सहयोग संकलनमा कीर्तिमान : भूकम्पपीडितका लागि बेलायतमा तीन दिनमै जुट्यो पाँच अर्ब रुपैयाँ

बिजमाण्डू
२०७२ बैशाख १८ गते ००:०० | May 1, 2015
सहयोग संकलनमा कीर्तिमान : भूकम्पपीडितका लागि बेलायतमा तीन दिनमै जुट्यो पाँच अर्ब रुपैयाँ


काठमाडौं । नेपालका भूकम्पपीडितका लागि बेलायतमा झण्डै पाँच अर्ब रुपैयाँ सहयोग जुटेको छ। बेलायतका १३ वटा ठूला च्यारिटी संस्थाले गठन गरेको ‘डिजास्टर इमरजेन्सी कमिटी’ (डिइसि)ले गरेको सहयोग अपिलमा तीन करोड १० लाख पाउण्ड अर्थात् झण्डै पाँच अर्ब रुपैयाँ जुटेको हो।

Tata
GBIME
Nepal Life

डिइसीका प्रमुख कार्यकारी अधिकृत सलेह सहिदले ट्विट गर्दै सहयोग आह्वानको तीन दिनमा तीन करोड १० लाख पाउण्ड जुटेको जानकारी दिए। उनले ट्विटमा लेखेका छन्, 'बेलायती जनता महान छन्। आश्चर्यचकित तीन करोड १० लाख पाउण्ड सहयोग गरे।'

 

उनले अर्को एउटा ट्विटमा नेपाललाई थुप्रै सहयोग आवश्यक भएको भन्दै सहयोग जारी राख्‍नसमेत आह्वान गरेका छन्। डिइसीमा बेलायत सरकारले पाँच लाख पाउन्डको म्याचिङ फण्ड दिएको थियो। सरकारबाट रकम प्राप्त गरेपछि डिइसीले बेलायतका करदातासँग सहयोग आह्वान गरेको थियो। डिइसिले ‘पेपाल’ लगायतका साधनमार्फत सर्वसाधरणबाट यो रकम जुटाएको हो।

डिइसीले सहयोग आह्वानको पहिलो दिन एक करोड ९० लाख पाउण्ड जुटाएको थियो। यो डिइसिले यस अघिका कुनै पनि आह्वानमा जुटाएको सबैभन्दा ठूलो सहयोग थियो। डिइसीका लागि बेलायतकी अभिनेत्री जोअना लुम्ले, बोण्ड फिल्मका नायक ड्यानियल क्रेग, बेलायती दैनिक पत्रिका, टेलिभिजन र रेडियोले नेपालमा सहयोगका लागि अपिल गरेका थिए। यसमा बेलायती राजपरिवारको पनि समर्थन छ। 

डिइसीमा बेलायती संस्थाहरु एक्सन एड, एज इन्टरनेशनल, ब्रिटिस रेडक्रस, क्याफोड, केयर इन्टरनेशनल, क्रिष्टियन एड, कन्सर्न वल्र्डवाइड, इस्लामिक रिलिफ, अक्सफाम, प्लान युके, सेभ द चिल्ड्रेन, टियरफण्ड र वल्र्ड भिजन सदस्य छन्।
 
डिइसिले अहिलेसम्म ६४ वटा अपिलबाट एक अर्ब १० करोड डलर जुटाएको छ । सबैभन्दा बढी सन् २००४ को सुनामी अपिलमा ३९ करोड २० लाख पाउण्ड जुटाएको थियो ।