सुमार्गी समूहले बानेश्वरमा खोल्यो अल इन वान बजार, सात करोड रुपैयाँ लगानी, तीन सय वटा पसल

बिजमाण्डू
२०७२ बैशाख ५ गते ००:०० | Apr 18, 2015
सुमार्गी समूहले बानेश्वरमा खोल्यो अल इन वान बजार, सात करोड रुपैयाँ लगानी, तीन सय वटा पसल

काठमाडौं । सुमार्गी समूहले राजधानीको वानेश्वरमा साढे सात रोपनी जमिनमा अल इन वान बजार स्थापना गरेको छ । भवन र आवश्यक पूर्वाधार तयार पारेर यो समूहले व्यवसायीहरुलाई व्यवसाय सञ्चालन गर्न दिएको हो । समूहले डेढ वर्षअघि पत्रकार सम्मेलन गरी सुपरस्टोर संचालनमा ल्याउने घोषणा गरेको थियो ।

Tata
GBIME
Nepal Life

यो समूहले सुपरस्टोर र मलको भन्दा फरक तरिकाले बजार सञ्चालन गर्न लागेको हो । आफ्नै स्वामित्वमा रहेको जमिनमा भवन बनाएर इच्छुक व्यक्तिलाई व्यवसाय सञ्चालन गर्न दिने गरी बजार स्थापना गरेको समूहका निर्देशक अरुणराज सुमार्गीले बताए ।

‘यो बजारमा तीन सय भन्दा बढी पसल छन्, सुमार्गीले बिजमाण्डूसँग भने, जमिनको क्षेत्रफल ठूलो भएकोले हामीले यस्तो बजार सञ्चालनमा ल्याएका हौं । यहाँ साना देखि ठूला व्यवसायीले पनि कवल लिएर व्यवसाय थालेका छन् ।’ समूहले  १० देखि १५ वर्षसम्म यो बजार सञ्चालन गर्ने योजना बनाएको छ । १५ वर्षपछि भने नयाँ डिजाइनमा बजार निर्माण गर्नुपर्ने उनले बताए ।

‘बजार स्थापना गर्दा जमिन बाहेक नै करिब सात करोड रुपैयाँ खर्च भएको छ, उनले भने, बानेश्वर जस्तो स्थानमा जमिनको मुल्य धेरै छ, यस्ता स्थानमा सजिलै यस्ता बजार सञ्चालनमा ल्याउन पनि सकिँदैन ।’ बजारमा पाकिङका लागि पर्याप्त स्थान राखिएको र हरियालीका लागि पनि खुल्ला स्थान छाडिएको छ । समूहले नै उत्पादन गरेको हिमालयन स्प्रिङ वाटर पनि यही बजारमा राखेर उपभोक्तालाई विक्री गर्ने जनाएको छ ।

तीन तल्ले भवनभित्र मःमः मात्रै पाउने रेष्टुरेण्ट देखि बैंकसम्म सञ्चालन उनले जानकारी दिए । यो  बजारमा नेपाल एसविआई बैंक सर्ने भएको छ । त्यस्तै तेस्रो तलामा ओपन रेष्टुरेण्ट सञ्चालनमा आउने छ । राजधानीको पुरानो बजार असनमा पाउने सबै सामान एउटै भवनमा पाउने गरी बजार सञ्चालन सुमार्गीले बताए ।

बजारका लागि सबै पूर्वाधार समूहले उपलब्ध गराउने छ । खानेपानी, सुरक्षा, विद्युतजस्ता सुविधा समूहले नै व्यवस्थापन गर्नेछ । व्यवसायीहरुले भवन उपभोग गरेवापत भाडा तिर्नुपर्ने छ । विद्युतको लाइन जोड्न निकै समय लागेको कारण बजार संचालनमा आउन ढिलाई भएको उनले बताए ।  यो समूह मुक्ती श्री प्रालिको नाममा सञ्चालन भइरहेको छ ।

छिमेकी मुलुकमा यस्तो बजारका लागि सरकारले नै भवन बनाइदिने गरेको छ । बजार व्यवस्थित गर्न पनि सरकारले भवन वनाइदिने र व्यवसाय गर्नेसँग शुल्क लिने चलन छ । तर यहाँ सरकारले बजार व्यवस्थित गर्न यस्तो पहल गरेको छैन । ‘पार्किङ र अन्य सुविधाको अभावमा जहाँ पायो त्यही उपभोक्ता जानसक्ने अवस्था नै छैन, सुमार्गीले भने, सुविधायुक्त भवन बनाएर उपभोक्तालाई पनि राहत दिने हाम्रो प्रयास हो ।’

डेढ वर्ष अघि यो समूहले करिब साढे २३ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । त्यही घोषणा अनुसार नै लगानी भइरहेको जानकारी उनले दिए । केही आयोजनाको कामबाट नतिजा आउनै बाँकी रहेको जानकारी पनि उनले दिए । होटल, जलविद्युत, सिमेन्ट उद्योग, सूचना प्रविधी लगायतका क्षेत्रमा लगानी गर्ने घोषणा यो समूहले गरेको थियो ।

काठमाडौंपछि दोस्रोमा हेटौंडा, पोखरा र चितवनमा यही अवधारणामा बजार स्थापनाको गृहकार्य भइरहेको सुमार्गीले जानकारी दिए ।