यातायात व्यवसायीले न्यूनतम भाडामै ठगे, व्यवसायीलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र

बिजमाण्डू
२०७२ बैशाख ८ गते ००:०० | Apr 21, 2015
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेपछि समायोजन भएको भाडा कार्यान्वयन नगर्ने यातायात व्यवसायीलाई कारवाही गर्न उपभोक्ताहित संरक्षण मञ्चले माग गरेको छ ।

Tata
GBIME
Nepal Life

सरकारले न्यूनतम भाडा १३ रुपैयाँ तोकेकोमा व्यवसायीले १५ रुपैयाँ लिएको भन्दै कारवाहीको माग गर्दै यातायात व्यवस्था विभागमा मञ्चले ज्ञापनपत्र बुझाएको छ । 


‘सरकारले दुई पटक गरेर सार्वजनिक यातायातको भाडा घटाएको छ । तर यातायात व्यवसायीले अटेर गरेर उपभोक्ता ठग्दै आएका छन्,’ मञ्चका सदस्य जगन्नाथ मिश्रले भने, ‘देख्दा सानो रकम भएपनि यातायात व्यवसायीले लाखौ रुपैयाँ उपभोक्ताबाट अतिरिक्त रुपमा उठाएका छन् ।’
 
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटेपछि भाडा घटाउने निर्णय गरेको थियो । वैज्ञानिक भाडादर कार्यान्वयनमा आएपछि पाँच रुपैयाँ भन्दा बढी पेट्रोलियम पदार्थमा मूल्य घटबढ हुनेवितिकै बढाउने उल्लेख छ ।
 
तर व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य बढ्नेवितिकै भाडा बढाउने तर घट्दा नघटाउने रवैया देखाएका छन् । पछिल्लो समयमा पेट्रोलको मूल्य एक लिटरको १ सय ३५बाट घटेर १ सय ९ रुपैयाँ र १ सय ९ रुपैयाँबाट घटेर ८६ रुपैयाँ ५० पैसामा आइसकेको छ ।