भूकम्प पछिको सेयर बजार: नअत्तिऔं, विवेकको प्रयोग गरौं, नीरव पुडासैनीको लेख

बिजमाण्डू
२०७२ जेठ ८ गते ००:०० | May 22, 2015
भूकम्प पछिको सेयर बजार: नअत्तिऔं, विवेकको प्रयोग गरौं, नीरव पुडासैनीको लेख


भूकम्पले आक्रन्त बनाइरहेको अहिलेको घडीमा सेयर बजारको कारोवारलाई लिएर अन्यौलको कालो बादल मडारिनु स्वभाविक हो । सेयर बजारको सुन्दरता भनेकै लगानीकर्ताहरुको मनोभावना र यसका अङ्कहरु सधा चलायमान हुनु हो । 
 
भूकम्पको कम्पन र त्यसपछिका परकम्पनका उतार चढाव अनुरुप बजार चल्छ भनेर सोच्नु चाँही नितान्त गलत हुन्छ । विश्वका अन्य देशहरुमा विपत पछिका पुँजी बजारका गतिले यसलाई प्रष्ट गरिसकेको छ । चाहे त्यो २००१ पछिको न्युयोर्क स्टकमा होस् या जापानमा २०११ मा आएको सुनामीपछि खुलेको बजार होस् । महाविपत्तिसँग जुधेका यि दुबै देशहरुमा विपतको  केही सातापछि बजारमा आएको गिरावट पुनः सुरुवाती अंकमा आएको थियो ।
 
हाम्रो मनोविज्ञानमा भूकम्पले निरासा छाएको छ । सबै क्षेत्रमा यसको प्रभाव केही समय रहन्छ भन्ने कूरा हामीले अन्य देशहरुको उदाहरणबाट प्रष्ट बुझ्न सक्छौ । तर के सेयर बजारको गिरावट भूकम्पको कारणबाट मात्र हुन्छ त ? 
 
आर्थिक, सामाजिक र राजनैतिक प्रभावहरुको कारण पनि सेयर बजारमा अप्रत्यासीत उतार चढाव भएको हाम्रो सामु स्पष्ट छ । केही समय अघिमात्र हाम्रो बजार नराम्रोसँग थलिएर, विस्तारै तङग्रिएको हामी सबैले अनुभव गरेकै हो । यस अर्थमा बजारमा अनधिकृत रुपमा चलखेल हुन नदिन आमलगानीकर्ताहरु सजग हुन जरुरी छ । 
 
भूकम्पले पारेको प्रभावका कारण हाम्रो सम्र्पूण समाज र यसका परिपूरकहरु छिन्नभिन्न भएका छन् । अर्बौका संरचनाहरु ध्वस्त भएका छन्, कलकारखाना, उद्मोग धन्दा सबैमा मन्दी आएको छ । यो मन्दी सँधैका लागि होइन, यसबाट हाम्रो समाज चाँडै बाहिर आउनेछ र आउनु पर्छ । यस्तो विपतपछि अर्थतन्त्रमा आउने पुँजी परिचालनले क्रमिक रुपमा अहिलेको गतिहिनतालाई सक्रिय पार्छ । नयाँ रोजगारीका अवसरहरु आउने छन् । अर्थतन्त्रमा विप्रेशणको मात्रामा भारी बृद्धि हुनेछ, हुन थालिसकेको छ । 
 
नेपाल स्टक एक्सचेन्जमा सुचिकृत सेयरहरु सेवामूलक क्षेत्रको वढी भएकाले हामी अत्तालिहाल्नु पर्ने स्थिती देखिँदैन । सोव क्षेत्रले ठूलो सुृझावुझका साथै लगानी गरेका हुन्छन् । तसर्थ हल्लाको आधारमा आफ्नो आवश्यकताभन्दा बढी सेयर कारोवार राफसाफ गर्नुतिर लाग्नु उचित हुँदैन । पर्ख र हेरको सिद्धान्त अनुरुप चल्नुनै बुद्धिमानि हुन्छ । तत्कालका लागि केही निर्जिवन बिमा कम्पनीका सेयरमा केही गिरावट देख्न सकिएला, तर पुनः बिमा भएर ती कम्पनीले फेरि आफ्नो घाटा पूर्ति गर्नसक्छन् । 
आम लगानीकर्ताहरुको मनोविज्ञानमा टेकेर यस्तो समयमा सेयर बजारमा चलखेल गर्ने कोशिश जो कोहिले पनि गर्न सक्छन् । तसर्थ सबै लगानीर्ताहरु होस नगुमाइ कारोवारमा फर्किनु जरुरी हुन्छ । आफुलाई आवश्यक भएको अवस्थामा मात्र आफ्ना सेयरहरु राफसाफ गर्नु उचित हुन्छ । कम्पनीका वास्तविक अवस्थाको अध्ययन पश्चात मात्र यस्तो निर्णय लिनु उचित हुन्छ । 
 
सेयर बजारको मूल्य निर्धारण गर्ने बिषय हाम्रो (आम लगानीकर्ताहरुको) हातमा हुन्छ । भुकम्पको मनवोविज्ञानमा टेकेर मूल्य घटाउने चलखेल हुन सक्छन् । हामीले के बुझ्न जरुरी छ भने प्रत्येक मूल्य गिरावटको खरिदकर्ता हुन्छन् । यदि मूल्य कहिल्यै नबढ्ने हो भने त खरिदकर्ता नै नहुनु पर्ने हो । तर त्यसो कदापी हुँदैन । आवश्यकताभन्दा बढी सेयरको राफसाफ नगरौं, गर्नै परेको खण्डमा पनि वास्थविकता बुझेर मात्र गरौं । 
 
भूकम्पका कारण जनधनको क्षति भएको छ, तर हाम्रो अर्थतन्त्र, राजनीति, सामाजिक, राष्ट्रियता सबै पूर्ण रुपमा स्वस्थ गतिमा चलिरहेको अवस्थामा हामी निरास हुनु पर्ने कारण छैन । भूकम्पका कारण हाम्रा सेयर बजारका सुचिकृत कम्पनीहरुमा त्यती धेरै ठूलो नकारात्मक असर परेको अवस्था देखिदैन । बिमा क्षेत्रमा केही संशय रहेता पनि अहिलेनै आँकलन गरेर नकारात्मक हिसावले कारोवार गर्न उचित हुन्न । 
 
आर्थिक वृद्धि दर ह्वात्तै घट्ने अवस्था पनि छैन । एसियाली विकास बैंक (एडिबी) को प्रारम्भिक अनुमान अनुसार चालू वर्ष नेपालको आर्थिक वृद्धि ४.२ प्रतिशत रहने छ । सरकारले गरेको ५ प्रतिशतको वृद्धि लक्ष्यभन्दा यो केही तल भएपनि अहिलेको विषम परिस्थितिमा धेरै तल होइन । 
 
अहिले निस्कृय पुँजीहरु पनि अर्थतन्त्रमा आउने र बाहिरी पुँजी पनि परिचालन हुने हँुदा अर्थतन्त्र चलायमान हुन्छ । हालै मात्र राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने तयारी गरिरहेको सम्र्दभमा  वाणिज्य बैंकहरुबाट पनि सकारात्मक सन्देश आएको छ । यस्तो किसिमको ऋणपत्रहरुबाट उठेको रकम सही उपयोग हुनेमा आशावादी हुन सकिन्छ । जसले अर्थतन्त्रको तरलता प्रवाहमा राम्रो प्रभाव पार्छ । यसको सिधा असर हाम्रो पुँजी बजारमा पनि पर्छ । 

Tata
GBIME
Nepal Life