अमेरिकी कूल सहयोग दुई अर्ब ६० करोड पुग्यो, मंगलबारमात्रै एक अर्ब १० करोड रुपैयाँ थप

बिजमाण्डू
२०७२ बैशाख २२ गते ००:०० | May 5, 2015
अमेरिकी कूल सहयोग दुई अर्ब ६० करोड पुग्यो, मंगलबारमात्रै एक अर्ब १० करोड रुपैयाँ थप
काठमाडौं । अमेरिकाले नेपालका भूकम्प पीडितलाई दिइएको सहयोगमा वृद्धि गरेको छ । यसअघि झण्डै एक अर्ब ५० करोड रुपैयाँ (१५ मिलियन डलर) सहयोग गरेको अमेरिकाले त्यसमा करिब एक अर्ब १० करोड रुपैयाँ (११ मिलियन डलर) सहयोग थप गरेको हो । योसँगै कूल सहयोग दुई अर्ब ६० करोड रुपैयाँ पुगेको छ । 

Tata
GBIME
Nepal Life


 

अमेरिकी सहयोग संस्था युएसएआइडीका निमित्त प्रमुख अल्फोन्सो इ लेन्हार्टले काठमाडौंमा पत्रकार सम्मेलन गरी सहयोग रकम थप गरिएको जानकारी दिएका हुन् । थपिएको सहयोग रकम मानिसहरुको आवास निर्माण, आपतकालीन औषधि आपूर्ति, स्वस्च्छ खानेपानी तथा सरसफाइ सेवा वृद्धिमा खर्च हुनेछ । 
 
कार्यक्रममा युएसएआइडीका कार्यवाहक प्रमुख लेन्हार्टले आफूले प्रधानमन्त्री सुशील कोइरालासँग पनि के कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल गरेको भन्दै नेपालको आवश्यकता अनुसार सहयोग गर्ने बताए । उनले अबको मुख्य काम पुननिर्माणमा हुने भन्दै अमेरिकाले त्यसैका लागि सहयोग गरेको पनि बताए । 


 

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडीले नेपालमा गएको भूकम्पपछिको अवस्था सामान्यमा ल्याउृन अमेरिकाले सक्दो सहयोग गर्ने बताए । उनले अमेरिकाले उद्दार टोली तथा अमेरिकी सेनाको टोलीले काम गरिरहेको बताए । अमेरिकाले नेपाली नागरिक तथा अमेरिकाबाट नेपाल आएको पर्यटकलाई मध्नजर गर्दै सक्दो सहयोग गरेको पनि बताए । 
 
राजदूत बोडीले नेपालमा सक्रिय विभिन्न अमेरिकी गैरसरकारी संस्था तथा नेपाल सरकारसँग मिलेर भूकम्पपछिको राहतको काम अगाडि बढाइने जानकारी पनि दिए । 
 
यस्तै युएसएआइडीले नेपालमा सेभ द भिल्ड्रेनसँगको सहकार्यमा सिन्धुपाल्चोकका भूकम्प पीडितका लागि आपतकालीन राहत सामग्री आपूर्ति गरिने पनि जनाएको छ । यसका लागि अर्को १० करोड रुपैयाँ खर्च हुने जनाएको छ । 
 
अमेरिकाले गर्ने यो मानवीय सहायता नेपाल सरकारसँगको सहकार्यमा हुने र मानवीय सहयोगका लागि नेपालले गरेको आग्रह अनुसारकै भएको पनि युएसएआडीले स्पष्ट पारेको छ । 
 
अमेरिकाले नेपालका गोर्खा, सिन्धुपाल्चोक तथा काठमाडौंमा आपतकालीन पाल वितरण गरिएको पनि जनाएको छ । उसले युएस डिपार्टमेन्ट अफ डिफेन्स पनि नेपालमा उद्दार तथा राहतको काम गरिरहेको जनाएको छ ।