राष्ट्र बैंकले सार्वजनिक गर्यो घर निर्माण पुनर्कर्जाको कार्यविधि, ऋण लिँदा शुल्क नलाग्ने

बिजमाण्डू
२०७२ जेठ ७ गते ००:०० | May 21, 2015
राष्ट्र बैंकले सार्वजनिक गर्यो घर निर्माण पुनर्कर्जाको कार्यविधि, ऋण लिँदा शुल्क नलाग्ने

Tata
GBIME
Nepal Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुकम्प प्रभावित घरपरिवारलाई आवासीय घर पुननिर्माण गर्न सस्तो ब्याजको पुनर्कर्जा बढीमा १० बर्षसम्मका लागि दिने गरी कार्यविधिको मस्यौदा सार्वजनिक गरेको छ ।

 
राष्ट्र बैंकले सर्वसाधारण र सरोकारवालाहरुको प्रतिकृया लिएर अन्तिम कार्यविधि केही साताभित्र सार्वजनिक गर्ने जनाएको छ । मस्यौदामा काठमाडौं उपत्यकाभित्रका घरपरिवारलाई २५ लाख र उपत्यका वाहिरका लागि १५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने छ ।
 
यस्तो कर्जा ऋणीको बस्न योग्य आवासीय घर नभएको अवस्थामा मात्र उपलब्ध गराइने छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शुन्य प्रतिशत ब्याजमा उपलब्ध गराउने यस्तो कर्जा बैंकबाट सर्वसाधारणले वढीमा दुई प्रतिशतिमा पाउने छन् । यस्तो कर्जामा कुनै पनि प्रकारको शुल्न लिन पाइँदैन ।
 
न्युनतम पाँच बर्ष र अधिकतम १० बर्षसम्मका लागि लिन पाइने यस्तो कर्जा तोकिएको अवधिभन्दा अगावै भुक्तानी गरेमा कुनै पनि अग्रिम शुल्क लाग्दैन । 
 
आवासीय घर पुननिर्माण कर्जा प्रवाह गर्दा निर्माण प्रगतिका आधारमा कम्तिमा चार चरणमा ऋणीलाई भुक्तानी हुने गरी प्रवाह गर्नुपर्छ । राष्ट्रिय भवन संहिता तथा भूकम्प प्रतिरोधात्मक मापदण्डको पालना गरेर मात्र ऋणीले घर निर्माण गर्नुपर्ने हुन्छ ।
 
सर्वसाधारणले यस्तो ऋण लिनका लागि स्थानीय निकाय अर्थात नगरपालिका, वडा वा गाविसको भुकम्प पिडित भई आवासीय घर क्षतिग्रस्त भएको र ऋणीको परिवार अन्य कुनै आवासीय घर नभएको प्रमाण अनिवार्य रुपमा ल्याउनु पर्छ । 
 
बैंक तथा वित्तीय संस्थाले यस्तो पुनर्कर्जा कुल प्राथमिक पुँजीको ८० प्रतिशतसम्म पाउने छन् । पुँजी कोष गणना प्रयोजनका लागि यसरी प्रवाह गरिएका कर्जाको जोखिम भार आवासीय घर कर्जा सरह ६० प्रतिशत हुने मस्यौदामा उल्लेख छ ।