पुँजी बजार खुल्ने मिति अझै अनिश्चित, भवन चर्किएपछि सिडिएससीले राफसाफको काम गर्न सकेन

बिजमाण्डू
२०७२ बैशाख २० गते ००:०० | May 3, 2015
पुँजी बजार खुल्ने मिति अझै अनिश्चित, भवन चर्किएपछि सिडिएससीले राफसाफको काम गर्न सकेन


काठमाडौं । भुकम्पले पूर्वाधार र आवश्यक जनशक्ति नभएको भन्दै केही समय सेयर कारोबार रोक्न सेयर ब्रोकर र लगानीकर्ताले माग गरेका छन् । भुकम्पपछि ब्रोकर कम्पनी समेत चर्किएका र  कर्मचारी आ–आफ्नो घर गएकोेले कारोबार गर्न नसकिने जनाउँदै कारोबार रोक्न माग गरेका हुन् ।

Tata
GBIME
Nepal Life

यो माग पछि नेपाल स्टक एक्सचेन्जको संचालक समितिको बैठक आइतबार बसिरहेको छ । यो बैठकले कारोबार सुचारु गर्ने वा रोक्ने बारेमा निर्णय गर्नेछ ।

‘संचालक समितिको बैठक बसिरहेको छ । बैठकपछि मात्रै कारोबार रोक्ने/नरोक्ने बारेमा निर्णय हुनेछ,’ स्टकका महाप्रवन्धक सिताराम थपलियाले बिजमान्डूसँग भने । भुकम्पपछि एक सातादेखि सेयर कारोबार ठप्प छ । सेयर बजारमा दैनिक औसतमा २० करोडको कारोबार हुने गर्थ्यो ।
 
इन्भेष्टर्स फोरम नेपालले महाभुकम्पको राहत महत्वपूर्ण भएको भन्दै सेयर कारोबार एक महिना रोक्न माग गरेको छ । फोरमले आइतबार धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई ज्ञापनपत्र बुझाएर कारोबार एक महिना रोक्न माग गरेको हो ।

‘भुकम्पले मुलुकलाई संकटमा पारेको बेलामा राहत पहिलो प्राथमिकता हो,’ फोरमका अध्यक्ष राजकुमार तिमिल्सिनाले बिजमान्डूसँग भने, ‘त्यसैले हामीले एक महिना सेयर कारोबार रोक्न माग गरेका हौं ।’ अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विपत्ति आएको बेलामा सेयर कारोबार बन्द हुने गरेको उनले बताए ।

‘जापानमा भुकम्प गएको बेलामा तीन महिना सेयर कारोबार रोकिएको थियो । अन्य मुलुकहरुमा पनि कारोबार रोकिएको थियो,’ उनले भने, ‘पूर्वाधारको हिसाबले पनि कारोबार गर्न सकिने अवस्था छैन ।’

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले समेत आफ्नो भवन चर्किएको भन्दै तत्काल कारोबार गर्न नसकिने जनाएको छ । सिडिएसको कार्यालय थापाथलीको शिखर विज सेन्टरमा छ । नेपाल ब्रोकर एसोसिएसनले सेयर कारोबारका लागि आवश्यक कर्मचारी वाहिर रहेकोले केही दिन स्थगित गर्न आग्रह गरेको छ ।

‘भुकम्पपछि धेरै कर्मचारी आफ्नो घर गएका छन् । घरमा रहेका अभिभावकको उद्वार पहिलो प्राथमिकता हो,’ एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले बिजमान्डूसँग भने, ‘विपत्तिको बेलामा केही समय कारोबार रोक्नु राम्रो हुन्छ । तर यसलाई धेरै लम्व्याउनु हुँदैन ।’