति गरेका हुन् । नाफाबाट पनि उनले कर्मचारीको तलव सुविधामा खर्च बढाएका छन् ।
 
प्राइस, सिएटलस्थित प्रविधि सम्बन्धि कम्पनी पेमेन्ट प्रोसेसिङ फर्म ग्राविटी पेमेन्टका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी चाहन्छन्, आगामी तीन बर्षसम्म उनका प्रत्येक कर्मचारीले बर्षेनी ७० हजार डलर घर लिएर जाउन् । यो भनेको नेपाली ७० लाख रुपैयाँ हो ।
 
उनले एक अध्ययन प्रतिवेदन पढेपछि आफ्नो तलव कटौती गरेर कर्मचारीको बढाउने निर्णय गरेका हुन् । कर्मचारी खुसी भए संस्था अगाडि वढ्छ भन्ने अध्ययनको निचोड थियो ।
 
प्राइसको तलव सुविधा १० लाख डलर थियो, उनले यसलाई घटाएर ७० हजार डलरमा झारेका हुन् । कम्पनीको नाफा २० लाख डलर छ । उनले यसबाट पनि कर्मचारीलाई तलव सुविधा दिने निर्णय गरेका छन् ।
 
प्रमुख कार्यकारीको यो कदमपछि ३० कर्मचारीको तलव दुई गुणाले बढेको छ भने ४० कर्मचारीको तलव दुई गुणाको हाराहारीले बढेको छ । 
 
कम्पनीले गएको सोमबार नयाँ तलब सुविधा नीति कार्यान्वयनमा ल्याएको छ । तलव सुविधामा उच्च बृद्धिपछि कर्मचारीहरुको खुसीको सीमा नरहेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।
 
प्राइस आफै पनि यो कम्पनीको संस्थापक हुन् । उनको यो कम्पनीको सबैभन्दा वढी सेयर छ । उनले पढेको अध्ययनमा छ– अतिरिक्त आम्दानीले कर्मचारीको आत्मसन्तुष्टीको स्तरमा उच्च बृद्धि आउँछ । प्राइसको यो कम्पनीमा करिव एक सय जना कर्मचारी छन् । 

Tata
GBIME
Nepal Life