नेपाल टेलिकमको ३८ लाख माेवाइल अवरुद्ध हुन सक्ने, शनिवार विहान ४ बजेसम्म समस्या

बिजमाण्डू
२०७२ बैशाख ४ गते ००:०० | Apr 17, 2015

काठमाडौं । नेपाल टेलिकमको सिस्टम अपग्रेडिङका कारण जिएसएम मोवाइल सेवा अवरुद्ध हुने भएको छ । टेलिकमले शुक्रबार र शनिबार गर्न लागेको सिस्टम अपग्रेडिङका कारण ३८ लाख मोवाइल सेवा प्रभावित हुने भएको हो ।

Tata
GBIME
Nepal Life

‘जिएसएम सिस्टम अपग्रेडिङ प्रणाली अनुसार काम भइरहेको छ,’ टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बिजमाण्डूसँग भनिन्, ‘हामीले आज राति र भोलि विहानसम्ममा काम सक्नेछौं, त्यतिबेलासम्म सेवा अवरुद्ध हुन सक्छ ।’

वैद्यका अनुसार टेलिकमले  पुरानो बिलिङ सिस्टमबाट नयाँ बिलिङ प्लेटफर्ममा ट्रान्सफर गर्न लागेको हो । टेलिकमले अहिले एक करोड रुपैयाँ बराबरको काम गर्न लागेको हो । टेलिकमले पुरानो सिस्टमबाट कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टम (सिआरटिबी) प्रणालीमा जाने तयारी गरेको हो ।

सिस्टम अपग्रेडिङका कारण देशका विभिन्न स्थानका पोष्टपेड तथा प्रिपेड दुबै मोवाइल सेवा प्रभावित हुन सक्नेछन् । ‘समस्या आउन सक्छ मात्रै भनेका हौं, आउँछ नै भन्ने हुँदैन । तैपनि ग्राहकलाई पहिल्यै सूचना दिएको हो,’ उनले भनिन्, ‘यो चरणमा ३८ लाख जिएसएम मोवाइलको बिलिङ सिस्टम परिवर्तन गर्न लागिएकाले तिनीहरु प्रभावित हुन सक्नेछन् । शुक्रबार राति नौ बजेदेखि शनिबार विहान चारबजेसम्म अलि बढि समस्या हुनसक्ने अनुमान टेलिकमको छ ।

नेपाल टेलिकमले सिडिएमए मोवाइलको भने यसअघि नै बिलिङ प्रणाली परिवर्तन गरिसकेको छ । टेलिकमको जिएसएम प्रोजेक्ट हुवावेले गरिरेको छ भने सिआरटिबीको काम एसिया इन्फोले गरिरहेको छ ।

नेपाल टेलिकमका अहिले देशभर एक करोड २० लाख भन्दा धेरै मोवाइल सेवाका ग्राहक छन् । टेलिकमले जिएसएम ग्राहकमात्रै एक करोड भन्दा धेरै रहेको जनाएको छ । टेलिकमले जिएसएम, सिडिएमए, पिएसटिएनलगायतका फोन तथा डेटा सेवा दिँदै आएको छ ।