नेपाल टेलिकमले अहिलेसम्म दिएको सबै सेवा निशुल्क, विहीबार राति १२ बजेपछि पैसा काटिने

बिजमाण्डू
२०७२ बैशाख १७ गते ००:०० | Apr 30, 2015
नेपाल टेलिकमले अहिलेसम्म दिएको सबै सेवा निशुल्क, विहीबार राति १२ बजेपछि पैसा काटिने

काठमाडौं । नेपाल टेलिकमले शनिबार गएको महाभूकम्पको विपत्तीपछि दिँदै आएको सम्पूर्ण सेवा निशुल्क भएको जनाएको छ । टेलिकमले यो सेवा विहीबार राति १२ बजेसम्म मात्रै कायम हुने पनि स्पष्ट पारेको छ ।

Tata
GBIME
Nepal Life

'टेलिकमले जिएसएम तथा सिडिएमए नेटवर्कबाट भएका सम्पूर्ण कलहरु (अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय) तथा एसएमएस तथा डेटा निःशुल्क उपलब्ध गराएको' टेलिकमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । टेलिकमले अहिलेसम्मको सेवा निशुल्क भएको र त्यससमयपछि गर्ने प्रत्येक कल, एसएमएस र डेटाको नियमअनुसार शुल्क लाग्ने पनि जनाएको छ ।

यस्तै रिचार्ज कार्डको उपलब्धता सहज नभएसम्मको अवधिको लागि ब्यालेन्स सकिए पनि कल तथा एसएमएस गर्ने सुविधा उपलब्ध हुने तर यसको भने शुल्क लाग्ने टेलिकमले स्पष्ट पारेको छ ।

वाइम्याक्समार्फत वाइफाइ हटस्पट सेवा उपलब्ध गराइरहेकोमा भूकम्प प्रभावित क्षेत्र तथा उद्धार कार्यमा सहजता हुने गरी यो सेवा निःशुल्क रुपमा उपलब्ध हुने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ ।

यस्तै टेलिकमले भूकम्प पीडितको उद्धारको लागि १२३४ नम्बरको हटलाइन सञ्चालनमा ल्याएको पनि जानकारी गराएको छ । पिएसटिएन सेवामा भने वैशाख महिनाको न्यूनतम महसुलमा थप एकसय कल निःशुल्क गरिएको तथा एडिएसएल सेवामा वैशाख महिनाको लागि एक हप्ताको अवधि थप गरिएको छ ।