यो वर्ष ३ अर्बको मात्रै सुन आयात, राष्ट्र बैंक भन्छ, ‘तस्करीका कारण सुन आयात घट्यो’

बिजमाण्डू
२०७२ बैशाख ७ गते ००:०० | Apr 20, 2015
यो वर्ष ३ अर्बको मात्रै सुन आयात, राष्ट्र बैंक भन्छ, ‘तस्करीका कारण सुन आयात घट्यो’

सविन मिश्र/बिजमाण्डू
काठमाडौं । वैध रुपमा सुन आयात ७८ प्रतिशतले घटेको छ । गत वर्षको फागुनसम्ममा १७ अर्ब आठ करोड रुपैयाँको सुन आयात भएकोमा यो वर्ष सुन आयात तीन अर्ब ६१ करोड रुपैयाँमा सिमित भएको छ ।

Tata
GBIME
Nepal Life

आयात घटेको मात्रै होइन, बैंकहरुले भित्र्याएको सुन पनि बिक्री भएको छैन । अहिले बाणिज्य बैंकहरुसँग ६४ किलो भन्दा बढी सुन थन्किएको छ । चोरी आयातको सुन बजारमा गएको कारण वैध मार्गबाट ल्याएको सुन बिक्री हुन छाडेको हो ।  सुन विक्न छाडेपछि बैंकहरुले आयात पनि घटाएका छन् ।

 

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको आठ महिनामा पनि १४ अर्ब ९९ करोड रुपैयाँको सुन आयात भएको थियो । राष्ट्र बैंकको तथ्यांक अनुसार सुन आयात गत वर्ष भन्दा यो वर्ष झण्डै १४ अर्ब रुपैयाँले घटेको छ ।
 
नेपाल राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर बहादुर श्रेष्ठले बैंकले आयात गरेको सुन विक्री नभएकाले नै सुन आयातमा ठुलो अन्तर देखिएको  बताए । ‘बैंकहरुले आयात गरेको सुन विक्री भएको छैन त्यसैले पनि सुन आयात घट्यो,’ श्रेष्ठले बिजमाण्डूसँग भने, ‘बैंकिङ च्यानलबाट आएका बिक्री भएको छैन, अवैध रुपमा भित्रिएका सुन बजारमा छ । त्यसैले पनि आयातमा कमी देखियो ।’ बजारमा वैध सुन भन्दा अवैध सुन धेरै बिक्री भएकाले नै बैंकहरुले ल्याएको सुन नबिकेको श्रेष्ठले बताए ।
 
अहिले वैध च्यानलबाट दैनिक १५ किलोसम्म सुन भित्रिरहेको छ । तर बजारको माग भने २० देखि ३० किलोसम्म छ ।  बैंकहरुले आयात गरेको सुन बैंकमा थुप्रिरहेको भएपनि बजारमा भने सुनको अभाव भएको छैन ।

नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौड्यालले भने बैंकबाट व्यापारीले सुन लिन छोडेकाले आयातमा कमी आएको बताए । ‘अहिले बैंकबाट ब्यापारीहरुले सुन किनेका छैनन्, त्यसले पनि सुन आयातमा कमी भएको हो,’ पौड्यालले भने, ‘बजारको माग कसरी पुरा भएको छ त्यो त मैले भन्न सक्ने कुरा भएन तर बैंकहरुले आयात गरेको सुन भने बिकेको छैन ।’
 
राष्ट्र बैंकले बाणिज्य बैंकहरु मार्फत दैनिक १५ किलो सुन आयात गर्ने कोटा निर्धारण गरेको छ । ‘बैंकहरुले ल्याएको सुननै बिकेको छैन तर बजारमा सुन पर्याप्त छ,’ उनले भने, ‘यो कसरी भइरहेको छ हामीलाई थाहा हुँदैन ।’ नेपाल बैंकर्स संघका अनुसार बैंकहरुमा अहिले झण्डै सातसय ५० केजी भन्दा धेरै सुन स्टक छ ।
 
 
तर एक बैंकरले भने बजारमा अवैध सुन भित्रिएकाले नै बैंकमा सुन थुप्रिएको बताए । ‘बैंकमा सुन थुप्रिनु र बजारमा सुन छ्यापछ्याप्ती हुनुको कारण यही हो,’ उनले भने, ‘वैधानिक बाटोबाट आएको सुन नबिक्ने अनि अवैधानिक बाटोबाट आएको सुनले बजार भरिएको छ ।’
 
सुन आयात कम भएपनि बजारमा सुनको कुनै अभाव नभएको व्यवसायीहरु नै स्वीकार्छन् । नेपाल सुन चाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले बजारमा अवैध सुन धेरै भित्रिएकाले नै समस्या देखिएको बताए । ‘नेपालको बजारमा ३०/३५ किलोसम्म माग हुन्छ तर बैंकहरुले ल्याउने पनि १५ किलो मात्रै हो,’ उनले भने, ‘माग घटेको त छैन, तर बजारको माग धान्ने काम अवैध च्यानलबाट आएको सुनले गरेको छ ।’
 
उनले गत वर्षको तुलनामा यो वर्ष विवाहको लगन कम हुनु, बजारमा तस्करीको सुन आउनु र सुविधाबाट भित्रने सुनका कारण पनि वैधानिक बाटोबाट आएको सुन व्यापारमा कमी आएको बताए ।
 
बजारमा वैधानिक च्यानलबाट आएको सुन अवैधानिक भन्दा केही महँगो भएको पनि शाक्यको भनाइ छ । ‘तस्करीबाट आएको सुन तोलामा एकहजारदेखि १५ सय रुपैयाँसम्म महँगो छ भन्ने सुनेको छु,’ उनले भने, ‘यसले गर्दा अवैधानिक बाटोबाट आएको सुनले बजार लिएको हो ।’