बैंकिङ सेवा नियमित, अधिकांस शाखा सञ्चालनमा आए, एक महिनासम्म एटिएम शुल्क नलाग्ने

बिजमाण्डू
२०७२ बैशाख २० गते ००:०० | May 3, 2015
बैंकिङ सेवा नियमित, अधिकांस शाखा सञ्चालनमा आए, एक महिनासम्म एटिएम शुल्क नलाग्ने

काठमाडौं । बैंक तथा वित्तीय सस्थाले आफ्ना अधिकांस शाखाको सेवा सामान्य बनाएका छन् । महाभूकम्पका कारण ठप्प भएको सेवा आइतबार देखि पूर्णरुपमा सामान्य बनेको हो ।
 
‘उपत्यका भित्रका अधिकांस शाखा बैंकिङ आवर भरि खुल्छन्, नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिल शाहले भने, भूकम्पबाट अति प्रभावित केही ग्रामीण शाखा मात्रै खुल्न सकेका छ्रैनन् । भवन क्षतिग्रस्त भएका शाखालाई पनि स्थानान्तरण गरेर चाडौं सञ्चालनमा ल्याउँछौं ।’ भूकम्पबाट ध्वस्त भएका शाखाहरु भने अहिले सञ्चालनमा छैनन् । ती शाखाको सट्टा नजिकको अर्को शाखामा गएर सेवा लिन सकिन्छ ।
 
बैंक तथा वित्तीय सस्थाका एटिएम सेवा पनि नियमित भएका छन् । बैंकहरुले गत साता रकम झिक्न सीमा तोकेका थिए । अहिले यस्तो सीमा हटाइएको छ । सेवाग्राहीले वैशाख १२ गतेको भूकम्प अघि जसरी नै बैंकिङ कारोबार गर्न सक्ने जानकारी मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका शाहले जानकारी दिए ।
 
‘हाम्रा अधिकांस शाखा सञ्चालनमा छन्, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका कर्पोरेट अफियर्स प्रमुख दिवाकर पौडेलले भने, एटिएम सेवा नियमित छन्, सेवाग्राहीलाई कुनै समस्या विना बैंकिङ सेवा दिइरहेका छौं ।’ हेल्थ एण्ड सेफ्टीको अन्तराष्ट्रिय नियम भित्र बसेर सबै शाखा नियमित सञ्चालन गरिरहेका छौं ।’ गत आइतबार देखि नै स्ट्याण्डर्ड चार्टर्डका एटिएम सञ्चालनमा आएका थिए ।

Tata
GBIME
Nepal Life

 

बैंकहरुले सन्ध्याकालिन काउन्टरहरु भने सञ्चालनमा ल्याएका छैनन् । अहिले नियमित बैंकिङ आवर मात्रै खोल्ने र स्थिति सामान्य हुदै गएपछि सन्ध्याकालिन काउन्टर सञ्चालनमा ल्याउने योजना बैंकहरुको छ ।
 
बैंकहरुले एटिएमबाट हुने कारोबारलाई भने सहज बनाएका छन् । एउटा बैंकको एटिएम मेशिनमा अर्को बैंकको कार्ड प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था बैंकहरुले गरेका छन् । सेवाग्राहीले एक महिनासम्म यस्तो सेवा प्रयोग गर्न पाउने जानकारी संघका उपाध्यक्ष शाहले दिए ।
त्यस्तै एक महिनाका लागि बैंकहरुले आन्तरिक रेमिटेन्समा लाग्ने शुल्क पनि हटाएका छन् । वाह्य मुलुकबाट नेपाल पैसा पठाउँदा सम्बन्धित मुलुकमा शुल्क लाग्न सक्छ तर नेपाल भित्र रेमिटेन्सको कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको जानकारी बैंकर्सहरुले दिएका छन् ।