आइपिओले बैंकमा तरलता अभाव, सेयर नपाएका सर्वसाधारणलाई रकम झिक्दा पनि सकस

बिजमाण्डू
२०७२ बैशाख ६ गते ००:०० | Apr 19, 2015
काठमाडौं । अपर तामाकोशीले कर्मचारीलाई जारी गरेको प्राथमिक सेयरमा करिव १८ अर्ब ३० करोड रुपैयाँ बराबरको आवेदन पर्यो । एक महिनाको अवधिमा अन्य साना कम्पनीको समेत गरेर करिव ३० अर्ब रुपैयाँको प्राथमिक सेयरमा आवेदन परिसकेको छ । 


 
बैंक खाताबाट सेयरमा आवेदन दिन पाउने व्यवस्थाले औपचारिक क्षेत्रलाई प्रोत्साहन गरेपनि सर्वसाधारणमा छरिएर रहेको पैसा निश्चित एउटा बैंकमा गएर जम्मा हुँदा कुनै संस्थामा अत्याधिक तरलता भएको छ भने कुनैमा अभाव । 
 
तामाकोशीले स्थानीय र सर्वसाधारणलाई सेयर जारी गर्न बाँकी नै छ । राष्ट्रिय बाणिज्य बैंकसहित अन्य वित्तीय संस्थाको सेयर पनि पाइप लाइनमा छ । जलविद्युत् कम्पनीहरु सेयर जारी गर्न तयार भएर बसेका छन् । 
 
आइपिओमा गएको रकम नेपाल राष्ट्र बैंकमा एक साता जम्मा हुने हुँदा बैंकिङ प्रणालीमा छोेटो समयका लागि भएपनि तरलता अभाव हुने गरेको छ ।
 
जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको ९० लाखको सेयरका लागि तीन सय ५५ गुणा वढी आवेदन पर्यो । बैंकको सेयर अधिकांसले पाएनन् । सेयर नपाउने र आशिंक पाउनेको वैशाख ६ गतेबाट पैसा फिर्ता लिन लामो लाइन बस्नु परेको छ । 
 
दुवै समस्याको सजिलो हल भएपनि नियामक निकायले आवश्यक कदम नचाल्दा सर्वसाधारण हैरानीमा परेका छन् । जनउत्थानको पैसा फिर्ता लिन निस्कासन तथा विक्री प्रबन्धक ग्रोमोर मर्चेन्ट बैंकरको कार्यालय अगाडि सेयर भर्दाको जस्तै लामो लाइन छ । 
 
के गर्न सकिन्छ ?
आइपिओमा आवेदन दिँदा रकमको भुक्तानी चेकबाट गर्नु पर्छ । ग्राहकको आफ्नो खाताबाट भुक्तानी दिएको रकम त्यही बैंक तथा वित्तीय संस्थामा रोक्का राख्दा आइपिओका कारण हुने ठूलो रकमको कारोबार रोकिन्छ ।


 
अहिलेको जस्तो रकम निश्चित बैंक तथा वित्तीय संस्थामा पनि थुप्रिँदैन, जसले गर्दा कुनैमा अधिक तरलता र कुनैमा तरलता अभावको अवस्था आउँदैन ।
 
‘हाम्रै छिमेकी मुलुक भारतमा पनि यही व्यवस्था छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बिजमाण्डूसँग भने, ‘यसले गर्दा आइपिओको रकम एउटा संस्थाबाट अर्को संस्थामा जाँदैन । पैसा प्रणालीभित्रै हुने भएकाले बैंकहरुले त्यसलाई चलाउन पाउँछन् ।’
 
अपर तामाकोशीको १९ अर्ब रकम थुप्रिएपछि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले केही महिनाका लागि रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वानै गर्न पर्यो । 
 
‘सेयरका लागि भुक्तानी गरेको चेक (रकम) जारी भएको बैंक तथा वित्तीय संस्थामै रोक्का राख्न समस्या छैन,’ राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले बिजमाण्डूसँग भने, ‘यस बारेमा छलफल गरेर आवश्यक निर्णय गर्न सकिन्छ ।’


 
सेयर नपरेको रकम पनि चेक जारी भएकै संस्थामा जम्मा गर्न सकिन्छ । यस्तो हुँदा सर्वसाधारण सेयर आवेदन दिँदा लाइन बसेजस्तो सेयर नपर्दा फेरि लाइन बस्नु पर्दैन । 
 
बिजमाण्डूलाई मेन्सन गर्दै रवि दाहालले टुइट गरे– यत्रो लाममा उभ्याएर (सर्वसाधारणलाई) दुःख दिनुको साटो आवेदन दिँदा सेयर फारममा आवेदकले उल्लेख गरेको खातामा रकम फिर्ता गरिदिए हुन्न र ?
 
भारतलगायत धेरै मुलुकमा चलेको अभ्यास र सजिलो उपाय हुँदा हुँदै पनि नियामक निकाय राष्ट्र बैंक र धितोपत्र वोर्डले समयमा उपयुक्त कदम नचाल्दा सर्वसाधारण कस्ट भोग्न वाध्य भएका छन् । 

Tata
GBIME
Nepal Life