संघीयताको विवादित विषयमा सहमति जुटाउने जिम्मा ओली, प्रचण्ड र देउवालाई, ठोस निष्कर्ष छैन

बिजमाण्डू
२०७२ बैशाख ७ गते ००:०० | Apr 20, 2015
संघीयताको विवादित विषयमा सहमति जुटाउने जिम्मा ओली, प्रचण्ड र देउवालाई, ठोस निष्कर्ष छैन

काठमाडौँ । प्रमुख तीन राजनीतिक दलहरुले संघीयताको विवादित विषयमा सहमति जुटाउने जिम्मा शीर्ष तीन नेतालाई दिएका छन्। बालुवाटारमा बिहान बसेको बैठकले संघीयताको विषयमा सहमतिको जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवालाई दिएको हो।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति सुशील कोइराला विदेश भ्रमणमा रहने भएकाले कांग्रेसको तर्फबाट वरिष्ठ नेता देउवालाई जिम्मेवारी दिइएको हो। प्रधानमन्त्री कोइराला अफ्रो एसियाली मुलुकको सम्मेलनमा भाग लिन आज इन्डोनेसिया प्रस्थान गर्दैछन्। 

दलहरुबीच लगभग सहमति जुटिसकेको तर प्रस्ताव समितिले प्रश्नावली निर्माण गरेको विषयलाई समेत सहमति कायम गरेर अगाडि जाने निष्कर्षमा पुगेको बैठकपछि नेताहरुले बताए। दलहरु सहमति नजिक रहेका विषय शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीका विषयलाई मस्यौदा गरेर अगाडि जान एमाओवादी लचक बनेपछि दलहरु सहमतिको निकट पुगेका हुन्।

बैठकपछि एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले दलहरुबीच सहमति भएका विषय मस्यौदा समितिमा पठाएर अगाडि बढ्ने निर्णय भएको बताए। 

‘अब १० गतेसम्ममा सहमति गरिसक्ने भन्ने भएको छ’, बैठकपछि श्रेष्ठले भने।
 
छैन ठोस निष्कर्ष
शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीको प्रश्नहरुमा अब मतदान नभएर सहमति भएको भनेर अगाडि बढ्ने हो? भन्ने पहिलोपोस्टको प्रश्नमा एमाले सचेतक अग्नि खरेलले अझै ठोस निर्णय नभएको बताए।

‘मसिनो गरी केही भएको छैन। त्यसमा छलफल हुन्छ। सिद्धान्तत: यी कुरामा प्रचण्डजीले असहमत हुने कुरा भएन भन्नुभयो। छलफल गरेर लैजानुपर्छ भन्ने कुरा मात्र भएको छ’, सचेतक खरेलले भने ।