टुँडिखेलमा राष्ट्रपति यादवदेखि सभामुख नेम्बाङसम्मले योग गर्ने, बिजेपीका अध्यक्ष शाह पनि आउँदै

बिजमाण्डू
२०७२ बैशाख ७ गते ००:०० | Apr 20, 2015
काठमाडौं । शुक्रवारदेखि टुँडिखेलमा हुने रामदेवको शिविरमा राष्ट्रपति डा. रामवरण यादवदेखि सभामुख सुवासचन्द्र नेम्वाङसम्मले योग गर्ने भएका छन् । पतंजली योगपीठको आयोजनामा वैशाख ११ देखि १५ गतेसम्म टुँडिखेलमा योग विज्ञान शिविर आयोजना हुँदैछ ।

Tata
GBIME
Nepal Life

‘हामीले महामहिम राष्ट्रपति रामवरण यादवज्यूदेखि सम्मानीय सभामुख सुवासचन्द्र नेम्वाङज्यूसम्मलाई बोलाएका छौ । उद्घाटन कार्यक्रम राष्ट्रपति ज्यूबाट हुनेछ भने समापन कार्यक्रम सभामुखज्यूबाट हुनेछ,’ शिविरका मूल आयोजक समितिका संयोजक ओमप्रकाश बंशलले बिजमान्डूसँग भने, ‘उहाँहरुले पनि योग गर्नुहुने अपेक्षा गरेका छौ । हामीले उहाँहरुले योग गरेर सम्पूर्ण जनतालाई योग गर्न जागृत गर्नुहुन्छ भन्ने अपेक्षा गरेका छौ ।’ पहिलो पल्ट रामदेव नेपाल आउँदा शीर्ष नेताहरुले समेत टुँडिखेलमा गएर योग गरेका थिए ।उनका अनुसार प्रमुख दलका शीर्ष नेताहरुलाई समेत योग शिविरमा आमन्त्रण गरिएको छ ।

‘हामीले सबै दलको शीर्ष नेताहरुलाई बोलाएका छौ । उहाँहरु आएर योग गर्नुहुने अपेक्षा गरेका छौ,’ उनले भने, ‘योगमार्फत मुलुकलाई सही राजनीतिक दिशातर्फ डो¥याउन सहयोग पुग्ने अपेक्षा गरेका छौ ।’ ६ दिनको बसाईमा रामदेवसँगै आचार्य वालकृष्ण समेत आउनेछन् । बंशलका अनुसार अहिलेसम्म बीस हजार पास वितरण भइसकेको छ ।‘एक महिना अघिसम्म योग शिविरमा सहभागिता कस्तो होला भन्ने चिन्ता लागेको थियो,’ उनले भने, ‘तर अहिले तीन दिनमा बीस हजार पास वितरण भएपछि हामी उत्साहित भएका छौ ।’ पंतजलीले यो पटक सर्वसाधरणलाई निशुल्क रुपमा पास वितरण गरेको छ । पंतजलीको देशभर रहेको सञ्जालमार्फत पास वितरणमा सहज भएको उनले बताए ।

‘हामीसँग ७५ जिल्लामै सञ्जाल र योग शिक्षकहरु हुनुहुन्छ । उहाँहरुको सहभागिताले समेत हामीलाई यो शिविर सफल बनाउन सजिलो भएको छ,’ बंशलले भने, ‘हामीले काठमाडौं उपत्यकामा रहेको आयुर्वेद सेन्टरमार्फत पास दिने व्यवस्था गरेका छौ भने जिल्लामा घर÷घरमा वितरणको लागि भनेका छौ । अहिलेसम्म पास वितरणमा गुनासो आएको छैन ।’ योग शिविर व्यवस्थापनको लागि योग शिक्षक, योगीहरु स्वयंसेवकको रुपमा खटिनेछन् । प्रहरीले समेत व्यवस्थापनमा सघाउने बचनबद्धता पाइसकेको बंशलले बताए ।

‘हाम्रा योग शिक्षक, योगीहरु विहानै ३ बजे उठेर नित्यकर्म सकेर व्यवस्थापनको लागि आउनुहुनेछ,’ उनले भने, ‘सुरक्षा निकायबाट समेत पूर्ण सहयोगको वचनवद्धता आइसकेको छ ।’ योगपीठले विद्यार्थीको लागि बेलुका योग शिविर संचालन हुनेछ । बंशलका अनुसार बेलुका ४ देखि ६ बजेसम्म विद्यार्थी र अभिभावकलाई राखेर योग गराइनेछ ।‘भबिष्यका कर्णधारलाई योग गराएर सकारात्मक सोच ल्याउन आवश्यक छ,’ उनले भने, ‘स्वामी रामदेवले पनि मुलुकलाई राम्रो बनाउने हो भने विद्यार्थीलाई योग गराउन आवश्यक छ भन्नुभएको थियो । त्यही आधारमा हामीले विद्यार्थी र अभिभावकका लागि छुट्टै शिविर राखेका हौ ।’
विजेपीका अध्यक्ष शाह आउँदै
भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह समेत योग शिविरमा आउने भएका छन् । पंतजली योगपीठले शाह नेपाल आउने कार्यक्रमलाई अत्यन्तै गोप्य राखेको छ ।‘उच्च व्यक्तित्व आउने भन्ने मैले पनि सुनेको छु । तर को आउँदै हुनुहुन्छ हामीलाई समेत जानकारी छैन,’ बंशलले भने ।