स्वाईन फ्लुबाट रोजगार व्यवसायी संघका पूर्व अध्यक्षको निधन, व्यवसायीले सर्वमान्य नेता गुमाए

बिजमाण्डू
२०७२ बैशाख ७ गते ००:०० | Apr 20, 2015
स्वाईन फ्लुबाट रोजगार व्यवसायी संघका पूर्व अध्यक्षको निधन, व्यवसायीले सर्वमान्य नेता गुमाए


काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष एवं एसओएस म्यानपावरका संचालक सोमलाल बटाजुको निधन भएको छ । स्वाइन फ्लुका कारण बाटाजुको निधन भएको उनी उपचाररत ग्राण्डी इन्टरनेशनल हस्पिटलले जनाएको छ ।

Tata
GBIME
Nepal Life

'बटाजु ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना हुन आँउदा नै गम्भिर अवस्थामा आउनुभएको थियो,' ग्राण्डीका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले भने, 'उहाँलाई स्वाइन फ्लुको संक्रमणले कडा निमोनिया भएको र मल्टिपल अर्गान फेलियरका कारण निधन भयो ।'

एघार दिन अघि स्वास्थ्यमा समस्या देखिएर भर्ना भएका वटाजुको आइतबार राति साढे एक बजे निधन भएको हो । ६८ वर्षीय बटाजुका दुई छोरी, एक छोरा र श्रीमती छन् ।
स्वास्थ्य अवस्था विग्रिदै गएपछि उनलाई एयर एम्बुलेन्समार्फत भारत लैजान तयारी भएको थियो । तर मौसमको प्रतिकुलताका कारण समयमा एयरएम्बुलेन्स आउन सकेन । उनको स्वास्थ्य थप प्रतिकुल भएपछि गत सोमबार भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमा राखेपछि भारतको मेदान्त अस्पतालका चिकित्सकहरुले एयर एम्बुलेन्समा ल्याउन नसकिने जानकारी दिएका थिए ।

वैदेशिक रोजगार व्यवसायीमा सर्वमान्य नेताको रुपमा चिनिने वटाजुको अध्यक्ष कार्यकाल विवादरहित थियो । उनी २०६६देखि २०६८ सालसम्म अध्यक्ष बनेका थिए । संघको इतिहासमा उनी मात्रै विवादरहित र पूरै कार्यकाल अध्यक्ष बन्ने सौभाग्य पाएका थिए ।‘सबैलाई मिलाएर लैजानसक्ने मध्यमार्गी छबि उहाँको थियो । सबै वैदेशिक रोजगार व्यवसायीको प्रिय समेत हुनुहुन्थ्यो,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमुद खनालले बिजमान्डूसँग भने, ‘कुनै विवाद आउनेवितिकै उहाँको भूमिका आवश्यक हुन्थ्यो ।’

वटाजु अध्यक्ष भएको बेलामा लिबियामा गएका कामदारको समस्या आएको थियो । यो समस्यामा पनि वटाजुले सरकारसँग मिलेर सहज ढंगबाट व्यवस्थापन गरेका थिए ।‘लिबियाको समस्या समेत उहाँ नभएको भए सजिलोसँग व्यवस्थापन हुने थिएन,’ उनले भने, ‘आफ्नो कम्पनी समेत विवादरहित बन्नुमा उहाँको योगदान ठूलो छ ।’ एसओएस म्यानपावर सबैभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीमा पर्छ । वटाजु वैदेशिक रोजगार व्यवसायीमा आउनुअघि सरकारी कर्मचारी थिए ।