विन्डोज–१० को पूर्णरुप जुलाई अन्तिममा सार्वजनिक गर्ने, विन्डोज-८ का कमजोरी सच्याउँदै

बिजमाण्डू
२०७२ बैशाख ९ गते ००:०० | Apr 22, 2015
विन्डोज–१० को पूर्णरुप जुलाई अन्तिममा सार्वजनिक गर्ने, विन्डोज-८ का कमजोरी सच्याउँदै


एजेन्सी । माइक्रोसफ्टले विन्डोज १० जुलाईको अन्त्यसम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ । यो विन्डोजको नयाँ पुस्ता हो । परीक्षणका रुपमा यो भर्सन सार्वजनिक भएपनि पूर्णरुपमा बजारमा आएको छैन ।

Tata
GBIME
Nepal Life

एएमडीका सिइओ लिसा सुले अब सार्वजनिक हुने विन्डोज १० ले बजार पुरै आफ्नो पक्षमा पार्ने दावी गरेकी छन् । उनले विन्डोज १० ले पुराना विन्डोजलाई छिट्टै विस्थापित गर्ने दावी गरिन ।

‘हामी त्यसमा काम गरिरहेका छौं, जुलाई अन्त्यसम्ममा सार्वजनिक गर्न हामी सक्षम हुने छौं ।’ उनले भनिन् । सुले नयाँ अपरेटिङ सिस्टमका कारण कम्प्युटरको विक्रिमा वृद्दि हुने विश्वाससमेत व्यक्त गरिन् ।

माइक्रोसफ्टले पहिला नै समरसम्ममा विन्डोज १० आउने घोषणा गरेको थियो । त्यसैले पनि जुलाई अन्तिमसम्ममा विन्डोज १० आउनेमा विश्वास गर्न सकिन्छ । विन्डोज ८ मा भएका कमजोरीलाई सच्याउनका लागि कम्पनीले काम गरिरहेको एएमडीको वेवसाइटमा उल्लेख छ । विन्डोज ८ लाई कम्प्यूटर प्रयोगकर्ताले  त्यसको ट्याबलेट केन्द्रित विशेषता र ड्यूल पर्सनालिटी स्टार्ट स्क्रिनका कारण आलोचना गर्दै आएका थिए । त्यसैले माइक्रोसफ्टले प्रयोगकर्तालाई सहज हुने हिसाबले पिसी, ल्यापटप, ट्याबलेट र स्मार्ट फोन सबैमा मिल्ने विन्डोज निर्माण गरिरहेको हो ।

विन्डोज १० का प्रयोगकर्ताहरुले कस्तो प्रतिक्रिया दिन्छन भनेर जान्न कम्पनी निकै उत्सुक रहेको बताइएको छ । माइक्रोसफ्टले नयाँ अपरेटिङ सिस्टमको बारेमा जान्न अक्टोवरमा विन्डोज १० टेक्निकल प्रिभ्यू रिलिज गरेको थियो । केही मानिसहरुलाई नयाँ सिस्टम चलाउन दिई त्यसबाट उनीहरुको धारणा लिइएको थियो । उनीहरुको सुझाव समेत ध्यानमा राखि सबैको मन जित्न सक्ने भर्सन ल्याउन अहिले काम भइरहेको छ ।

विन्डोज ८ मा हटाइएको स्टार्ट मेनू अब विन्डोज १० मा देख्न सकिने छ । सजिलैसँग विन्डोज एप र पुराना डेक्सटप प्रोग्रामहरुमा जान मिल्ने गरी विन्डोज १० को विकास भइरहेको छ । नयाँ ब्राउजरको कोडनेम स्पार्टन राखिएको छ जसले इन्टरनेट एक्सप्लोरर भन्दा फरक रुपमा काम गर्नेछ । यो सिस्टमको स्क्रिनमा अन्य नयाँ विशेषता पनि राख्ने तयारी कम्पनीको छ ।

विन्डोज १० का बारेमा थप जानकारीहरु दिन माइक्रोसफ्टले यो महिनाको अन्त्यमा ‘विउल्ड डिभिलोपर्स कन्फेरेन्स’ गर्नेछ जसमा विन्डोज १० को अफिसियल लन्च गरिने मिति सार्वजनिक हुनेछ ।

विन्डोज इन्साइडर प्रोगामका एक सहभागि ल्यान्स ह्विटनेका अनुसार माइक्रोसफ्टसँग लक्ष्य अनुरुप काम गर्न निकै थोरै समय छ । उनले भने, ‘अक्टोबरदेखि केही प्रयोगकर्ताको धारणा लिई काम भइरहेकोले अपरेटिङ सिस्टममा धेरै नै सुधार हुने आशा लिएको छु ।’