एनसिसी र एनबी बैंकबीच मर्जर अगाडि वढ्यो, बंगलादेशीले दुई सर्त राखे, राष्ट्र बैंक मान्न तयार

बिजमाण्डू
२०७२ बैशाख ८ गते ००:०० | Apr 21, 2015
एनसिसी र एनबी बैंकबीच मर्जर अगाडि वढ्यो, बंगलादेशीले दुई सर्त राखे, राष्ट्र बैंक मान्न तयार
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकको मर्जर प्रकृया अगाडि बढाएको छ । २०७० माघदेखि सञ्चालक समिति जिम्मा लिएको राष्ट्र बैंकले एनसिसी बैंकको मर्जरका लागि एनबी बैंकका विदेशी साझेदार आइएफआइसी बैंकसँग कुराकानी थालेको छ ।
 
कुराकानी सकारात्मक रुपमा अगाडि बढेको छ, उनीहरुले केही सर्तहरु राखेका छन् । छिट्टै मर्जर टुङ्गिन्छ ।

महाप्रसाद अधिकारी, डेपुटी गभर्नर

‘कुराकानी सकारात्मक रुपमा अगाडि बढेको छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले बिजमाण्डूसँग भने, ‘उनीहरुले केही सर्तहरु राखेका छन् । छिट्टै मर्जर टुङ्गिन्छ ।’

 
बंगलादेशी बैंक आइएफआइसीले मर्जरपछि बन्ने नयाँ बैंकमा आफ्नो मेजुरिटी सेयर खोजेको छ । उसले माथिल्लो व्यवस्थापनमा विदेशी कर्मचारीहरुलाई ल्याएर काम लगाउन पाउनु पर्ने माग पनि राखेको छ ।
 
‘उनीहरुले मागेको दुबै कुरा दिन हामीलाई गाह्रो छैन,’ अधिकारीले भने, ‘यो बिषयमा केही प्राविधिक कुराहरु मिलाउनु पर्ने हुन्छ ।’ उनले अन्य विदेशी साझेदार भएका बैंकहरुलाई पनि बंगलादेशीले मागेजस्तै सुविधा दिइएकाले उनीहरुको माग संवोधन गर्न  गाह्रो नहुने जानकारी दिए ।
 
दुबै बैंक कुन सेयर अनुपातमा गाभिने भन्ने विषय भने सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांक (डिडिए) गरेपछि मात्र टुङ्गो लाग्ने छ । एनसिसीसँग सम्पतिहरु भएकाले सम्भवत एक बराबर एकको अनुपातमा गाभिन सक्ने छन् । 
 

Tata
GBIME
Nepal Life
राष्ट्र बैंकले नेपाली सेयरधनीहरुसँग भने यसअघि नै कुराकानी गरिसकेको छ । एनसिसी बैंकको सञ्चालक समितिमा एनबी समूह र निर्मल प्रधान समूहबीच झगडा भएपछि राष्ट्र बैंकले वोर्ड टेक ओभर गरेको थियो ।
 
राष्ट्र बैंकले एनसिसीको पुँजी दुई अर्ब पुर्याउने र नयाँ संस्थासँग मर्जर गर्ने दुई वटा एजेन्डा लिएर संस्था टेकओभर गरेको थियो । टेकओभर गरेको बर्ष दिनभन्दा वढी भइसक्दा पनि दुबै लक्ष्य हासिल भएको छैन ।
 
नेपाल राष्ट्र बैंकको समूहले एनसिसीको पुँजी बृद्धि गर्न नाफाबाट ३८ प्रतिशत वोनस सेयर दिने निर्णय सहित बार्षिक साधारणसभा बोलाए पनि केही सेयरहरुको नामसारीमा समस्या देखिएपछि साधारणसभा नै स्थागित भएको छ । 
 
बैंकको अहिले चुक्ता पुँजी एक अर्ब ४७ करोड रुपैयाँ छ । २०७१ असार मसान्तसम्म बैंकले दुई अर्ब पुँजी पुर्याउनु पर्ने राष्ट्र बैंकको निर्देशन भएपनि पुरा हुन सकेको छैन ।