अत्यावश्यक वस्तु आपूर्तिमा तीब्रता , माग अनुसार प्रभावित क्षेत्रमा आपूर्ति भएको सरकारकाे दावी

बिजमाण्डू
२०७२ बैशाख २० गते ००:०० | May 3, 2015
काठमाडौं । सरकारले भूकम्प पिडीतलाई अत्यावश्यक वस्तु आपूर्तिमा तिब्रता दिएको छ । अत्यावश्यक वस्तु स्टोर बनाएको नेपाल खाद्य संस्थान, नेसनल ट्रेडिङमा र त्रिभुवन विमानस्थलको कार्गो कम्प्लेक्सबाट सामान आपूर्ति गरिरहेको छ ।
 
‘हामीले प्रभावित जिल्लाको प्रमुख जिल्ला अधिकारीको माग अनुसार अत्यावश्यक वस्तुको आपूर्ति गरिरहेका छौ,’ वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तोयानारायण ज्ञवालीले बिजमान्डूसँग भने, ‘आपूर्ति सहज बनाउन हामी लागिरहेका छौ ।’ 
आपूर्ति व्यवस्थापनमा वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायको नेतृत्वमा वाणिज्य मन्त्रालयका कर्मचारी जुटिरहेका छन् । वाणिज्यका सबै कर्मचारीले माग अनुसार सामान पठाउन अहोरात्र खटिरहेका छन् । संस्थानको थापाथली धान गोदाममा सहसचिव ज्ञवाली, नेसनल ट्रेडिङ सिंहदरवारमा सहसचिव जीवराज कोइराला खटिएका छन् । 
 
वाणिज्यका सहप्रवक्ता दीपक पाण्डेका अनुसार नेशनल ट्रेडिङमार्फत आइतबार सिन्धुपाल्चोक, काभ्रे, धादिङ, नुवाकोट, गोरखा र दोलखामा क्रमश ३, ३, १, १, १ र २ ट्रक अत्यावश्यक खाद्यान्नसहित पालहरु पठाइएको छ । काठमाडौं उपत्यकामा भने पानी मात्रै पठाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा क्रमशः ७, २ र ३ ट्रक मिनरल वाटर पठाइएको छ । 
संस्थानको धान गोदाममार्फत अहिलेसम्म ९ हजार ८ सय ९२ क्विन्टल चामल, ३ सय ३३ क्विन्टल नून, ३ सय १० क्विन्टल चिनी, ९६ हजार ७ सय २२ कार्टुन चाउचाउ, १ हजार ६ सय ३८ क्विन्टल चिउरा, २९ हजार ३ सय ५३ कार्टुन विस्कुट र ६ हजार ३ सय ५८ केस पानी वितरण गरेको छ । 
 

Tata
GBIME
Nepal Life