भारतमा पेट्रोलको मूल्य बढ्यो, भूकम्पका कारण नेपालमा यथावत, तत्काल मूल्य नबढाउने निगमको निर्णय

बिजमाण्डू
२०७२ बैशाख २२ गते ००:०० | May 5, 2015
काठमाडौं । नेपाल आयल निगमले भूकम्पले ठूलो जनधनको क्षति भएकोले मे महिनामा पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । इन्डियन आयल कर्पोरेसन(आइओसी)ले पठाएको मूल्य अनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने अवस्था थियो ।निगमका कार्यकारी निर्देशक गोपाल खड्काले तत्कालै पेट्रोलियम पदार्थको मूल्य नबढ्ने जानकारी दिए ।

‘महाभूकम्पले धनजनको ठूलो क्षति भएर नेपालीको जनजीविकामा समेत प्रत्यक्ष असर परेकोले पेट्रोलियम पदार्थको मूल्यमा कुनै परिवर्तन गरिएन् । तत्कालै मूल्य बढाउने पक्षमा हामी छैनौ,’ खड्काको भनाई उद्धृत गर्दै निगमको वेवसाइटमा उल्लेख छ ।भारत सरकारले मे महिनाको मूल्य आउनेवितिकै पेट्रोल र डिजलमा क्रमशः ५ रुपैयाँ २१ पैसा र ४ रुपैयाँ १ पैसा मूल्य बढाएको थियो । आइओसीले पठाएको मूल्य अनुसार पेट्रोल र डिजलमा क्रमशः ३ रुपैयाँ र २ रुपैयाँ ८० पैसा नाफा घटेको छ ।

Tata
GBIME
Nepal Life

निगमले आइओसीले पठाएको मूल्य अनुसार मासिक रुपमा स्वचालित मूल्य कार्यान्वयनमा ल्याएको थियो । नयाँ मूल्य अनुसार पनि निगमलाई ६२ करोड ९३ लाख नाफा छ । नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा ११ रुपैयाँ २८ पैसा, डिजलमा ४ रुपैयाँ ४ पैसा, मट्टितेलमा २२ रुपैयाँ ६८ पैसा र हवाई इन्धनमा ५७ रुपैयाँ २० पैसा नाफा छ । निगमलाई ग्यासमा प्रतिसिलिन्डर ४१ रुपैयाँ २० पैसा घाटा छ ।