भुकम्पले आर्थिक बृद्धि खुम्चिन्छ, अर्थतन्त्रमा संकुचन, चन्दन सापकोटाको बिश्लेषण

बिजमाण्डू
२०७२ जेठ ८ गते ००:०० | May 22, 2015
भुकम्पले आर्थिक बृद्धि खुम्चिन्छ, अर्थतन्त्रमा संकुचन, चन्दन सापकोटाको बिश्लेषण
वैशाख १२ गते नेपालमा गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट नेपालको अर्थतन्त्रमा परेको प्रभावको प्रारम्भिक अध्ययन गरेका छौ । वैशाख १२ र त्यसपछिको परकम्पनले जनधन दुबैको क्षति गरेको छ ।  सरकारले १४ जिल्लालाई भूकम्पबाट सबैभन्दा प्रभावित भनेर घोषणै गर्यो । 
 
भूकम्प र त्यसपछिको पराकम्पपछि मुलुकका दुई तिहाई भाग प्रभावित भएको छ । भूकम्प र त्यसपछि गएको परकम्पले कृषि, उद्योग र सेवा क्षेत्र प्रभावित बनाएर नेपालको आर्थिक वृद्धिदर ३ दशमलब ८ प्रतिशतमा रहने अनुमान छ । यो एसियाली विकास बैंकले मार्चमा सार्वजनिक गरेको आर्थिक वृद्धिदरभन्दा शुन्य दशमलब ८ प्रतिशत बिन्दुले कम हो । 
 
एडिबीले मार्चमा ४ दशमलब ६ प्रतिशत हुने अनुमान गरेको थियो । आपूर्तिमा अवरोध भएमा अहिले प्रक्षेपणमा समेत कमी आएर तीनदेखि साढे तीन प्रतिशतको बिचमा रहने छ ।
 
सन् २०१४ मा मूल्यका आधारमा आर्थिक वृद्धिदर बढेर ५ दशमलब २ प्रतिशत थियो । विउ, खेतीयोग्य जमीन र पशुपक्षीको नोक्सानी र कमजोर मनसुनका कारण कृषि उत्पादनमा असर परेपनि पुनर्निर्माण र पुर्नस्थापनाका कारण उद्योग तथा सेवा क्षेत्र भने पुर्नउत्थान भएमा अर्को वर्ष नेपालको आर्थिक वृद्धि ४ दशमलब ५ प्रतिशत रहने अनुमान छ । 
 
सेवाभित्रकै घरजग्गा र घरभाडा सुस्त रहनेछ तर अनपेक्षित रुपमा  होटल र रेष्टुरेन्ट गतिविधि बढेर पर्यटन क्षेत्रमा पुर्नउत्थान हुनेछ । पुनस्र्थापना र पुनर्निर्माणले गति लिएमा आर्थिक वृद्धिदर ४ दशमलब ५ प्रतिशतदेखि ५ दशमलब ५ प्रतिशतसम्म पुग्छ । 


 
कृषि 
गत वर्ष ढिलो सुरु भएको मनसुनले प्रभावित बनाएको कृषि क्षेत्रमा अहिले आएको भूकम्पले थोरै मात्रै क्षति पुर्याउनेछ ।  यो वर्ष खाद्यान्न उत्पादन हुने मौसम सकिएकाले कम क्षति पुर्याउने देखिएको हो । यद्यपी भूकम्प र त्यसपछि आएको परकम्पले प्रभावित जिल्लामा  भण्डारण गरिएको खाद्यान्न र पशुपक्षीमा ठूलो क्षति पुगेको छ । भूकम्पले प्रभावित बनाएको १४ जिल्लाले समग्र मुलुकको खाद्यान्नमा १३ दशमलब ८ प्रतिशत योगदान छ । यी जिल्लाको धानमा ९ दशमलब १ प्रतिशत योगदान छ । 
 
मुलुकको कुल उत्पादनमा यी जिल्लाले मकै र जौको योगदान २३ दशमलब ४ र २८ दशमलब ७ प्रतिशत छ । यो वर्ष नेपालको कृषि क्षेत्रको वृद्धिदर २ दशमलब ५ प्रतिशत रहनेछ । हामीले मेमा कृषि क्षेत्रको वृद्धिदर ३ प्रतिशत रहने अनुमान गरेका थियौ । खेती गर्ने जमीन र पशुपक्षीको क्षति र कमजोर मनसुनका कारण कृषि क्षेत्रको वृद्धि दर मन्दनै रहनेछ । 


 
उद्योग
लामो समयदेखिको लोडसेडिङ र आपूर्ति पक्षको अवरोधका कारण औद्योगिक क्षेत्रको वृद्धिदर निराशाजनक छ । भूकम्पपछि सन् २०१५ भित्र औद्योगिक क्षेत्र अझै सुस्त रहनेछ । भूकम्पबाट प्रभावित भएका जिल्लाले औद्योगिक क्षेत्रमा २० प्रतिशत योगदान दिन्छ । भूकम्पबाट एक चौथाई जलविद्युत आयोजना प्रभावित भएका छन् । 
 
भूकम्पले पुँजीगत खर्च र निर्माणका कामलाई प्रभावित बनाएर निर्माणजन्य क्षेत्र सुस्त हुनेछ । यो वर्ष औद्योगिक क्षेत्रको वृद्धिदर २ दशमलब ३ प्रतिशत रहनेछ, यसअघि मार्चमा ३ दशमलब ५ प्रतिशत रहने अनुमान गरिएको थियो । सन् २०१६ मा पुनर्निर्माण खर्च, जलविद्युत आयोजना पुरानै अवस्थामा संचालनमा आए औद्योगिक क्षेत्रको वृद्धिदर द्रुत हिसाबले बढ्नेछ ।

Tata
GBIME
Nepal Life


 

सेवा 
भूकम्पबाट मुलुकको कुल गार्हस्थ उत्पादनमा ५१ प्रतिशत योगदान दिने सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । भूकम्पबाट थोक तथा खुद्रा व्यापार सबैभन्दा बढी प्रभावित भएको छ । भूकम्पबाट प्रभावित भएको जिल्लाको पसल, व्यापारिक आउटलेट र वेयरहाउस आंशिक मात्रै संचालनमा छन् । 
 
भूकम्पले पर्यटन क्षेत्र संकटमा परेको छ । भूकम्पपछिको पहिरोले धेरै बुकिङ रद्ध मात्रै होइन नेपाल आउने योजनालाई समेत पर्यटकले परिवर्तन गरेका छन् । भूकम्पले धेरै बैंक तथा वित्तीय संस्था आंशिक रुपमा संचालन छन् जसको कर्जा प्रवाह समेत सुस्त छ । मुलुकमा परेको विपत्तिले सेवा क्षेत्रको वृद्धिदर ५ दशमलब १ प्रतिशतमा रहने अनुमान छ । यसअघि सेवा क्षेत्रको वृद्धिदर ५ दशमलब ८ प्रतिशत रहने अनुमान गरिएको थियो । 
 
सापकोटा एसियाली विकास बैंकका अर्थशास्त्री हुन् ।