दुरुपयोग रोक्न सहायताको रकममा इयरमार्क, व्यक्तिगत र सस्थागत रुपमा सहयोग ल्याउन रोकिँदैन

बिजमाण्डू
२०७२ बैशाख १८ गते ००:०० | May 1, 2015
दुरुपयोग रोक्न सहायताको रकममा इयरमार्क, व्यक्तिगत र सस्थागत रुपमा सहयोग ल्याउन रोकिँदैन

काठमाडौं । सहायताको नाममा आउने रकम दुरुपयोग नहोस भनेर नेपाल राष्ट्र बैंकले राहत संकलनका बैंक खाता इयरमार्क गरेको जनाएको छ । वास्तविक पीडितसम्म पैसा पुग्नु पर्छ भनेर बैंक खाता इयरमार्क गरिएको राष्ट्र बैंकका उच्च अधिकारीहरुले बताएका छन् ।

Tata
GBIME
Nepal Life

‘इयरमार्क गरेपछि खातामा जम्मा भएको सबै रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जान्छ । सबै पैसा राज्यको खातामा गएपछि दुरुपयोग हुँदैन, राज्यलाई त सबैले विश्वास गर्नुपर्‍यो ।’

 महाप्रसाद अधिकारी
डेपुटी गभर्नर

राहत संकलनका लागि खोलिएका खाता इयरमार्क गर्ने निर्णय गरेपछि केही समूहले विरोध जनाएका थिए । सरकारको विश्वास कम भएकोले सहयता नआउने भन्दै इयरमार्कको विरोध गरेका हुन् । इयरमार्क गरिएको विषयमा राष्ट्र बैंकका उच्च अधिकारीहरुले अर्थमन्त्रालय र योजना आयोगका पदाधिकारीलाई शुक्रबार विहान व्रिफिङ पनि गरेका छन् ।

‘राहत संकलनका लागि प्रसस्तै बैंक खाता खोलिएका छन् । बैंकमै खाता खोलेर नगद संकलन गरेपछि दुरुपयोग हुदैन होला भनेर सर्वसाधारणले विश्वास गर्छन्, राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले भने, तर यस्तो पैसा सबै सदुपयोग हुन्छ भनेर यकिन गर्न सकिदैन । इयरमार्क गरेपछि पैसा दुरुपयोग हुदैन ।’ राहत संकलनका लागि इयरमार्कले कुनै समस्या नपुग्ने राष्ट्र बैंकको विश्लेषण छ ।

राहतका नाममा संकलित रकम सवारी साधनमा, कर्मचारीका लागि, व्यवस्थापनमा खर्च भएको उदाहरण यस अघि भेटिएको थियो । राष्ट्र बैंकले खाता इयरमार्क गर्नुको प्रमुख कारण पनि यही हो । ‘इयरमार्क गरेपछि खातामा जम्मा भएको सबै रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जान्छ, डेपुटी गभर्नर अधिकारीले भने, सबै पैसा राज्यको खातामा गएपछि दुरुपयोग हुदैन, राज्यलाई त सबैले विश्वास गर्नुपर्यो ।’

राहतका लागि कुनै व्यक्तिले एक हजार रुपैयाँ सहयोग गरेको छ भने एक हजार नै वास्तविक पीडितले पाउन सकोस भनेर यस्तो व्यवस्था गरिएको राष्ट्र बैैंकले जनाएको छ । इयरमार्कको उद्देश्य संकलित पैसा आफूखुसी प्रयोग गर्न नदिनु रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । उनीहरुले अर्थमन्त्री सहित योजना आयोगका पदाधिकारीलाई पनि यही जानकारी दिएका छन् ।

इयरमार्कले व्यक्तिगत रुपमा वा परोपकारी सस्था मार्फत आउने सहयोगलाई असर गर्दैन । व्यक्तिलाई विश्वास गरेर आउने सहयोग यो व्यवस्थाले कुनै असर पार्दैन । यस्तो सहयोग व्यक्तिगत खातामा आउँछ र व्यक्तिले नै यसलाई कहाँ खर्च गर्ने भनेर निर्णय गर्छ ।

परोपकारी सस्थाले पनि आफ्नो खातामा आएको पैसालाई सदुपयोग गर्न पाउँछन् । विधानमै परोपकारी सस्था भनेर उल्लेख भएका सस्थाले आफ्नै खातामा पैसा जम्मा गरेर राहत कार्यमा सहयोग गर्न सक्छन् । परोपकारी सस्थाको आफ्नो खातामा इएरमार्क हुदैन । यस्ता सस्थाले छुट्टै राहत संकलन खाता सञ्चालन गरे भने ती खाता इयरमार्क हुन्छ ।

खातामा इयरमार्क भएपनि राहत संकलन गर्नेले नै पैसा सरकारलाई दिनु पर्छ । ‘आफूले संकलन गरेको पैसा यति भयो भनेर उनीहरुले नै सरकारलाई दिने हो, डेपुटी गभर्नर अधिकारीले भने, संकलन गर्नेले आफै पैसा खर्च गर्न भने पाउँदैनन् । यसले पैसा वास्तविक पीडितसम्म पुर्याउन सहयोग गर्छ ।’