लक्ष्मणबाबु स्मृति कोषले बाँड्यो गोरखा र चितवनमा राहत, १४ गाविसका १४ हजार जनता लाभान्वित हुने

बिजमाण्डू
२०७२ बैशाख २१ गते ००:०० | May 4, 2015
काठमाडौं । लक्ष्मणबाबु स्मृति कोषको पहलमा मनकामना केवुलकार र चितवन कोई समूहले भुकम्प प्रभावित गोरखा र चितवनमा राहत सामाग्री वितरण गरेको छ । समूहले १२ सय टेन्ट, चाउचाउ, विस्कुट, चामल, चिउरा, स्किम्ड मिल्क पाउडर, घिउ र सरसफाईका सामानहरु वितरण गरेको थियो । समूहका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार करिब ६० लाख बराबरको राहत सामाग्री वितरण गरिएको छ । 
उनले गोरखाका मनकामना बक्राङ, ताक्लुङ, मकैसिंह, तालिङचोक, सिमजङ र घ्याल्चोक गरी सात गाविसमा राहत सामाग्री वितरण गरिएको जानकारी दिए । चितवनका दारेचोक र चन्डी भन्ज्याङमा समेत राहत सामाग्री वितरण गरिएको श्रेष्ठले बताए । उनका अनुसार दोस्रो चरणको राहत सामाग्री बुधबारबाट वितरण हुनेछ । ‘हामीले दोस्रो चरणमा गोरखाका चार वटा गाविसमा राहत सामाग्री वितरण गर्दछौ,’ उनले भने, ‘घ्याल्चोक, भूम्लीचोक, वाच्छेक र साउरापानी तथा चितवनको काउलेमा राहत वितरण गर्नेछौ ।’
 
 समूहले दोस्रो चरणमा दुई हजार टेन्ट वितरण गर्ने जनाएको छ । समूहका अनुसार यो राहत वितरणपछि १४ गाविसका १४ हजार जनता लाभान्वित हुनेछन् ।  नेपालमा केबुलकार भित्र्याउने स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जन्मिएको गोरखा केन्द्रविन्दु बनाएर ठूलो भुकम्प आएकोले राहतलाई पहिलो प्राथमिकतामा राखेको समूहले जनाएको छ । 
 
 

Tata
GBIME
Nepal Life