सेयरका विश्लेषक रत्नपार्कमा सुगा हेराएर बस्ने जस्तै हुन्, स्टक ब्रोकर रिमालको अन्तवार्ता

बिजमाण्डू
२०७२ बैशाख ६ गते ००:०० | Apr 19, 2015
सेयरका विश्लेषक रत्नपार्कमा सुगा हेराएर बस्ने जस्तै हुन्, स्टक ब्रोकर रिमालको अन्तवार्ता


ब्रोकरलाई सेयर कारोबार ओपन गरिदिनुपर्छ । तर त्यो नियमन भित्र रहनुपर्छ । नियामकले थाहा पाउने गरी गर्नुपर्छ । त्यो कुरा लगानीकर्ताले थाहा पाउने गरि घोषणा हुनुपर्छ । यहाँ ब्रोकरले किन्ने कुरा कसैलाई थाहै छैन । ब्रोकर कति ठुला ठुला भइसकेका छन् त्यो कसैलाई थाहा छैन । ब्रोकरको सेयर हो कि होइन भन्ने कुरा नियमनकारी निकायलाई थाहा छैन
 —
नियमनकारी निकाय बलियो भयो भने, नियमन बलियो भयो भने सबै कुरा राम्रो हुने हो । पुँजी बजार भनेको 'प्रिसाइज ट्रेड' गर्ने कुरा हो । यहाँको नियमन साह्रै कमजोर भयो । धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज हेर्नु भयो भने उनीहरुले दुई/तीन वर्षमा जुन अनुगमन गर्नु पर्ने थियो त्यो केही पनि गरिएको छैन । यस्ता नियमनहरु नियमित हुनुपर्छ
 

समग्रमा मार्केट कस्तो हुन्छ त्यो होल्ड गर्न सक्ने कि नसक्ने प्रमुख कुरा हुन्छ ।एक वर्ष दुई वर्ष लाग्ला तर बजार त बढ्छ । माथिल्लो तामाकोशीको सेयर सूचीकरण हुँदा, एनसेलकै सेयर आउने कुरा छ, यस्तो हुँदा त बजार बढ्छ । त्यो बेलासम्म तपाईं होल्ड गर्न सक्ने कि नसक्ने ? होल्ड गर्न लगानीकर्तासँग केही लिमिटेसन त हुन्छ । तर होल्ड गर्न सक्ने मान्छेले जित्छ  
 

मसँग पनि धेरै विदेशीहरुले तेरो देशमा हाम्रा लागि सेयर कहिले किन्न पाइन्छ भनेर इमेल गरिरहेका छन् । सेयर खुल्नु पहिले नै सेयर किनाइदे भनेर भनिरहेका छन् । खुलेपछि त चारपाँच गुणा महँगो पर्छ भनेर उनीहरु पहिल्यै किन्ने दाउमा छन् । मैले धेरै कुरा थेग्न नसकेर विदेशीलाई हाम्रो नीति अंग्रेजीमा उल्था गर्न लगाएर पठाइदिएको छु । विदेशीहरु आउन लागिरहेका छन् । बजारको साइज र बजार दुवै बढ्छ तर कहिले भन्ने मात्रै हो

 
 
एक वर्ष अघि यही समयमा निकै उकालो लागेको पुँजीबजार यस वर्ष घट्ने वहाना खोजिरहेको छ । त्यसबेला र अहिलेका वित्तीय सूचकहरुमा ठूलो अन्तर देखिदैन, तर बजारले भने नकारात्मक प्रतिक्रिया दिइरहेको छ । बजारलाई सुक्ष्म रुपमा मुल्यांकन गर्ने नेपाल स्कट हाउस ब्रोकर नम्वर १४ का प्रवन्ध निर्देशक इश्वरी रिमाललाई बिजमाण्डूका सुदर्शन सापकोटा र सविन मिश्रले सोधे बजार बढाउने र घटाउने खेलमा ब्रोकरहरु नै सक्रिए भएका हुन ?

Tata
GBIME
Nepal Life
गत वर्ष सेयर बजार तेज गतिमा थियो, तर यसपाली चाँडै नै अफसिजन सुरु भयो । बजारलाई केलेगाइड गरिरहेको छकि अपेक्षा अनुसारको गतिमा छैन ?
बजारको आफ्नो ट्रेन्ड अति नै बलवान हुन्छ । उसको ‘मोटिभʼ असाध्यै बलवान हुन्छ । त्यो मोटिभमा बाहिर बस्नेहरु अथवा विशेषज्ञ भन्नेहरुले आ-आफ्नो अन्दाज लगाउने हो । अन्दाज लगाउनेहरुले बजार बढ्न थालेपछि बढिरहेकै देख्न थाल्छन् । बजारमा अहिले यस्तो हुनुको कारण अथवा वास्तविकता त  मार्केटको आफ्नो ट्रेन्ड नै हो । अहिले साधारण सेयरमा धेरै पैसा गयो । साना साना आइपिओमा पनि सयौं गुणासम्म पैसा गएको देखियो । माइक्रो फाइनान्स, बरुण हाइड्रो वा तामाकोशीमै धेरै गुणा बढी आवेदन परे ।त्यसकारणले गर्दा पोहोरको र अहिलेको समयलाई आँकलन गर्ने हो भने ‘रिभर्सʼ अवस्था देखिन्छ । मार्केटको ट्रेन्ड नै बलवान हो, हामीले सोचेजस्तो कहिल्यै हुँदैन,मार्केट आफैं गाइडेड छ ।

त्यसो भए बजारलाई यो विन्दुमा पुगेर माथि जान नदिने काम चाँही केले गरेको छ त ?
अहिले पैसा नै भएन । कारण भनेको त मार्केटको पैसा आइपिओमा गयो, यहाँबाट निस्केका कति पैसा घरजग्गा तिर पनि जान थाले । पोहोर सेयर बेचेको पैसाले जग्गा आउँदैनथ्यो । तर अहिले ‘क्यापिटलाइज्डʼ बढेको छ, सेयर बेच्दा जग्गा आउने भयो । मार्केट अस्थिर देखेपछि मान्छे बसिरहँदैन । त्यस हिसाबले भन्ने हो भने मार्केटबाट अहिले पैसा बाहिर गयो । कति पैसा आइपिओमा गयो, कति पैसा हाइड्रोमा गयो भने कति पैसा घरजग्गामा पनि गएको छ । यो फन्डाले बजार अस्थिर भयो,तल झरिरहेको हो ।

आइपिओमा पैसा धेरै गएको त पछिल्लो समयमा मात्रै त हो ?
बजारमा तरलता अभाव छ भन्ने जस्ता कुराहरु आए । तपाईंले थाहा पाउनु भयो होला पुसतिर अथवा दोत्रैमासिक अवधि सकिएपछि बजारमा  तरलता अभाव भयो । तरलता अभाव पनि बजारलाई नियन्त्रण गर्ने नै कुरा हो । पछिल्‍ला अवधिमा बैंकले ब्याज बढाउने भए, तरलता अभाव भयो भन्ने जस्ता कुराहरु पनि आए । यी सबै पुँजी बजारलाई नकारात्मक असर पार्ने कुरा हुन् । पैसा अहिलेमात्रै आइपिओमा गएको होइन । सेकेन्ड क्वाटरबाट नै यो ट्रेन्ड सुरु भएको छ । यसको समग्र प्रभाव नै बजारमा अहिलेको सिनारियो हो ।

फन्डामेन्टल हेर्ने हो भनेतपाईंले भनेका कुराहरू बजारमा थिएनन् । तरलता अभाव पनि थिएन किनकि त्यो कुरा त ब्याजदरले नै देखाएको छ । ब्यादर घटेको छ, बढेको छैन । भनेपछि मान्छेहरु हल्लाको पछाडि लागेका रहेछन् ?
सेयर बजारमा विभिन्न पक्षहरुले काम गर्छ । सेयर बजार असाध्यै सेन्सेटिभ हुन्छ । सन् १९९७ तिर भारतको अमरनाथयात्रामा जाने यात्रुबाहक बस पल्टियो । त्यतिबेला बम्बईको सेन्सेक्स स्वाट्टै घट्यो । त्यसमा दुई पक्षबीच केही लिंक नै थिएन । त्यहाँ न कुनै बजारका विशेषज्ञ थिए न वित्तीय बजारका कोही प्रभावशाली मान्छे । भनेपछि बजारलाई अनेक चिजहरुले असर गर्छ । त्यसमाथि पनि हल्लाले त झनै असर गर्छ ।

भनेपछि अहिले बजारले घट्नका लागि बहाना खोजिरहेको छ ?
हो, बजार बहाना खोज्दैछ । बजार एउटा साइकलमा हिँड्छ । एउटा साइकल पार गरेपछि विस्तारै अर्को साइकल खोज्नका लागि समय त लाग्छ । एउटा साइकल पार गरेपछि माथि जान त फेरि तल आउनु पर्‍यो नि । बजार घट्ने कारण भनेको यसको 'टाइमिङ र मुभमेन्ट' हो । मार्केटले एउटा चरण पार गरेको हुनाले नै घटेको हो ।

चरण भनेको त्यो ६ वर्ष हो, ६ बर्षमा मात्रै एउटा चरण पार गर्छ भनिन्छ?
हाम्रा विश्लेषकले भन्ने गरेको ६ वर्ष होइन । त्यो सबै आ-आफ्नै अनुमान मात्रै हो ।पहिलो ६ वर्ष लाग्यो भन्दैमा फेरि ६ वर्षमै आउँछ भन्ने होइन । त्यसो भए त बजारमा आउने सबै करोडपति र अरबपति भइहाल्थे नि । जजसले जे जे भन्यो मार्केटको साइकल त्यो होइन । यहाँका विशेषज्ञले भनेको जस्तो साइकल मार्केटको हुँदैन । मार्केटको त आफ्नै साइकल हुन्छ । विश्लेषकका कुरा दिनदिनै कतिथरी निस्कन्छन्  । यहाँ कृति क्यापिटलले अहिले यही मात्रै काम गर्छ । बजार बढ्छ कि घट्छ कि भन्ने मात्रै हेर्छ । म्युचुअल फन्डहरुले पनि धेरै यही काम गर्छन् । तर सबै विशेषज्ञलाई मार्केट फोर्सले जितिदिन्छ । एउटाको प्रक्षेपण एकातिर हुन्छ, बजार अर्कोतिर गइरहेको हुन्छ । आज कसैले ६ वर्षे साइकल भनुन् वा तीन वर्षे भनुन्, आरएसआईले बजार घट्ला भनुन् वा मैनबत्तीले बढ्ला भनुन्, बजार त्यसको नजिक जस्तो हुन्छ तर मार्केट आफ्नै गतिमा अगाडि बढ्छ ।
 
तपाईंको भनाइले त लगानी गर्ने मान्छे झन अन्यौलमा हुने भए,त्यति सहज छैन बजार ?
नयाँ लगानीकर्तालाई त बजार झनै सहज छैन । आजको दिनमा कोही पनि लगानी गर्न आएभने त्यो दुर्घटना हुने संभावना बढी हुन्छ । नयाँ मान्छे मार्केटमा छिर्दा अर्काले पैसा कमाएको देखेर आइदिन्छन् । सँगैको मान्छेले सेयरमा लगानी गरेर पैसा कमाएको देखेर आउँछ । तर कमाउनेले त साइकल पार भइसक्दा कमाइसकेको हुन्छ भने नयाँ आउँदा 'डाउनफल'मा पर्छ । यस्तोमा कोही त कहिल्यै बजार नहेर्नेगरी फर्कने पनि छन् ।
लगानीकर्ता डराउन् भनेको होइन । मात्रै 'वेट एन्ड वाच'मा बस्नुस भनेको हो । मार्केटमा चरण बाँकी छ भनिएको छ । सिडिएस लागु गर्ने भन्ने अर्को वर्षको दुई/चार महिनामा बजार फर्केर माथि जान सक्छ । यो आर्थिक वर्षमा त लागु हुन नै समय लाग्ला । दीर्घकालीन लगानी गर्नेका लागि दुई/चार महिना भनेको केही पनि होइन । त्यो बेलामा एउटा अवसर आउने छ । यो एउटा फन्डामेन्टल मात्रै पनि होइन । संसारमा जहाँ पनि बजार फर्कने बेलामा भोल्यूम पनि बढेको छ ।

अब लगानीकर्ताले मार्केट अटोमेसनमा जाँदै छ, अटोमेशनमा गएपछि पारदर्शीता पनि हुन्छ भनेर पर्खिन सक्नुपर्‍यो ?
हो,छिटो कमाउने गरि नयाँ आउनु भएन । जोसँग पुरानो छ उसले होल्ड गर्न सक्नु पर्‍यो ।
 
सूचक घटेको बेला नयाँ लगानी गर्ने पनि सही समय होइन ?
नयाँ मान्छे प्रवेश गर्नका लागि त यो सही समय होइन । पुरानोलाई त माथिको मुल्यमा किनेको छ भने त्यसलाई एभरेज घटाउन सजिलो हुन्छ । सारै तलको मुल्यमा किन्नेले पनि बेचेर अझै घट्नेलाई पर्खन मिल्छ । नयाँ मान्छे प्रवेश गर्ने बेला चाँही यो होइन ।

हामी प्रक्षेपण गर्न सक्छौं, बजार यो विन्दूसम्म झर्छ भनेर ?
त्यो सकिँदैन । त्यो कसैले गर्छ भने महामुर्ख हो । मैले पनि विश्लेषकहरुका कुरा सुन्छु बजार यो बिन्दुसम्म पुग्छ भनेको तर त्यो राम्रो काम होइन । सेयर बजारका विश्लेषक भनेका रत्नपार्कमा सुगा हेराएर बस्ने जस्तै हुन् । अरु सबैको भाग्य हेर्छ तर आफ्नो भाग्य चाँही त्यही सुगा हेरेरै बस्ने हुन्छ । यहाँका विश्लेक भनेका त्यही हुन् ।
 
हामीले माइक्रो इकोनोमिक डेटा हेर्ने हो भने तिनीहरुले बढ्नुपर्ने संकेत गर्छ । जस्तो ब्याजदर एउटा लेभलमा छ । सेयरमा तीनवटै वर्गका वित्तीय संस्थाको लगानी डेढ प्रतिशत छ । लगानीको वातावरण पनि बनेको छ । विदेशी लगानी आइरहेका छन् । नयाँ नयाँ प्रोजेक्टहरु पनि अघि बढिरहेका छन् । तरलता पनि छ । सबैकुराले बजार बढ्न सहयोग गरिरहेको छ भने घट्नुपर्ने चाँही किन ?
सबै कुरा सकारात्मक हुँदा पनि हाम्रो रियल सेक्टरमा आउटपुट के छ त ? छोराले रातभरि पढ्यो भन्ने कुरा प्राथमिक होइन कि फर्स्ट डिभिजन आयो कि आएन, डिस्‍टिङ्सन आयो कि आएन भन्ने कुरा प्राथमिक हो । जति पनि सूचक राम्रो भएर के गर्ने, हाम्रो पुँजीगत खर्च खै ? खर्च गर्ने क्षमता खोइ? जिडिपीमा यसको योगदान खै ? सर्भिस सेक्टरका लुकेका कुरा देखाएर पाँच प्रतिशतको वृद्धि देखाएर हुँदैन । अरुको जस्तो हाम्रो पनि ६/७ प्रतिशतको जिडिपी वृद्धि हुनुपर्‍यो । हामी त सतही कुरा मात्रै गरिरहेका छौं । भन्न चाँही हामी एकदमै राम्रो भन्छौं तर त्यसो भएको छैन । हो लक्षण राम्रो हो तर व्यवहारमा त छैन । स्कूल भर्ना हुँदैमा राम्रो हुँदैन नि । त्यसबाट रिजल्ट निकाल्न पर्‍यो  । अहिले विकास खर्च कूल बजेटको २५ प्रतिशतमा आइपुगेका छौं । ७५ प्रतिशत त साधारण खर्चमा जान्छ । विकास बजेट खर्च नै हुन्छ भने पनि अघिल्लो दिन बनाएको बाटो भोलिपल्ट भत्कने गरी खर्च हुन्छ । हाम्रो आउटपुट नगण्य मात्रै छ ।
 
अब त मान्छेले लाभांश पनि हेर्न थाल्छ,तेस्रो त्रैमासदेखि नै आँकलन सुरु हुन्छ । बैंकिङ क्षेत्रले राम्रो नाफाकमाइरहेको छ । बीमामा, हाइड्रोमा आकर्षण छ । यति हुँदा हुँदै पनि लगानीकर्तामा धैर्यता देखिएन?
मार्केट फोर्स भनेकै त्यहीबेला हो । सबैकुरा राम्रो देख्दा देख्दै पनि बजार किन घट्दछ भन्ने कुरा नै मार्केट फोर्स हो । तपाईले अहिले हेर्नुस जुन किसिमले नाफा बढाएका छौं त्यही अनुपातमा क्यापिटल बढेको हुनाले 'रिटर्न अन इक्विटी' खासै हुँदैन ।
 
बैंक रेट भन्दा त बढि नै हुन्छ ?
बैंक रेट भन्दा अलि बढि त आउला तर जुन पहिलाको जस्तो हामी सोच्छौं त्यो चाँही हुँदैन । बीमा क्षेत्र पनि 'स्याचुरेसन पिरियडमा' छ झण्डै झण्डै । त्यसकारण लगानीकर्ता अब एक ठाउँमा नै बसिरहने कि अर्को ठाउँ खोज्ने ?एउटा चलाख लगानीकर्ताले के खोज्छ भने म अब यहाँ बस्‍ने होइन अर्को ठाउँ खोज्नुपर्छ भनेर सोच्छ । एकै ठाउँमा बसिरहने स्लिपिङ लगानीकर्ता त कम हुन्छ । लगानीकर्ता त नयाँ नयाँ ठाउँ खोजिरहेको हुन्छ । त्यस हिसाबले मार्केट घटेको हो । मार्केटको फन्डामेनटल राम्रो हुँदा हुँदै पनि बजार घटेको हो ।
 
सेयर बजारमा भन्दा अन्यत्र लगानी गरेर फाइदा देखिएको छ ?
, अवस्य छ । आजको दिनमा हाइड्रो क्षेत्रमा जानुस, जग्गामा लगानी गर्नुस यी चिजमा नाफा देखिएको छ ।

तर क्यापिटल मार्केट छोडेर घरजग्गा तिर लाग्ने कुरा गर्ने हो भने पनि त्यहाँ नियमन कडा छ । राष्ट्र बैंकको निगरानी अझै छ । बुम हुने अवस्था पनि देखिँदैन ?
बुम हुने अवस्था अहिले छैन । 'मार्जिनल इन्क्रिमेन्ट' भयो भने पनि त्यहाँ नोक्सान छैन । घरजग्गामा घट्ने संभावना कम छ । सेयरमा घट्ने संभावना सधैं विद्यमान छ । घरजग्गाको मूल्य २०६५/६६ सालबाट अहिलेसम्ममा निकै तल आइसकेको छ । अब पहिलेको जस्तो बुम होला भन्ने होइन । तर स्थानीय स्तरमा बढ्ने क्रम त चलिनै रहेको हुन्छ । तपाईंले उपत्यकाको वरिपरीको जग्गा हेर्नुभयो भने त्यहाँ बढिरहेको देखिन्छ । फास्ट ट्र्याक वरिपरी हेर्नुभयो भने पाँच/सात वर्ष पहिले ५० हजार रोपनीमा पाइने जग्गा अहिले दुई तीन लाख पुगिसकेको छ ।
 
पहिले पुँजीबजारमा तीनचार जना खेलाडीले खेल्ने गर्थे भनिन्थ्यो । अहिले तिनीहरु बाँडिएका छन्, म्युचुअल फन्ड आएको छ, इन्भेष्टमेन्ट कम्पनी आएका छन्, साना लगानीकर्ता पनि थपिएका छन् । यति हुँदा हुँदै पनि त्यही समूह हावी देखिन्छ ?
त्यस्तो अवस्था छैन । कहिँ कतै भए मात्रै हो । मैले त्यतिबेला पनि उनीहरुलाई पनि भन्ने गर्थें कि तपाईंहरु गलत किसिमबाट बजारको प्रक्षेपण गर्दै हुनुहुन्छ । बजार अजेय शक्ति हो । मार्केटलाई एउटा व्यक्तिले चलाउने होइन एउटा सूचकलाई सातसयबाट आठसयसम्म पुर्‍याउँछ होला । मानौं एभरेष्ट बैंकको सेयरलाई सातसयमा किनेर २२ सय पुर्‍याउनुहोला तर त्यतिबेला तपाईंको सेयर किनिदिने चाँही को हुन्छ ?त्यो त तपाईंले चलाएको मूल्य हो । त्यो त तपाईंका लागि मात्रै काम लाग्ने होला । अरुका लागि त काम लाग्दैन ।

 हामीले त्यतिबेला पनि ठुला मान्छेहरुलाई यही कुरा भन्थ्यौं । आज पनि मेरो भनाइ त्यही छ । कसैले मैले मार्केट चलाउन सक्छु, मार्केट मेरो हो भन्यो भने त्यो गलत हुन्छ । अहिले म 'हेभी' हुँ भन्ने कुरा नगन्य मात्रै छ । पहिले त 'प्रि डोमिनेन्ट' थियो । फलानोले फलानो सेयर किनेपछि यो यहाँ पुग्छ भन्ने थियो । अहिले मेरो बिचारमा त्यत्तिको छैन । अब यसको ठाउँमा म्युचुअल फन्डहरुले क्षणिक प्रोफिट मोटिभमा जाँदा पहिले व्यक्ति थियो अहिले फन्ड आयो कि भन्ने देखिन्छ । तर त्यो अवस्था अहिले मेटिसक्यो ।

हाम्रो जस्तो देशमा म्युचुअल फन्ड चलाउन धेरै गाह्रो छ । अहिलेको वर्षमा जसजसले अलिअलि दिएका छन् अर्को वर्ष तिनीहरुले केही पनि दिन सक्दैनन् । अहिलेको वर्षमा सिद्धार्थले दिएको छ, नबिलले पनि दिएको छ तर अर्को वर्ष दिन सक्दैन । हाम्रो जस्तो देशमा यति धेरै खर्चमा म्युचुअल फन्ड संचालन गर्नै सक्दैन । हाइ साइजको खर्चमा यो चल्न सक्दैन । मेरो बिचारमा यिनीहरुले हावा खान्छन् ।
 
म्युचुअल फन्ड पहिले थिएन । केही व्यक्तिले बजार चलाउँथे । तर म्युचुअल फन्ड आए । यिनीहरुले बजार सन्तुलित गर्छ भन्ने अपेक्षा थियो । तर बजार सन्तुलित गर्ने कुरामा यिनीहरुको भूमिका कमजोर देखियो ?
हामीले यसलाई अलि ब्रोडर साइजमा हेरौं । नियमनकारी निकाय बलियो भयो भने,नियमन बलियो भयो भने सबै कुरा राम्रो हुने हो । पुँजी बजार भनेको 'प्रिसाइज ट्रेड' गर्ने कुरा हो । यहाँको नियमन साह्रै कमजोर भयो । धितोपत्र बोर्ड,स्टक एक्सचेन्ज हेर्नु भयो भने उनीहरुले दुई/तीन वर्षमा जुन अनुगमन गर्नु पर्ने थियो त्यो केही पनि गरिएको छैन । यस्ता नियमनहरु नियमित हुनुपर्छ । आज बैंक फाइनान्सको हेर्ने हो भने केन्द्रीय बैंक जमानी छ । म्युचुअल फन्डको ग्यारेन्टी को छ तपाईंले हेर्नु भएको छ ?कोही पनि छैन । एउटा सुपरीवेक्षक समिति बनाइदिएको छ । त्यसको दायित्व केही पनि छैन । भोलि म्युचुअल फन्ड घाटामा गयो भने जनताको पैसा कहाँबाट आउने भन्ने कुरा तपाईंहरुले देख्नु भएको छ ?यस्तो कमजोर नियमनमा जनतासँग ८० करोड,७५ करोडको स्किम उठाएर हुन्छ ? दिने नै हो भने पनि नियामकले 'पिरियोडिक' नियमन गर्नु पर्छ कि पर्दैन ?यस्तै हो भने भोलि चलुन्जेल सधैं राम्रो हुन्छ तर जुन दिन नराम्रो हुन्छ सबैकुरा भताभुंग हुन्छ ।

आज बैंकिङ क्षेत्र राम्रो किन भयो भने नियमनकारी निकाय राम्रो भएर हो । त्यो भन्दा त पुँजी बजार धेरै राम्रो हुनुपर्ने । बैंकिङ क्षेत्रमा विभिन्न खराब अभ्यासहरु हुने गर्थे,विभिन्न खालका इन्ट्रेष्टहरु हुने ठाउँमा उनीहरुले कति राम्रो नियमन गर्‍यो । हामी कहाँ नक्कली प्रमाणपत्रको कारोबार भयो । तर कसैलाई कारबाही भएको सुन्नुभयो ?खाली मिल्यो रे मात्रै भने । यस्तो तरिकाले पुँजी बजार चलाएर के हुन्छ भन्नुस त । नियमन निकाय नै कमजोर भएको हुनालेम्युचुअल फन्ड प्रति,यसका एजेण्ट प्रति विश्वास कम भएको छ । तपाईं आज ब्रोकरहरु कहाँ जानुभयो भने पनि बजारमा यो त खत्तम छ भन्ने सुन्नु भएको होला । यसरी खत्तम हुने गरी ब्रोकर कसले राख्यो भन्‍दा त नियमनकारी निकायले नै हो ।
 
नियमनकारी निकायले तपाईं कहाँ राम्रो सेवा छ भन्ने बनाउनु पर्थ्यो ?
हो । सुशासन छ कि छैन भन्ने कुरा हेर्नुपर्छ । ब्रोकरका हरेक क्रियाकलापमा नियमनकारी निकायले हेर्नुपर्छ । यहाँ गलत भइरहेको छ भनेर गलत कुरा औंल्याउनु पर्छ । केन्द्रीय बैंकको नियमनमा रहेका विकास बैंक, वाणिज्य बैंक चाँही संगठित भएर चल्न सक्ने तर ब्रोकर नहुने कारण के हो भने ब्रोकरलाई केही पनि गरेको छैन । खाली लिने बेलामा दक्ष मान्छे लिन खोजियो । तर कर्पोरेट गभर्नेन्सका त धेरै पक्ष हुन्छन् । त्यतातिर केही पनि भएन । ब्रोकरको अहिले मोफसल वर्क स्टेसनको कुरा गरेको छ तर त्यसको केही मेकानिजम छैन ।

नेपालगंजमा मेरो शाखा छ, म आफैं दुवै तिर बस्ने त होइन । नेपालगंजमा बस्नेले केही गलत काम गर्‍यो भने म पर्ने मेकानिजम छ । उसले केही गलत गर्‍यो भने उ फस्ने कुरा पनि त हुनुपर्‍यो । उसलाई पनि जिम्मेवार बनाउने वातावरण खै बनेको । यसरी वर्क स्टेशन चल्छ ? मैले त्यहाँ गएर आफ्नो विजनेश बढाउन सक्छु ? जोखिम जति सबै मेरोमा आउँछ तर उसले गरेका कामको उसलाई पुरस्कार पनि दिउँ तर जोखिम पनि बहन गराउँ ।

ब्रोकर अफिसको पनि कर्मचारी नियमावली बनाउने,त्यो ठिक छ कि छैन धितोपत्र बोर्डले चेक गर्ने खालको हुनुपर्छ । त्यो अनुसार ब्रोकरले आफ्ना कर्मचारी नियुक्ती गर्‍यो कि गरेन,संचय कोष दियो दिएन हेर्नुपर्छ । ब्रोकर आफैंले सबैकाम गर्ने भए सहकारी पनि चलेका छन् नि । राष्ट्र बैंकले त यी सबै चिज हेर्छ  । प्यारामिटर तोकिदिएको हुन्छ । त्यो प्यारामिटर पुरा नगर्नेलाई कारबाही हुन्छ । हाम्रो यहाँ केही छैन ।धितोपत्र बोर्डले जुन किसिमको नियमन गर्नुपर्ने हो त्यो नै कमजोर भएको छ ।
 
अहिले बजार घटाउने बढाउने खेलमा नै ब्रोकरहरु देखिन्छन् । सेयर खरिद विक्री गर्ने कुरामा ब्रोकहरु प्रत्यक्ष संलग्न भएको देखिन्छन् ?
यसमा मेरो धारणा के छ भने ब्रोकरले त्यसो गर्छ नै । तपाईंको हातमा माउस भएपछि चलाउनु हुन्छ नै । यसलाई चेक गर्ने मेकानिजम छैन । यसलाई घोषणा गरेर किन्न दिनुपर्छ । यदि तैंले किन्ने हो भने 'डिस्क्लोज' गरेर किन भन्ने सुविधा दिनुपर्छ । अन्तर्राष्ट्रिय बजारमा पनि त्यही अभ्यास छ । भारतमा हेर्नुभयो भने ब्रोकरका लागि एउटा विन्डो हुन्छ । चलाउने सफ्टवेयर त एउटै हुन्छ । ब्रोकरले किन्ने नै हो ।

मार्केट बढाउने हो भने किन्नुनै पर्छ । उसले किन्छु भन्दा अर्डर डिस्क्लोज हुन्छ । ग्राहकको अर्डर छ भने पहिले ग्राहककै म्याच गराउँछ र पछि ब्रोकरको डिस्क्लोज गराउँछ । म के भन्छु भने यो ट्रेडमा ब्रोकर जसरी सहभागी भएका छन् त्यसमा उनीहरुलाई सार्वजनिक गराउनै पर्छ । यसरी सार्वजनिक गर्दा ग्राहक भन्दा पछाडिमात्रै उनीहरुलाई प्राथमिकता दिनुपर्छ,ग्राहक पछि पालो दिनुपर्छ । हामीले त्यसलाई नियन्त्रण गर्न सक्दैनौं भने वैधानिक बनाउनै पर्छ । हामी चोर छ भनिरहने अनि त्यसलाई नियन्त्रण गर्न नसक्ने हो भने त्यसलाई वैधानिक बनाउनै पर्छ । 

ब्रोकरलाई सेयर कारोबार खुला गरिदिनुपर्छ । तर त्यो नियमन भित्र रहनुपर्छ । नियामकले थाहा पाउने गरी गर्नुपर्छ । त्यो कुरा लगानीकर्ताले थाहा पाउने गरि घोषणा हुनुपर्छ । यहाँ ब्रोकरले किन्ने कुरा कसैलाई थाहै छैन । ब्रोकर कति ठुला ठुला भइसकेका छन् त्यो कसैलाई थाहा छैन । ब्रोकरको सेयर हो कि होइन भन्ने कुरा नियमनकारी निकायलाई थाहा छैन ।

अहिले पनि १०/१५ प्रतिशतको उतारचढाव आएका बेला त्यो देखिन्छ । बजारमा गति बढेको बेला सेलिङ प्रेसर देखिनु, एकै दिनमा १२ अंक बढेको बजार तीन अंकमा आएर बन्द हुन्छ  ?
म त यही पेशाको मान्छे, मैले आफैंले गलत गरेको कुरा वा मेरा साथीहरुले गलत गरेका कुरा भन्न सक्दिन । तपाईंहरुले नजिकबाट हेर्नु भएको छ,डिफल्ट देखिएकोमा कारबाही गर्ने त कानुनी व्यवस्था छ । धितोपत्र बोर्डमा तपाईंहरुले कम्प्लेन गर्ने ठाउँ छ,गर्नुस । कम्प्लेन गर्दा सुनेन भने प्रचारमा ल्याइदिनुस । त्यो पनि पब्लिक वाच हो । रेगुलेटरको वाच राम्रो भएन भने पब्लिक वाचले मार्केटलाई सही दिशामा लैदिन्छ । म पनि त्यही प्रकारको मान्छे भएकाले म मलाई कारबाही गर पनि भन्दिन र अर्को साथीलाई कारबाही गर पनि भन्दिन ।

तपाईंहरुको संगठन छ, त्यहाँ भित्र पनि यस्ता विषयमा केही कुरा त हुँदो हो?
संगठन कस्तो हुन्छ भने नेपालको नेता, जनता र संगठन उस्तै हुन् । हामी अर्कालाई गाली गर्नु पर्‍यो भने निकै राम्रोसँग गर्छौं । यसले गरेन र उसले गरेन भन्छौं,आफूले आफूलाई तौलिने हो भने सबैकुरा देखिन्छ । ब्रोकरहरु पनि त्यही हो । संगठनमा पनि यति लफडा छ त्यहाँ मिटिङ हुन्छ,२०५० सालमा जुन समस्या लिएर हामी मार्केटमा थियौं,अहिले पनि त्यही हुन्छ । सामान्यतया तैंले बेचिस,तैंले बढाइस,तैंले घटाइस भन्ने मात्रै हुन्छ । त्यहाँ सबैको आ-आफ्नै समस्या मात्रै हेरिन्छ । तैंले फलानोको सर्टिफिकेट दिनस,तैंले समयमै पैसा दिइनस भन्दा भन्दै तिनीहरुको समय जान्छ । मार्केटको विकास,अनुसन्धान र विकासमा सोच्ने भन्ने अहिलेसम्म जिरो ।
 
बजार ११७५ अंकमा पुगेको थियो । गत वर्ष यो रेकर्ड तोडिन्छ भन्ने थियो । १०८३ पुग्दा नै धेरै मान्छे बजारमा आए । त्यति भन्दा भन्दै बजार घट्यो । भनेपछि बजारबाट नाफा त कसैले घर लगेको छैन ?
नाफा नलाने भन्ने होइन । अर्थतन्त्रको सिद्धान्त हेर्ने हो भने त तपाईंको पकेट खाली भएर मेरोमा जाने हो,मेरो खाली भएर अर्कोमा जाने हो । हामीले 'नेट कन्ट्रिब्युसन जिडिपी'मा गर्ने हो । व्यक्तिगत कुरा गर्ने हो भने १०८३ मा कोही बजारमा छिर्‍यो अहिले नौसयमा छ भने उसलाई त नोक्सान भयो । अब पैसा कसले बाहिर लग्यो वा लगेन भन्ने त तपाईं हामीलाई थाहा हुदैन ।

हामीले देखिरहेका छौं यहीबाँट पैसा लगेर कतिले कति काम गरिरहेका छन् ।कसैले म पैसा बाहिर लान्छु भनेर बाहिर लाने त होइन । बजारको कुरा लामो समयसम्म यत्तिकै बसेर पछि क्रस गर्न पनि सक्छ । समग्रमा मार्केट कस्तो हुन्छ त्यो होल्ड गर्न सक्ने कि नसक्ने प्रमुख कुरा हुन्छ ।एक वर्ष दुई वर्ष लाग्ला तर बजार त बढ्छ ।माथिल्लो तामाकोशीको सेयर सूचीकरण हुँदा,एनसेलकै सेयर आउने कुरा छ,यस्तो हुँदा त बजार बढ्छ । त्यो बेलासम्म तपाईं होल्ड गर्न सक्ने कि नसक्ने ? होल्ड गर्न लगानीकर्तासँग केही लिमिटेसन त हुन्छ । होल्ड गर्न सक्ने मान्छेले जित्छ नि एकदिन ।

 

तपाईंले अहिलेको वर्षमा अब ठुलो नाफा छैन भन्नुभयो । ‌औसतमा हेर्‍यो भने लगानीकर्ताले १५ प्रतिशतभन्दा धेरै नाफा पाएका छन् । कति पाए भने चाँही नाफा भन्ने वा कति हुनुपर्ने ?
तपाईंले फ्रेस भ्यालुमा भन्नु भएको हो आजको दिनमा १५ प्रतिशत भनेर । फ्रेस भ्यालुमा त कसले पाउँछ र ?आज आएर कसैले सय रुपैयाँको सेयर छ भने पनि उसले कहाँ त्यसरी पाइराखेको छ र ? छैन नि ।

तर 'एनुयलाइज'गर्‍यो भने हुन्छ । यही कुरामा हिसाब गरेर बस्नुपर्‍यो । बोनस सेयर किनेर बेचेको देखाइदियो भने अर्को कुरा हुन्छ । चिलिमेले २० प्रतिशत बोनस दिन्छ । १५ प्रतिशत,१६ प्रतिशत बोनस दियो भने कभर होला । बोनस सेयर सधैं आउँछ आउँदैन ठेगान हुँदैन । मार्केटले बोनस सेयर पर्खने कि नपर्खने ?पोहोर पनि त्यही आएको हो,अहिले पनि त्यही आउला भन्ने त हुन्छ । मार्केटमा त नसक्ने मान्छे मात्रै होल्ड गरेर बसिरहेको हुन्छ । अन्यत्र लगानी गरेर नाफा गर्न नसक्ने मान्छे मात्रै बजारमा छ । जसलाई अरु क्षेत्रको बारेमा थाहा छैन त्यसैले उनीहरुमात्रै बजारमा छन् ।

तपाईं नयाँ लगानीकर्तालाई कुन बेलामा बजारमा आउने सुझाव दिनुहुन्छ ?
मार्केटको सिद्धान्त भन्नुस वा अरु, अहिले बढ्यो अरु मान्छे नआउने भन्ने भयो भने कहिल्यै मार्केटको साइज नै बढ्दैन र नयाँ मान्छे पनि आउँदैन । अर्को कुरा जतिबेला मार्केट सप्रेस हुन्छ,त्यतिबेला विजनेश गरौंला भनेर पर्खने कुरा पनि हुँदैन । तर जोसुकै मान्छे पनि आउँदा नाफा कमाउँछु भन्दा पनि म घाटा खाँन्न भन्ने सोच्नुपर्छ । कोही मान्छे अहिले आउँदैछ र उसले १० लाख लगानी गर्ने सोचेको छ भने त्यसको २० प्रतिशत मात्रै लगानी गर्नुपर्छ । अझ घट्यो भने फेरि किन्ने क्षमता राख्नुपर्छ । मानौं आज हजारको सेयर किन्यो भोलि आठसयमा आयो भने त्यतिबेला पनि किन्ने क्षमता राख्नुपर्छ । आज हजारकै किन्ने र हारहुर गर्ने हो भने बजार त नौसयमा आउँछ । त्यतिबेला आफ्नो सम्पत्ति त नौलाखमा आइहाल्छ । त्यसको हिसाबमा आउनु हुँदैन । सचेत भएर आउनुपर्छ । राम्रो स्क्रिप्टमा थोरै लगानी गर्नुपर्छ ।होल्ड गर्नुपर्छ, पछि जितिन्छ ।  

मसँग पनि धेरै विदेशीहरुले तेरो देशमा हाम्रा लागि सेयर कहिले किन्न पाइन्छ भनेर इमेल गरिरहेका छन् । सेयर खुल्नु पहिले नै सेयर किनाइदे भनेर भनिरहेका छन् । खुलेपछि त चारपाँच गुणा महँगो पर्छ भनेर उनीहरु पहिल्यै किन्ने दाउमा छन् । मैले धेरै कुरा थेग्न नसकेर विदेशीलाई हाम्रो नीति अंग्रेजीमा उल्था गर्न लगाएर पठाइदिएको छु । विदेशीहरु आउन लागिरहेका छन् । बजारको साइज र बजार दुवै बढ्छ तर कहिले भन्ने मात्रै हो ।
 
अनुमान गर्न सकिन्छ कि यो पोजिसनमा बजार कहिलेसम्म बढ्न सक्छ ?
यसमा दुईवटा कुरा छन् । जलविद्युत कम्पनीको दुई अर्बको सेयरको हल्ला आइरहेको छ । मान्छेको त्यता जाने धारणा छ । वाणिज्य बैंकको सेयर आउने कुरा छ । त्यसले मान्छेको सोच त्यता छ ।अर्को प्राविधिक कुराहरु राम्रोसँग चल्न कति समय लाग्छ त्यो पनि हुन्छ । यो डिम्याट, सिडिएस पूर्ण रुपमा कार्यान्वयनमा आएपछि केही फरक होला । यो त अहिलेसम्म मान्छेले सुन्या मात्रै हो देख्या छैन ।
 
हामीले हेर्दाखेरी पाँच सात वर्ष अगाडि ब्लु चिप भनेर राम्रा कम्पनीमा मान्छेको धेरै आकर्षण थियो । तर अहिले त्यो देखिँदैन । कति ब्लुचिप बिग्रिएर गए पनि । मान्छेहरु साना कम्पनीको सेयर होल्ड गर्ने पनिछन्  ?
कतिपय ब्लुचिप स्याचुरेसन भए । स्याचुरेसन नभएका ब्लुचिपहरु पनि छन् । आज पनि कतिपय ब्लुचिप सेयरहरु १८ हजार रुपैयाँसम्म पुगेका छन् । ती आजको दिनमा जति आए पनि बजारले एब्जर्भ गरेकै छ । कतिपय ब्लुचिप भनेका ठुला बैंकहरुको पुँजीको आकार बढ्यो । त्यही लेभलमा कति सोचिएको छ । चाटर्ड बैंक,एनआइबिएलको क्यापिटल बढ्यो ।

बैंक भनेको यस्तै रहेछ भन्ने लगानीकर्ताले पचाइसके । सेकेन्ड क्लास सेयरमा मान्छेले चलखेल गर्न सक्छ तर ब्लुचिप सक्दैन । आज अरनिको डेभलेपमेन्ट बैंकमा दुई/चारजना मिले भने ५० रुपैयाँ उठाउन सक्छन । दुईसयको सेयरमा २५ प्रतिशत बढायो भने त पुगिहाल्यो नि । क्यास बिजनेशमा एक समयमा २५ प्रतिशत मूल्य बढाउन सके त भयहाल्यो । त्यस्तो ठाउँमा जसले पनि चलखेल गर्छ । त्यही खेल्ने क्रममा नयाँ मान्छे वा सोझो मान्छे फस्छ । त्यसले आकर्षण भएको हो ।