शंकर समूहले महिन्द्रा मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल गर्ने, १६ करोड लगानीमा कम्पनी

बिजमाण्डू
२०७२ जेठ ८ गते ००:०० | May 22, 2015
शंकर समूहले महिन्द्रा मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल गर्ने, १६ करोड लगानीमा कम्पनी
सविन मिश्र/बिजमाण्डू
काठमाडौं । शंकर समूहले नेपालमा नै महिन्द्रा मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्ने भएको छ । शंकर समूह अन्तर्गतको जगदम्बा अटो ग्रुप प्रालिले महिन्द्राको स्कुटर तथा मोटरसाइकल गर्ने भएको हो ।

Tata
GBIME
Nepal Life

शंकर समूहले शाहिल अग्रवालको नाममा जगदम्बा अटो उद्योग दर्ता गरी काम अगाडि बढाएको हो । उद्योग विभागका अनुसार शंकर समूहले यो उद्योगमा १६ करोड रुपैयाँ लगानी गर्नेछ । जसमध्ये नौ करोड रुपैयाँ स्थिर पुँजी र सात करोड ६० लाख रुपैयाँ चालु पुँजी रहने छ ।

जगदम्बाले यो उद्योगबाट वार्षिक सातहजार स्कुटर र आठ हजार मोटरसाइकल एसेम्बल गर्ने जनाएको छ । नौ करोड रुपैयाँ स्थिर पुँजी रहेको यो उद्योगको पूर्व संचालन खर्च ८० लाख रुपैयाँ रहेको छ ।

जगदम्बाले पर्साको चोर्नी गाविस वडा नं ८मा शंकर सिन्थेटिक्स प्रालिको ६ हजार सातसय ८६ वर्ग मिटर जग्गामा मोटरसाइकल एसेम्बल उद्योग खोल्न लागेको हो । यो जग्गाको वार्षिक भाडा दुई लाख रुपैयाँ हुने पनि दुई पक्षबीचको सम्झौतामा उल्लेख छ ।

उत्पादनमूलक ठूला उद्योग अन्तर्गत स्थापित यो उद्योगमा ६६ जनाले रोजगारी पाउने छन् । जगदम्बा अटोको यो उद्योग वर्षमा तीनसय दिन संचालनमा आउने छ ।

शंकर समूहका अनुसार सातहजार वटा स्कुटर एसेम्बल गर्न ९० हजार कम्प्लिट नक डाउन आवश्यक पर्ने र त्यसको लागत ६३ करोड रुपैयाँ हुने छ । यस्तै आठहजार वटा मोटरसाइकल एसेम्बल गर्न ८० करोड रुपैयाँ बराबरका एकलाख कम्प्लिट नक डाउन चाहिने कम्पनीले उद्योग विभागमा बुझाएको विवरणमा उल्लेख छ । कम्प्लिट कन डाउन कुनै पनि सामान एसेम्बल गर्दा आवस्यक पर्ने कच्चा पदार्थ हो ।

यो समूहले नेपालमा करिव दुई दर्जन उद्योग सञ्चालन गर्दै आएको छ । सिमेन्ट र छड यो समूहको बजार हिस्सा धेरै छ । यो समूहले जगदम्बा ब्राण्डमा सिमेन्ट र छड उत्पादन गर्दै आएको छ । यस्तै जगदम्बाले चाउचाउ उद्योग पनि संचालन गरिरहेको छ । यस्तै शंकर समूहले सफ्टवेयर उद्योगमा लगानीको लागि पनि अध्ययन गरिरहेको जनाएको छ । हाल कम्पनीको बार्षिक टनओभर ६० अर्ब रुपैयाँ छ ।

तीव्र व्यापार विस्तारको क्रममा रहेको जगदम्बाले आफ्ना अरु उद्योगमा पनि लगानी थपिरहेको छ । जगदम्बाले सिमेन्टमा लगानी बढाएको थियो ।

केही समय अगाडि चिनियाँ कम्पनीहरुले नेपालमा मोटरसाइकल एसेम्बल गर्न खोजेका थिए । ती एसेम्बलिङ युनिट लामो समयसम्म चल्न सकेनन् । यस्तै गोल्छा अर्गनाइजेसनले पनि नवलपरासीमा बजाज मोटरसाइकलको प्लान्ट बनाइरहेको छ । तर गोल्छा अर्गनाइजेसनले सार्वजनिक रुपमा यो घोषणा गरेको छैन ।