उपभोग्य वस्तु र सेवामा आपुर्ति सहज हुँदै, विद्युत, टेलिफोन, यातायातको अवस्था सामान्य बन्दै

बिजमाण्डू
२०७२ बैशाख २१ गते ००:०० | May 4, 2015
उपभोग्य वस्तु र सेवामा आपुर्ति सहज हुँदै, विद्युत, टेलिफोन, यातायातको अवस्था सामान्य बन्दै

काठमाडौं । महाभूकम्प पछि तहस नहस बनेका शहरी क्षेत्रमा दैनिक उपभोग्य वस्तु र सेवा सहज बन्न थालेको छ । विद्युत, टेलिफोन, पिउने पानी, खाद्यान्न तथा तरकारीको आपुर्ति सहज बन्दै गएको छ ।

Tata
GBIME
Nepal Life

काठमाडौं उपत्यका भित्रका धेरै खुद्रा पसलहरु सञ्चालनमा आइसकेका छन् । व्यवसाय सञ्चालन गर्दै आएका केही व्यवसायी राजधानीबाट बाहिरिएका कारण सबै पसल व्यवसाय सञ्चालनमा आउन थप केही समय लाग्छ ।

अत्यावश्यक वस्तुको आपुर्तिमा ठूलो समस्या नरहेको वाणिज्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । उपत्यका भित्र खाद्यान्न तथा तरकारीको आपुर्तिमा समस्या देखिएको छैन । नेपाल चेम्बर अफ कमर्सले पनि पसल तथा उद्योग व्यवसाय सञ्चालन गर्न आग्रह गरिसकेको छ । व्यवसायीहरुले नियमित रुपमा पसल सञ्चालन गर्न थालेको छन्, चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने, व्यवसायीहरुले आफ्ना स्टाफ फिर्ता बोलाएका छन्, क्षति भएका बाहेक अन्य पसल व्यवसाय सञ्चालन हुनेक्रममा छन् ।

घर नै ध्वस्त भएका स्थानमा बाहेक अन्य ठाउँमा विद्युत आपुर्ति नियमित भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । सामुदायिक विद्युतीकरण लमजुङका केही स्थान बाहेक अन्यत्र विद्युत आपुर्ति नियमित भएको प्राधिकरणका प्रबन्ध निर्देशक मुकेश राज काफ्लेले बताए ।

घरहरु नै ध्वस्त भएको र विद्युतको लाइन नै छाड्न नसक्ने स्थानमा मात्रै आपुर्ति नभएको जानकारी पनि उनले दिए । ‘सीमित स्थानमा सानातिना समस्या होलान, उनले भने, प्राधिकारणको भाषामा हामी नियमित आपुर्तिमा पुग्यौं भन्न सकिने अवस्थामा छौं ।’ रसुवाको धुन्चेमा सोमबार दिउसो देखि विद्युत आपुर्ति सुरु भएको छ भने बेत्रावती, कालिकास्थानका स्टेशनबाट पनि विद्युत आपुर्ति सुरु भएको छ ।

सिन्धुपाल्चोकका प्रमुख बजारमा विद्युतको अपाुर्ति सुरु भएको जानकारी उनले दिए । सदरमुकाम चौतारा, बलेफी, बाह्रविसे जस्ता स्थानमा विद्युत आपुर्ति सुरु भएको प्राधिकरणले जनाएको छ । भूकप्पले प्राधिकरणका ट्रान्समिसन, ट्रान्सफर्मर, पोललगायतको मात्रै एक अर्ब रुपैयाँको हाराहारीमा क्षति पुगेको अनुमान गरिएको छ ।

सञ्चार सेवा पनि अधिकांस स्थानमा नियमित भएको छ । नेपाल टेलिकमले आफ्ना अधिकांस विटिएस सञ्चालनमा ल्याइसकेको जनाएको छ । ‘रसुवा र नुवाकोटका केही विटिएस सञ्चालनमा आउन सकेका छैनन्, नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले बिजमाण्डूसँग भनिन्, नगरकोटको भवन नै ढलेकोले विटिएस सञ्चालनमा आएको छैन । अन्य स्थानमा भने हाम्रो सेवा नियमित छ ।’ विटिएस सञ्चालनमा नआएका स्थानमा फोन नलाग्ने, आवाज स्पष्ट नसुनिने जस्ता समस्या देखिन्छ । भुकम्पबाट अत्याधिक प्रभावित सिन्धुपाल्चोक जिल्लामा पनि ५० प्रतिसत जति विटिएस पुनःस्थापना गरिसकेको जानकारी उनले दिइन् ।

मोवाइल तथा डाटा सेवा दिइरहेको एनसेलले पनि आफ्नो ९४ प्रतिसत विटिएस सञ्चालनमा आएको जनाएको छ । यो कम्पनीले अति प्रभावित क्षेत्रमा मोवाइल विटिएस राख्ने तयारी गरिरहेको छ । सडक यातायात सहज हुनासाथ गोरखा, सिन्धुपाल्चोकका अति प्रभावित क्षेत्रमा मोवाइल विटिएस सञ्चालन गर्ने तयारीमा छौं, एलसेलका कर्पोरेट संवाद विज्ञ मिलनमणी शर्माले भने ।

 
केही स्थानबाहेकको सडक यातायातमा ठूलो समस्या नरहेको सरकारी अधिकारीहरुले जनाएका छन् । कोदारी राजमार्ग र पासाङ ल्यामु राजमार्गमा केही समस्या छ भने बाकी क्षेत्रमा यातायात सञ्चालन गर्न कठिनाइ छैन । त्यस्तै सरकारी कार्यालयबाट दिइने सेवा पनि नियमित भएको छ । देशभर नागरिकता तथा राहदानी बनाउने लगायतका सेवा नियमति भएको छ । सञ्चालन नै नसक्ने गरि भत्किएका बाहेक अन्य स्थानमा बैं‌किङ सेवा नियमित भइसकेकाे छ ।