सगुन कर्पोरेसन र अमेरिकामा रहेका नेपाली लगानीकर्ताबीच पाँच लाख डलरको लगानी सम्झौता

बिजमाण्डू
२०७२ बैशाख ११ गते ००:०० | Apr 24, 2015
सगुन कर्पोरेसन र अमेरिकामा रहेका नेपाली लगानीकर्ताबीच पाँच लाख डलरको लगानी सम्झौता
काठमाडौं। अमेरिकाको वासिङ्टन डीसी तथा भारतको नयाँ दिल्लीबाट सञ्चालित सगुन कर्पोरेशनले प्रवर्द्धन गरेको सामाजिक मञ्च सगुन डटकमको उत्पादन तथा इन्जिनियरिङ क्षेत्रको विकासका लागि झण्डै पाँच करोड रुपैयाँ (पाँचलाख डलर)को प्रारम्भिक लगानी सम्झौता भएको छ। अमेरिकामा बसोबास गर्ने नेपाली लगानीकर्तासँग कर्पोरेशनले यो सम्झौता गरेको हो।

Tata
GBIME
Nepal Life


 

नेपाल, भारत र अमेरिकामा वेव तथा मोवाइल एप्लिकेशन निर्माण तथा जनशक्ती विस्तारमा समेत यो रकम लगानी गर्ने कर्पोरेशनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। यससँगै सगुनले उत्पादनमा समुदायको सहज पहुँच निर्माण गर्ने उद्देश्य राखेको पनि जनाएको छ। कम्पनीको भिजन वेव ३ को पहिलो चरणमा गत फेब्रुअरीमा सगुनले परीक्षण स्वरुप सोसियल स्मार्ट कार्ड र मी पेजको सुरुवात गरेको थियो।
 
सगुनले प्रवर्द्धन गरेको सोसियल स्मार्ट कार्ड उपभोक्ताको लागि फाइदाजनक रहेको विज्ञप्तीमा उल्लेख छ। स्मार्ट कार्डमार्फत सगुनले आफूले कमाउने रकममा प्रयोगकर्तालाई पनि हिस्सेदार बनाउने योजना ल्याएपछि यसमा प्रयोगकर्ता आकर्षित भएको कम्पनीले जनाएको छ। यो योजना अन्तर्गत सगुनले सुरुमा खाता खोल्नेलाई पाँच डलर उपलव्ध गराउने जनाएको छ। 
 
एकद्वार डिजिटल कार्डको रुपमा विकसित कार्डले अनलाइन खरिद विक्रि र उपहार आदान–प्रदानमा महत्वपूर्ण भूमिका खेल्ने प्रवर्द्धक कम्पनी सगुन कर्पोरेशनले जनाएको छ। उपभोक्ताको व्यक्तिगत र व्यवसायिक सफलताका लागि यो कार्यक्रम परोपकारी अभियान नै रहेको उल्लेख गर्दै प्रयोगकर्तालाई मी पेजको उपयोगले जीवनका थुप्रै उपलब्धि बोध गराउने विज्ञप्तीमा उल्लेख छ। 
 
प्रत्येक हप्ता २० प्रतिशतका दरले बढीरहेका प्रयोगकर्ताको संख्या अझै बढ्ने क्रममा रहेको कम्पनीले जनाएको छ। हालसम्म एक लाख ५६ हजार प्रयोगकर्ता सगुनसँग जोडिएका कम्पनीको भनाइ छ। मी पेजको सुरुवातपछि ४८ हजार पेज निर्माण भइसकेको र पाँचलाख भन्दा धेरै बढी टेक्स्ट म्यासेज र फोटो आदान–प्रदान भएको पनि कम्पनीले जनाएको छ। 
 
पेन्टागनका सिस्टम इन्जिनियर रहेर काम गरिसकेका सगुनका संस्थापक गोविन्द गिरीले सम्झौता पश्चात लगानीकर्ता प्रति आभार व्यक्त गरेका छन् । सगुनका सह–संस्थापक कविन सिटौलाले आफूहरुले प्रवर्द्धन गर्न लागि रहेको प्रविधिले लाखौं नागरिकको जीवनमा आमूल परिवर्तन ल्याउने बताए। 
जुलाई २०१४ मा सगुनले सुरु गरेको एप्लिकेशनको प्रारम्भमा सिक्रिट र अकेजन समावेश थियो। ती एप्लिकेशनको उपयोगबाट उपभोक्ताले तस्बिर र आफ्ना कुरा भन्न, गोप्यता उजागर गर्न र व्यक्तिगत विशेष क्षणका बिषयहरु आदान–प्रदान गर्न सक्ने कम्पनीले जनाएको छ।