टेलिकमले उद्धार कोषमा दियो २५ करोड रुपैयाँ, पुनर्निर्माणमा एक अर्ब खर्च गर्ने प्रतिबद्धता

बिजमाण्डू
२०७२ बैशाख २७ गते ००:०० | May 10, 2015
टेलिकमले उद्धार कोषमा दियो २५ करोड रुपैयाँ, पुनर्निर्माणमा एक अर्ब खर्च गर्ने प्रतिबद्धता

काठमाडौं । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तत्कालका लागि २५ करोड रुपैयाँ दिएको छ । टेलिकमले भूकम्पबाट प्रभावित नेपाली नागरिकको उद्धारका लागि आइतबार प्रधानमन्त्री सुशील कोइरालालाई २५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

Tata
GBIME
Nepal Life

टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनिल बहादुर मल्लले प्रधानमन्त्री कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् ।


यस्तैगरी कम्पनीमा कार्यरत कर्मचारीहरुको तलबबाट कट्टी गरिएको दुई करोड ७५ हजार चार सय ७४ रुपैयाँ पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइएको छ । सो रकमको चेक आइतबार नै टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।

सञ्चालक समितिका पदाधिकारीहरुको तीन वटा बैठक भत्ता बराबरको ८१ हजार ६ सयको चेक समेत प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएका संरचनाहरुको पुनर्निर्माणमा पनि टेलिकमले खर्च गर्ने जनाएको छ । आगामी तीन बर्षभित्रमा टेलिकमले ऐतिहासिक तथा पुरातात्विक महत्वका संरचनामध्ये प्राथमिकताको आधारमा काठमाडौंको धरहरा, स्वयम्भुनाथ, गोरखाको मनकामना मन्दिर, ललितपुर र भक्तपुरको दरवार स्क्वायर र  भूकम्पबाट अति प्रभावित क्षेत्रका सामुदायिक विद्यालयहरुको पुनर्निर्माण कार्यको लागि एक अर्ब खर्च गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।

विनाशकारी भूकम्पका कारण घरबार गुमाई अस्थाई शिविरहरुमा बसोवास गरिरहेका भूकम्प पीडितहरुलाई आफन्तजनसँग सम्पर्क गर्न सुविधाजनक बनाउने उद्देश्यले अस्थाई शिविरहरुमा वाइफाई हटस्पट सेवा निःशुल्क रुपमा संचालन गरिने भएको छ ।
 
विनाशकारी भूकम्पको पीडाबाट आहत भएका उपभोक्तालाई केही राहत पुगोस् भन्ने उद्देश्यले गत बैशाख १२ गते भूकम्प गएपछि (दिनको १२ बजे) देखि बैशाख १७ गते रातको १२ बजेसम्म एक अर्ब ४६ करोड बराबरको जिएसएम तथा सिडिएमए नेटवर्कबाट भएका सम्पूर्ण कल एवं एसएमएस तथा डाटा सेवा निःशुल्क उपलब्ध गराएको थियो ।