नेपाली बजारमा भित्रियो सामसुङ ग्यालेक्सी एस सिक्स र सिक्स एज, मुल्य ७८ हजार र ९५ हजार रुपैयाँ

बिजमाण्डू
२०७२ बैशाख ३ गते ००:०० | Apr 16, 2015
नेपाली बजारमा भित्रियो सामसुङ ग्यालेक्सी एस सिक्स र सिक्स एज, मुल्य ७८ हजार र ९५ हजार रुपैयाँ

काठमाडौं । बहुप्रतिक्षित सामसुङ ग्यालेक्सी एस सिक्स र ग्यालेक्सी एस सिक्स एज मोवाइल नेपाली बजारमा भित्रिएको छ । सामसुङ इलेक्ट्रोनिक्स नेपालले दुई नयाँ मोवाइल फोन विहीबार सार्वजनिक गरेको हो ।

Tata
GBIME
Nepal Life

उत्कृष्ट विशेषता भएको सामसुङ ग्यालेक्सी एस सिक्सको मूल्य ७७ हजार नौसय रुपैयाँ तोकिएको छ । यस्तै सामसुङ ग्यालेक्सी एस सिक्स एजको मूल्य ९४ हजार नौसय रुपैयाँ तोकिएको छ ।

सामसुङ इलेक्ट्रोनिक्सका नेपाल स्थित कन्ट्रिहेड डाइरेक्टर युविम वनले संसारकै नवीनतम सिर्जनाको प्रयोग गरी यी मोवाइल बनाइएको बताए । सामसुङका दुवै उत्पादन विश्वस्तरीय भएको भन्दै उनले अहिलेसम्मकै उच्‍चतम स्मार्टफोन नेपाल भित्रिएको दावी गरे ।

यस्तै सामसुङ इलेक्ट्रोनिक्स नेपालका एचएचपी डिभिजन हेड प्रणयरत्न स्थापितले कम्पनीले संसारकै पहिलो ड्युल कर्भ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको बताए । उनले यस्तो प्रविधि यसअघि कहिल्यै पनि नदेखिएको दावीसमेत गरे ।


के के छन् विशेषता ?
छिट्टै नै आम उपभोक्ताको हातमा पुग्ने यो नयाँ मोवाइलमा एन्ड्रोइड ललिपप ५.०.२ भर्सन राखिएको छ । १६ मेगापिक्सेलो रेयर र पाँच मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको यो मोवाइलमा उत्कृष्ठ अल्ट्रा सेभिङ मोड राखिएको छ ।

 ग्यालेक्सी एस सिक्समा २५ सय ५० एमएच ब्याट्री पावर राखिएको छ भने सिक्स एस एजमा २६ सय एमएच पावर ब्याट्री प्रयोग गरिएको छ । दुवै मोवाइलमा तीन जिबी र्‍याम तथा ३२ जिबी आन्तरिक मेमोरी रहेका छन् ।

यी मोवाइलमा डाउनलोड बुस्टर, एस हेल्थ ४.०, स्मार्ट म्यानेजर, म्मार्ट म्यानेजर, माइक्रोसफ्ट एप्स, साउण्ड अलाइभ प्लस, थिम्स, क्विक कनेक्ट, प्राइभेट मोड, एस फान्डर, एस भ्वाइसलगायतका फिचरहरु राखिएका छन् ।

क्वाड २.१ गिगाहर्ज तथा क्वाड १.५ गिगाहर्ज अक्टाकोर प्रोसेसरयुक्त यो मोवाइलले ग्राहकलाई उच्चतम सन्तुष्ठी दिन दावी कम्पनीको छ । मोवाइलमा गुगल क्रोम, ड्राइभ, फोटोज, जिमेल, गुगल प्लसलगायतका सुविधा पनि दिइएको छ ।


१० मिनेट चार्ज गर्नुस चार घण्टा चलाउनुस
‘तपाईंले यो मोवाइल १० मिनेट चार्ज गर्नुभयो भने चार घण्टासम्म चलाउन सक्नुहुन्छ,’ विहीबार मोवाइल सार्वजनिक कार्यक्रममा स्थापितले यसो भनिरहँदा हलभरी उपस्थितले ताली बजाए । स्थापितले बजारमा रहेका आफ्ना प्रतिस्पर्धी ब्राण्डका उत्पादन भन्दा यसमा लामोसमय ब्याट्री टिक्ने र छिटो चार्ज हुने पनि बताए ।

उनले नयाँ मोवाइल निकै बलियो भएको भन्दै स्टेजमा नै आफ्नो हातबाट भुईंमा खसालेका थिए । यो मोवाइल वाएरलेस चार्जरबाटसमेत चार्ज गर्न सकिन्छ ।

यस्तै नयाँ मोवाइलमा उत्कृष्ठ डिस्प्ले क्वालिटी, अडियो क्वालिटी तथा भिडियो क्वालिटी रहेको छ । यस्तै वाइफाइ, ब्लुतुथलगायतका सुविधा पनि राखिएका छन् । नयाँ मोवाइल वन र स्थापितले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।