चौरबाट सुरु भएको बाजेको सेकुवामा कर्मचारी मालिक, कर्मचारीको स्वामित्वमा सुकेधारामा आउटलेट

बिजमाण्डू
२०७२ बैशाख ४ गते ००:०० | Apr 17, 2015
काठमाडौं । कर्मचारीको स्वामित्वमा सुकेधारामा बाजेको सेकुवाको नयाँ आउटलेट खुलेको छ । फ्रान्चाईज मोडलमा कर्मचारीलाई स्वामित्व दिएर संचालनमा आएको यो दोस्रो आउटलेट हो ।

Tata
GBIME
Nepal Life

यस भन्दा अघि सातदोवाटोमा कर्मचारीको स्वामित्वमा बाजेको सेकुवाको आउटलेट संचालनमा आएको थियो । सुकेधारा आउटलेटको संचालक होमनाथ घिमिरे र पविन थापा छन् । उनीहरु दुबै बाजेको सेकुवाका बरिष्ठ कर्मचारी हुन् ।  यी फ्रान्चाईजहरु बाजेको भेन्चर कम्पनी अन्तर्गत संचालनमा आउनेछन् । कम्पनीको पूर्ण स्वामित्वमा पाँच शाखा छन् । काठमाडौं वाहिर पोखराको नागढुंगामा बाजेको सेकुवाको फ्रान्चाईज छ ।

‘हामीले बाजेको सेकुवा संचालनको लागि पहिलो प्राथमिकतामा कम्पनीकै कर्मचारीलाई राख्छौ,’ बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीले भने, ‘कर्मचारीबाट संचालन भएको फ्रान्चाईजमा व्यवस्थापन राम्रो हुने र ब्रान्ड पनि नबिग्रने भएकोले पहिलो प्राथमिकतामा राखेका हौ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चौरबाट सुरु भएको बाजेको सेकुवाले ब्रान्ड बनाइसकेको छ ।

‘मेरो बुबाले सुरुमा पाँच किलो मासु खुला चउरमा राखेर बिक्री सुरु गर्नुभएको थियो । सुरुको दिनमा दुई प्लेट मात्रै बिक्री भएको थियो,’ भण्डारीले भने, ‘कठिन सर्घषबाट सुरु भएको यो ब्रान्डलाई कर्मचारीलाई समेत मालिक बनाउने योजनासम्म आइपुगेका छौ ।’

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशील खड्काले आगामी आर्थिक वर्ष भित्र बाजेको सेकुवाको ८ वटा फ्रान्चाईज खोल्ने योजना रहेको जानकारी दिए ।
‘अबको पाँच वर्षमा नेपालका प्रमुख शहरहरु र विदेशमा समेत शाखा खोल्ने योजना बनाइरहेका छौ,’ उनले भने, ‘हामी नेपाली ब्रान्डलाई विश्वस्तरसम्म पुर्‍याउने कोशिशमा छौ ।’ कम्पनीले चार÷पाँच वर्षभित्रै बाजेको सेकुवाको साधारण सेयर निष्काशन गर्ने योजना समेत बनाएको छ ।

‘अहिले बैंक तथा वित्तिय संस्थाको आइपिओ आएको छ । हामी कम्पनीको आइपिओ ल्याउने तयारी गरिरहेका छौ,’ उनले भने, ‘हाम्रो प्रयास सफल हुने विश्वासमा छौ ।’