सूचना बिक्री गरेकोले एफएनसीसीआईमा पूर्व सचिवले पद पाएको आरोप, सूचना बेच्नेलाई महत्वपूर्ण पद

बिजमाण्डू
२०७२ बैशाख ५ गते ००:०० | Apr 18, 2015

काठमाडौं । उपभोक्ताहित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाँले कर्पोरेट क्षेत्रलाई सूचना बिक्री गर्नेहरु सरकारी सेवाबाट अवकाश पाउनेवितिकै महत्वपूर्ण पद दिने गरिएको बताएका छन् ।

Tata
GBIME
Nepal Life

‘सरकारको सचिवदेखि प्रहरीका उच्च तहमा बसेकाहरुले आफु पदमा हुँदा सूचना बिक्री गर्छन् । उनीहरुले कालोबजारीलाई संरक्षण गर्छन्,’ मञ्चले शनिबार आयोजित छलफल कार्यक्रममा उनले भने, ‘अहिले नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा पूर्व सचिव नियुक्त भएका छन् ।
सचिवबाट अवकाश पाउनेवितिकै निजी क्षेत्रको संस्थामा नियुक्ती कसरी सम्भव हुन्छ ?’

महासंघको महानिर्देशकमा पूर्व सचिव धरणीधर खतिवडा नियुक्त भएका छन् । उनले वैशाख १ गतेदेखि महानिर्देशकको रुपमा जिम्मेवारी सम्हालेका हुन् ।  बानियाँले कर्पोरेट क्षेत्रमा काम गर्ने पूर्व प्रशासकहरुले सरकारले दिएको पेन्सन छोड्नुपर्ने बताए ।

‘सरकारको पेन्सन खाएर उपभोक्ताको विरुद्धमा काम गर्न पाइदैन,’ उनले भने, ‘यस्तो अराजकता रोक्नेतर्फ सरकारको ध्यान जाओस् ।’ उनले उपत्यकामा भन्दा वाहिर उपभोक्ताको अधिकार कुष्ठित भएको बताउँदै उपभोक्ताको हक रक्षाको लागि बोल्ने भन्दा काम गर्ने बेला आएको बताए ।